राधा होइन तर मलाई कृष्ण बन्न मन छ

राधा होइन तर मलाई कृष्ण बन्न मन छ

राधा कणेल  |  साहित्य  |  आश्विन ९, २०७८

नारी हुँ म, नारी नै रहन मन छ
राधा होइन तर मलाई कृष्ण बन्न मन छ ।

सबैको मनमा राज गर्दै
प्रेम जताउँदै
मोहित बनाउँदै
रासलीला रचाउन मन छ वृन्दावनमा
नारी हुँ म, नारी नै रहन मन छ
राधा होइन तर मलाई कृष्ण बन्न मन छ ।

अनन्त प्रेम गर्न सकूँ एउटासँग
निसंकोच रोज्न सकूँ अर्कै जीवनसाथी
निर्धक्क गर्न सकूँ विवाह १६ हजार १०८ युवासँग
तथापि, मलाई
सबैको भगवान् बन्न मन छ
नारी हुँ म, नारी नै रहन मन छ
राधा होइन तर मलाई कृष्ण बन्न मन छ ।

मलाई हाँक्न मन छ यो विश्व
सल्काउन मन छ आगो युद्धको
आफन्त-आफन्तमा कलह पैदा गरीगरी
रचाउन मन छ युगको महाभारत
यसको बाबजुद मलाई
सबैको भगवान् बन्न मन छ
नारी हुँ म, नारी नै रहन मन छ
राधा होइन तर मलाई कृष्ण बन्न मन छ ।

गरेर छल, दिएर धोका
'धर्म संस्थापनार्थाय' भन्दै
युगयुग जन्मिन मन छ
धर्मकै नाममा विध्वंश गर्दै
धर्मकै रक्षार्थ अधर्म मच्चाउँदै
भगवान् बन्न मन छ
नारी हुँ म, नारी नै रहन मन छ
राधा होइन तर मलाई कृष्ण बन्न मन छ ।