दिग्विजयको रोड सोमा ‘मोदी–मोदी’

दिग्विजयको रोड सोमा ‘मोदी–मोदी’
लोकसभा निर्वाचन २०१९ को छैठौं चरणअन्तर्गत मध्यप्रदेशको भोपाल संसदीय क्षेत्रबाट कांग्रेसका उम्मेदवार दिग्विजय सिंहले आयोजना गरेको रोड सोका सहभागी । तस्बिर : एजेन्सी ।

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २५, २०७६

कांग्रेसका वरिष्ठ नेता दिग्विजय सिंहको रोड सो मा मोदी–मोदी नारा लागेको छ । दिग्विजय मध्यप्रदेशको राजधानी भोपालबाट चुनावी प्रतिष्पर्धा गरिरहेका छन् ।

भोपाल । लोकसभा चुनाव २०१९ अन्तर्गत छैठौं चरणको चुनाव मे १२ मा हुँदैछ । यसअन्तर्गत मध्यप्रदेशको भोपाल संसदीय क्षेत्रमा कांग्रेसका वरिष्ठ नेता तथा मध्यप्रदेशका पूर्वमुख्यमन्त्री दिग्विजय सिंह चुनावी प्रतिष्पर्धामा छन् । यो सिटमा भारतीय जनता पार्टी (भाजपा)ले हिन्दूत्वको फायरब्रान्ड नेत्री साध्वी प्रज्ञा सिंहलाई उम्मेदवार बनाएको छ ।

चुनाव प्रचारको समय घर्कन लाग्दा दिग्विजय सिंहले बुधबार रोड सो गरेका छन् । मध्यप्रदेशका विवादास्पद वैष्णव साधु कम्प्युटर बाबा सम्मिलित दिग्विजय सिंहको रोड सोमा मोदी–मोदी नारा लागेको थियो ।

नाराबाजीपछि तनाव उत्पन्न भएपछि प्रहरीले एफआइआर दर्ता गरेको थियो ।

यसअघि मंगलबार उनले अक्षय तृतीयाको दिन हिन्दूत्वको सफ्ट लाइन अपनाउँदै मध्यप्रदेशका तमाम साधुसन्तलाई निमन्त्रण गरी धार्मिक कार्यक्रम आयोजना गरेका थिए । कम्प्युटर बाबाले दिग्विजयको समर्थनमा मध्यान्हको घाममा धुनी तापेका थिए ।