भाका सारेको सारै कांग्रेस : महाधिवेशन सुनिश्चित नहुँदै उम्मेदवारी घोषणाको लहर

लोकसंवाद टिप्पणी

भाका सारेको सारै कांग्रेस : महाधिवेशन सुनिश्चित नहुँदै उम्मेदवारी घोषणाको लहर

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन ८, २०७८

आगामी मंसिरमा महाधिवेशन गर्न जुटेको नेपाली कांग्रेसले केही जिल्लामा अझै क्रियाशील सदस्यताको विवाद टुंगो लगाउन सकेको छैन । क्रियाशील सदस्यताको विवादकै कारण कांग्रेसको वडादेखि क्षेत्रीय अधिवेशनहरु प्रभावित बनिरहेका छन् । भदौमा नै महाधिवेशनको तयारीमा रहेको कांग्रेसले गत महिनामात्रै महाधिवेशन मंसिरसम्मका लागि सारेको थियो ।

तर मंसिरमा महाधिवेशन गर्न समस्या हुनसक्ने आशंका बढिरहेका बेला बिहीबार बसेको पदाधिकारी बैठकले असोज १८ गतेअघि नै २१ वटा जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । मंसिरमा महाधिवेशन प्रभावित हुन नदिन कांग्रेसले पूर्वनिर्धारिकत मितिमा नै हिमाली जिल्लाको अधिवेशन गर्ने तयारी गरेको हो । 

अहिलेसम्म कांग्रेसले ६४ जिल्लामा मात्रै वडा अधिवेशन सम्पन्न गरेको छ । यी जिल्लामा ९ असोजमा पालिकास्तरको अधिवेशन हुँदैछ । दशैंपछि हिमाली जिल्लामा चिसो बढ्ने भएका कारण त्यसअघि नै अधिवेशन गर्ने भएको हो ।

दशैंअघि कांग्रेसले ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम (पूर्व) र म्याग्दीको अघिवेशन सम्पन्न हुनेछ । यद्यपि अझैसम्म डोल्पा र रसुवाको क्रियाशील सदस्यता विवाद टुंगो लगाउन नेपाली कांग्रेसले लगाउन सकेकाे छैन । 

यी जिल्लामा वडा अधिवेशन र पालिकास्तरको अधिवेशन सम्पन्न नभएका कारण जिल्ला अधिवेशन समयमा नै हुनेमा आशंका छ । तर कांग्रेसले कुनै पनि हालतमा दशैअघि नै क्रियाशील सदस्यता टुंगो लगाएर यी जिल्लामा अधिवेशन गर्ने जनाएको छ । ५६ जिल्लाको प्रदेश, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन दशै र तिहारको बिचमा हुनेछ ।

संस्थापन इतर समूहबाट उम्मेदवार बन्ने सम्भावना पनि छ । तर उनीहरुको मिसन देउवालाई जसरी पनि हराएर गुमेको वर्चस्व फिर्ता गर्ने रहेकाले पार्टीदेखि सरकारसम्म पदीय व्यवस्थापन गरेर सशक्त उम्मेदवार उठाउने तयारी गरेका छन् ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार काम अघि नबढेका कारण केही अधिवेशनको मिति हेरफेरमा पर्ने भएकाे छ । कांग्रेसले १२ असोजमा प्रदेशसभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन र १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका निर्धारण गरेको थियो । अब ५६ वटा जिल्लामा पूर्वनिर्धारित तालिकाअनुसार अधिवेशन नहुने भएको छ । 

यस्तै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म निर्धारण गरिएको छ । जिल्ला अधिवेशनसम्मको कार्यतालिका फेरबदल भएपछि प्रदेश अधिवेशन र महाधिवेशनको कार्यतालिका पनि परिर्वतन गर्नुपर्ने अवस्थामा पुगेको कांग्रेस नेताहरु बताउँछन् । कांग्रेसले अर्को बैठकबाट प्रदेश अधिवेशन र महाधिवेशनको नयाँ मिति तोक्ने सम्भावना रहेको एक नेताले बताए । 

आन्तरिक सहमति आवश्यक

महाधिवेशनको मिति तोक्नका लागि कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच सहमति आवश्यक छ । यसअघि नै पौडेलले महाविधेशनको मिति सार्ने कुरामा असहमति जनाएका थिए । तर अन्तिम समयमा मंसिरमा गर्नेगरी महाधिवेशन सार्न तयार भएका थिए ।

अब पुनः महाधिवेशनको मिति धेरै पछि सार्न सभापति देउवालाई सहज हुनेछैन । पौडेल पक्षले महाधिवेशन पछि सार्दै लैजादा पार्टीको वैधानिकतामाथि नै संकट आउनसक्ने भन्दै महाधिवेशन निर्धारित मितिमा नै गर्नुपर्ने अडान राख्दै आएको छ ।

पौडेल पक्षले देउवाको गृहजिल्ला डडेल्धुरामा एकलौटी रुपमा वडा अधिवेशन गरेको भन्दै आपत्ति जनाउँदै आएको छ । यस्तै केही जिल्लामा क्रियाशील सदस्यतामा पनि विवाद छ । त्यसैले महाधिवेशन सार्नुपर्ने अवस्था सिर्जना भएको छ । तर वडा तहको अधिवेशन सुरु गरिसकेका कारण त्यसैलाई आधार बनाएर केन्द्रीय महाधिवेशन केही पछि सार्न देउवाले पौडेललाई मनाउन सक्नेछन् । 

उम्मेदवारी घोषणाको लहर 

कांग्रेसमा अधिवेशनका प्रक्रिया सुरु नहुँदै उम्मेदवारी घोषणा सुरु भएको हो । सभापति र महामन्त्रीमा दर्जनबढी नेताहरुले उम्मेदवारी घोषणा गरिसकेका छन् । सभापतिका लागि हालका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल विमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइराला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कल्याण गुरुङ लगायतले उम्मेदवार बन्ने बताइसकेका छन् । यस्तै महामन्त्रीमा पनि यसपटक दुई पदमा नै निर्वाचन हुँदैछ । महामन्त्रीका लागि युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, प्रदिप पौडेल लगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

उम्मेदवारी घोषणा नगरेका अन्य नेताहरु पनि महामन्त्रीका आकांक्षी छन् । तर पार्टीको उपसभापति र सहमहामन्त्रीमा भने नेताहरुको कम आकर्षण देखिएको छ । यी पदमा हालसम्म नेताहरुले उम्मेदवारी घोषणा गरिसकेका छैनन् । तर कतिपय नेताहरुले भने सभापति र महामन्त्रीको दाबी गरेर अन्य पदमा बार्गेनिङ गर्न खोजेको कांग्रेस नेताहरुको बुझाई देखिन्छ । 

बहुपक्षीय भिडन्तको सम्भावना

नेपाली कांग्रेसमा लामो समयदेखि दुई पक्षीय भिडन्त हुँदै आएको थियो । तेस्रो धारका उम्मेदवारले बेलाबेला उम्मेदवारी दिएपनि प्रभाव पार्नेगरी अघि बढेको देखिदैन । तर १३औं महाधिवेनमा कृष्ण सिटौला जबरजस्ती तेस्रो धारका रुपमा उभिए र सम्मानजनक मत ल्याए । यसपटक पनि सिटौला सभापतिको उम्मेदवार बन्ने बताइसकेका छन् । तर उनले सभापतिमा कुनै नेतालाई सघाएर पार्टी या सरकारमा महत्वपूर्ण भूमिका खोजेको बताइन्छ ।

तर त्यसका लागि पनि क्षेत्रीय अधिवेशनबाट आउने परिणाम हेर्नुपर्ने हुन्छ । यदि राम्रो संख्यामा महाधिवेशन प्रतिनिधि ल्याउन सकेमा सिटौलाले तेस्रो धारलाई नै अघि बढाउने सम्भावना पनि छ । तर यसपटक संस्थापन समूहदेखि वरिष्ठ नेता पौडेल समूहमा समेत विभाजन देखिएको छ । संस्थापन समूहबाट उपसभापति विमलेन्द्र निधिले आफू सभापतिमा उठ्ने बताइसकेका छन् । उनले उम्मेदवारी घोषणा गरेपछि सभापति शेरबहादुर देउवा केही कमजोर भएको विश्लेषण गरिएको छ । तर उनलाई राप्रपाबाट आएका सुनिल थापा र विजयकुमार गच्छदार समूहको राम्रो साथ छ । त्यसैले उनी यही आधारमा आगामी महाधिवेशनमा पनि सभापति जित्नेमा ढुक्क जस्तै देखिन्छन् । 

अर्कोतिर वरिष्ठ नेता पौडेल पनि यसपटक उम्मेदवार बन्ने या नबन्ने टुंगो लागेको छैन । १३ औं महाधिवेशनमा पौडेलले देउवाइतरको समूहलाई एक ढिक्का बनाउन नसक्दा हार भोगेका थिए । तर यसपटक उनको समूह त्यसबेला भन्दा विभाजित छ । अहिले उनको समूहबाट उनीसहित, शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले सभापतिमा दाबी गरेका छन् ।

उनको समूहका सबै नेताको आकांक्षालाई सम्बोधन गरेर सभापति बन्न उनलाई कठिन परेको छ । त्यसैले अब उनीबाहेक अन्य नेता नै संस्थापन इतर समूहबाट उम्मेदवार बन्ने सम्भावना पनि छ । तर उनीहरुको मिसन देउवालाई जसरी पनि हराएर गुमेको वर्चस्व फिर्ता गर्ने रहेकाले पार्टीदेखि सरकारसम्म पदीय व्यवस्थापन गरेर सशक्त उम्मेदवार उठाउने तयारी गरेका छन् ।

तर त्यसका लागि देउवा हराउन पौडेलभन्दा कोइराला परिवारबाट उम्मेदवार उठाउन सक्ने चर्चा पनि छ । त्यस्तो अवस्थामा शेखर कोइराला सभापतिका उम्मेदवार बन्न सक्छन् । संस्थापन इतर समूहमा शेखर सभापति र सिटौला समूहबाट पौडेल समूहमा आएका गगन थापालाई महामन्त्रीको उम्मेदवार बनाएर जाने सम्भावनाबारे पनि छलफल चलेको छ । तर यसमा सभापतिका अन्य आकांक्षी सहमत भइसकेका छैनन् र उनीहरुले आफू नै उम्मेदवार हुनुपर्ने बताइरहेका छन् ।

त्यसकारण पौडेल समूहले सभापतिको उम्मेदवार टुंगो लगाउन सकेको छैन । यद्यपि कांग्रेसभित्रको समीकरण हेर्दा त्यहाँ रहेका परम्परागत समूह छिन्नभिन्न भएर नयाँ समूहहरु बन्ने प्रक्रिया भने तीव्र देखिएको छ । यसबीचमा कसले बाजी मार्छ भन्ने हेर्न महाधिवेशन पर्खिनुपर्नेछ ।