२२ लाख ५० हजार कित्ता आईपीओ निश्कासन गर्दै न्यादी

२२ लाख ५० हजार कित्ता आईपीओ निश्कासन गर्दै न्यादी

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ८, २०७८

न्यादी हाइड्रोपावर लिमिटेडले यही १५ असोजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निश्कासन (आईपीओ)को बिक्री खुला गर्न लागेको हो ।    

निश्कासन गरिने साधारण शेयरमध्ये ५ प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले यही १५ असोजदेखि आवेदन दिन पाउने भएका छन् ।

कम्पनीको विवरण पत्रअनुसार सर्वसाधारणले १९ असोजसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए ३१ असोजसम्म निश्कासन खुला हुने विवरणपत्रमा उल्लेख छ ।

कम्पनीले हाल लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा कुल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ रुपैयाँ हुने र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ३९ लाख २५ हजार १८६.५ रुपैयाँ हुने जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् । साथै, अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । 

धितोपत्रको सार्वजनिक निश्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बिबी इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने बुझिन्छ ।

कम्पनीले आफ्नो जारी पुँजी एक अर्ब ५० करोड रुपैयाँको प्रतिशेयर १०० रुपैयाँ अंकित दरले हुने एक करोड ५० लाख कित्ता शेयरमध्ये १५ प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सार्वजनिक निश्कासनका निमित्त छुट्याएको थियो । आयोजना प्रभावित क्षेत्र लमजुङका बासिन्दाका लागि छुट्याइएको १० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता शेयर र संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि छुट्याइएको ३ लाख कित्ता शेयर गरी १८ लाख कित्ता शेयर गत १ भदौदेखि निश्कासन खुला गरिएको थियो, जसको बाँडफाँट गत बुधबार भइसकेको छ ।