नासा नेपालद्वारा 'सेफ एण्ड एफोर्डेबल हेलमेट' अभियानको थालनी

नासा नेपालद्वारा 'सेफ एण्ड एफोर्डेबल हेलमेट' अभियानको थालनी

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन ८, २०७८

काठमाडौँ ।  इन्टरनेसनल फेडेरेसन अफ अटोमोबाइलको सहयोग र विश्व बैंकसँगको सहकार्यमा नेपालमा पहिलो पटक 'सेफ एण्ड एफोर्डेबल हेलमेट' अभियान संचालनको घोषणा भएको छ । 

नेपाल अटोमोबाइल्स एसोसिएसनद्वारा संचालन गरिने अभियानअन्तर्गत नेपालभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी ३०० भन्दा बढी यूएन मापदण्डका हेल्मेट वितरण गरिने भएको छ । आज एक कार्यक्रमका बीच विश्व बैंकका उपाध्यक हार्टि्विग स्काफर, एफआईए रोड सेफ्टी एण्ड ग्लोबल एड्भोकेसी प्रमुख लुका पास्कोट्टो, पूर्वमन्त्री तथा सांसद योगेश भट्टराई, प्रतिनिधिसभा विकास तथा प्रविधि समिति सदस्य रंगमती शाही र इन्दु शर्मा, बाग्मती प्रदेशसभा सांसद भावना सुवेदी, नासा नेपालका अध्यक्ष दशरथ रिसाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, विश्व बैंक नेपालका कन्ट्री डाइरेक्टर फरिस हदाद-जर्भिसलगायत विभिन्न निकायका उच्चपदाधिकारीहरूको उपस्थितिमा उक्त अभियानको थालनी भएको हो ।

नासा फाउन्डेसन नेपालका तर्फबाट गोविन्द भट्टराईले स्वागत मन्तब्य राखेका थिए ।

त्यस्तै, विश्व बैंकका तर्फबाट स्काफरले सडक दुर्घटनाले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव र त्यसका रोकथामका लागि चालिनुपर्ने आवश्यक कदमबारे अवगत गराएका थिए ।
प्रतिनिधिसभा सदस्य  योगेश भट्टराई, रंगमती शाही , इन्दु शर्मा, भावना सुवेदी र भौतिक पूर्वाधार तथा यातायात  मन्त्रालयका  सचिव रवीन्द्रनाथ श्रेष्ठले सडक सुरक्षाका क्षेत्रमा क्रियाशील ढंगले अघि बढ्दै आगामी दिनमा सोहीअनुरूप रही  कार्ययोजना बनाउनेसमेत जानकारी दिए । 

सो अवसरमा उपस्थित अतिथिहरूले एफआईएद्वारा प्रदान गरिएको हेल्मेट सार्वजनिक गर्दै विभिन्न लक्षित समूहका प्रतिनिधिलाई प्रदान गरे ।

नेपालमा बढ्दो २ पाङ्ग्रे सवारी दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटनापछि हुने क्षतिलाई न्यूनीकरण गर्न, सुरक्षित हेल्मेट प्रयोगको चेतना जनस्तरमा फैलाउन र हेल्मेटको राष्ट्रिय मापदण्डको कर्यान्वयनमा जोड दिँदै मोटरसाइकल चालक तथा पछाडि बस्ने यात्रुले समेत अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्ने ऐनको व्यवस्थालाई कर्यान्वयनमा लैजान पहल गर्ने उद्देश्यले सो अभियान संचालन गरिएको हो ।