बडादशैँका साइत सार्वजनिक, विजयादशमी २९ असोज १०ः०२ बजे

बडादशैँका साइत सार्वजनिक, विजयादशमी २९ असोज १०ः०२ बजे

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन ८, २०७८

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । 

२१ असोज बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । 

२२ असोज शुक्रबार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले बताए । २५ असोज सोमबार पचली भैरव यात्रा गरिन्छ । २६ असोज मंगलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा. अधिकारीले बताए । 

फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यका तर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७:११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ । २७ असोज बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । 

२८ असोज बिहीबार महानवमी पर्व मनाइन्छ । २९ असोज शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

विजयादशमीका दिन बिहान ७:०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ः ३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन २ कात्तिक मा सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।