लोकसभा चुनाव परिणाम ढिलो हुने

लोकसभा चुनाव परिणाम ढिलो हुने
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २५, २०७६

नयाँ दिल्ली । भारतमा जारी लोकसभा निर्वाचनका पाँच चरण सकिएका छन् ।

अब दुई चरणको चुनाव मात्रै बाँकी छ । आगामी मे १२ मा हुन लागेको छैठौं चरणको चुनाव सात राज्यका ५७ सिटमा निर्वाचन हुँदैछ भने अन्तिम चरणमा मे १९ का आठ राज्यका ५९ सिटमा निर्वाचन हुने कार्यक्रम छ ।

निर्वाचन आयोगले जारी गरेको कार्यक्रम अनुसार मे २३ मा मतगणना सुरु हुन्छ । सबैलाई मतगणनाको पर्खाइ रहन्छ । तर, यसपटक मतगणनाको परिणाम आउन ढिलो हुने भएको छ । यसको प्रमुख कारण यसपटक इभिएम मेसिनमा जडान गरिएको भोटर भेरिफाइबल पेपर अडिट ट्रेल (भिभिप्याट) हो । भारतको सर्वाेच्च न्यायालयले प्रत्येक निर्वाचन क्षेत्रमा पाँच प्रतिशत भिभिप्याट पूर्जीको मिलान गर्ने आदेश दिएको छ । यसकारण मतगणना हुन समय लाग्छ ।

यो एउटा यस्तो व्यवस्था हो, जसमा भोटरले भोट हाल्ने बेला इबिएम मेसिनको जुन स्विच थिच्दा पनि उसको नाम तथा तस्बिर अंकित पूर्जी आउँछ । यो पूर्जी सात सेकेण्डसम्म देखिन्छ । त्यसपछि मेसिनमै संग्रहित हुन्छ ।

प्रत्येक इबिएम मेसिनका पाँच प्रतिशत पूर्जी मिलान गर्नुपर्ने भएकाले मतगणनामा ढिलाइ हुने भएको हो ।

पूर्व मुख्य चुनाव आयुक्त एस वाई कुरैशीका अनुसार यसपटकको चुनाव परिणाम आउन सन् २०१४ को तुलनामा ४–५ घन्टा बढी समय लाग्न सक्छ ।