दशैँअघि नै बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइनेछ: मन्त्री श्रेष्ठ

दशैँअघि नै बालबालिकालाई  कोरोना विरुद्धको खोप लगाइनेछ: मन्त्री श्रेष्ठ

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  आश्विन ८, २०७८

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड- १९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । आज चितवनमा संचारकर्मीसँग कुराकानी गर्दै उनले दशैँअघि एक लाख डोज खोप ल्याइने बताए । 

बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडोनारा’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको छ  । उनले भने, 'बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ । फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदै छ ।'

आगामी चैत महिनाभित्र कोरोनाविरुद्धको पूर्ण खोप लगाई सक्ने गरी ल्याइने तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए । उनले भने, 'अहिले १८ वर्षमाथिका विद्यार्थी र ४५ वर्षमाथिकालाई खोप लगाइएको छ ।'मन्त्री श्रेष्ठले सरकारले चाँडै नै पूर्णता पाउने पनि बताए । 

भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र व्यवस्थापन समितिसँग छलफल गरी अल्पकालीन र दीर्घकालीन योजनालाई कार्यान्वयन गरिने उनको भनाइ थियो ।