त्रासमा अफगान महिला: पोशाक र परम्परा जोगाउने कि ज्यान ?

त्रासमा अफगान महिला: पोशाक र परम्परा जोगाउने कि ज्यान ?

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १०, २०७८

अफगानिस्तानमा फेरि तालिबानको सत्ता आएपछि सबैभन्दा बढी त्यहाँका महिलाहरु भयवित छन् । तालिबानको पहिलो शासनकालमा महिलामाथि उनीहरुले गरेको व्यवहार निकै कठोर थियो । त्यसैले पनि महिलाहरु तालिबानको सत्ता आएमा पुनः संकटमा धकेलिने खतरा देखिरहेका छन् । तालिबान शासनमा महिलामाथि हुने अत्याचारलाई रोक्ने प्रयासस्वरुप त्यहाँका सहरी क्षेत्रका महिलाले प्रदर्शन गरिरहेका छन् । तर ग्रामीण क्षेत्रका महिलाहरु सबैभन्दा बढी प्रताडित हुने खतरा छ । 

यसैक्रममा कुख्यात मानिने तालिबानको धार्मिक प्रहरीका मुल्लाह नुरुद्दीन तुराबीले मृत्युदण्ड र शरीरका अंग काट्नेजस्ता कठोर सजायहरू अफगानिस्तानमा पुनर्बहाली हुने संकेत गरेका छन् । उनले सुरक्षाका लागि यस्ता सजाय आवश्यक रहेको तर्क समेत गरेका छन् । सन् १९९० को दशकमा तालिबानले आफ्नो शासनकालमा त्यस्ता सजायहरू सार्वजनिक स्थलहरूमा दिने गरेका थिए । तालिबान यस्तै सजायका कारण पनि कुख्यात मानिन्छ । उनले भनेका छन्, ‘हाम्रो कानुन कस्तो हुनुपर्छ भन्नेबारे अरूले भन्नु पर्दैन ।’

गत अगस्ट १५ मा अफगानिस्तानमाथि नियन्त्रण कायम गरेयता तालिबानले विगतको भन्दा नरम शासन गरिने बताउँदै आएको थियो । तर देशभरि मानव अधिकार उल्लंघनका घटनाहरुमा तीव्र वृद्धि भएको छ । हेरातमा प्रतिष्ठित महिलाहरू, घरबाहिर हिँडडुल गर्न पाउने स्वतन्त्रता पक्षधर र पोशाकसम्बन्धी नियम पालना गर्न अस्वीकार गर्ने महिलाहरूको खोजी गर्दै तालिबान लडाकुहरू हिँडेको पाइएको अधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ ।

धेरै अफगानी महिलाले यसैगरी आफ्नो पुरानो पोशाकको तस्बिरको आन्दोलन यसरी चलाइरहेका छन् । तालिबानको सत्तासँगै अफगान महिलालाई पोशाकमाथिको नियन्त्रण र पोशाक बदल्न परेको दबाबका कारण उनीहरुले यो अभियान सुरु गरेका हुन् । 

अफगानिस्तानमाथि तालिबानले नियन्त्रण कायम गर्नुभन्दा केही दिनअगाडि बाल्खमा तालिबानका एक न्यायाधीश हाजी बदरुद्दीनले इस्लामिक कानुनको कठोर व्याख्यालाई आफूले समर्थन गर्ने बताएका थिए । विगतका कामका कारण संयुक्त राष्ट्रसंघले आर्थिक प्रतिबन्ध लगाएका व्यक्तिहरूको सूचीमा रहेका तुराबीले सार्वजनिक स्थलमा सजायहरू दिने वा नदिने विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको र त्यसबारे नीति बनाइने बताए । सन् १९९० को दशकमा काबुलका खेलकुद रंगशालाहरूमा अथवा इदगाहमा मृत्युदण्डका सजाय दिने गरिन्थ्यो । त्यस बेला तुराबी न्यायमन्त्री र सदाचार विस्तार तथा दुराचार नियन्त्रण मामिला प्रमुख थिए ।

तालिबानविरुद्ध रंगीचंगी पोशाक प्रदर्शन

तालिबानले पहिलेभन्दा नरम नीति लिने प्रतिबद्धता जनाएपनि त्यसलाई कार्यान्वयन नगर्ने र पुरानै कठोर नियम लगाू गर्ने संकेत गरेका छन् । यसै क्रममा उनीहरुले कतिपय छात्राहरुलाई विद्यालय जानमा समेत रोक लगाएका छन् । छात्राहरूका लागि पोशाकसम्बन्धी तालिबानको कडा नियमविरुद्ध अफगान महिलाहरूले अनलाइनमार्फत् विरोध प्रदर्शन सुरु गरेका छन् । 

‘डनटचमाईक्लोथ’ र ‘अफगानिस्तानकल्चर’ जस्ता ह्यासट्याग प्रयोग गरेर कैयौँ महिलाहरूले परम्परागत रंगिन पोशाक लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा 'पोष्ट' गरिरहेका छन् । यतिबेला टाउकोदेखि खुट्टाको पैतालासम्म कालो पोसाकले ढाकिएका महिलाहरु देखिन्छन् । धेरैले मुस्लिम धर्मअनुसार लगाएका यस्ता कपडालाई सामान्य रुपमा नै लिन्छन् । तर अफगानिस्तानका परम्परागत कपडा बहुरंगी पाइन्छन् ।

उनीहरुका यी सांस्कृतिक पोसाकहरु हुन् । अफगानी महिलाले लगाउने विशेष पोशाकमा हातले बुनेका र गहन डिजाइन गरेका बुट्टाहरू छन् । छातीको वरिपरि स–साना काँचका टुक्रा जडान गरिएको छ । त्यस्तै लामा स्कर्टहरू छन् जुन अफगानिस्तानको राष्ट्रिय नृत्य अट्टनका लागि एकदमै उपयुक्त देखिन्छन् । केही महिलाहरू बुट्टादार टोपी पनि पहिरिन्छन् भने कतिले स्कार्फ लगाएका पाइन्छन् ।

अफगानिस्तानी महिलाले लगाउने यी कपडाहरुले उनीहरुले प्रतिनिधित्व गर्ने क्षेत्र समेत जनाउँछन् । पछिल्ला २० वर्ष उनीहरुले यस्ता कपडाहरु लगाइरहेका थिए । तर गत साता शरीर कालो रंगको कपडाले ढाकेका महिलाहरुले काबुलमा तालिबानको समर्थनमा र्‍याली निकाले । जुन र्‍यालीमा सहभागी महिलाले आधुनिक पोशाक लगाउने र मेकअप गर्ने महिलाहरूले देशका मुस्लिम महिलाहरूको प्रतिनिधित्व नगर्ने दाबी गरिन् । एउटा भिडियोमा उनले भनेकी छन्, ‘महिलाका लागि हामी त्यस्तो अधिकार चाहँदैनौँ । जुन विदेशी कुरा हुन् र शरीया कानुनसँग बाझिने खालका हुन् ।’

यसै कुराको जवाफ दिन यतिबेला अफगानी महिलाहरुले सामाजिक सञ्जाल मार्फत परम्परागत पोशाक प्रदर्शन गरिरहेका हुन् । यो अभियान अमेरिकन विश्वविद्यालयकी भूतपूर्व इतिहासकी प्राध्यापक अफगान बहार जलालीले सुरु गरेकी हुन् । जसमा ‘डनटचमाईक्लोथ’ र ‘अफगानिस्तानकल्चर’ जस्ता ह्यासट्याग प्रयोग गरिएको छ । अफगानिस्तानको पहिचान र सम्प्रभुतामाथि हमला भएकाले आफूले यस्तो अभियान शुरू गरेको बहार जलालीले बताएकी छन् । 

हरियो रंगको अफगान पोशाक लगाएर उनले आफ्नो तस्बिर ट्विटरमा शेयर गर्दै अन्य महिलाहरूलाई पनि ‘अफगानिस्तानको वास्तविक मुहार’ देखाउन आह्वान गरेकी थिइन् ।

पहिचानको होड

तालिबान समर्थक अफगान महिलाले शरीर ढाकिने गरी लगाएको कालो पोशाकलाई आफ्नो ठानिरहेका छन् । उनीहरुले अफगान महिलाको परम्परागत पोशाकलाई चै विदेशी ठानिरहेका छन् । त्यसैले यतिबेला अफगान महिलाको पोशाक चिनाउने होड चलेको छ । 

बहार जलालीले भनिन्, ‘म विश्वलाई मिडियामा तालिबान समर्थक र्‍यालीको जुन तस्बिर आयो त्यो हाम्रो पहिचान हैन भनेर बताउन चाहन्थेँ ।’ परम्परागत रंगिन कपडा लगाउने अफगानका लागि पूरै शरीर ढाक्ने कपडा विदेशी थियो भने पूरै शरीर ढाक्नेहरुका लागि रंगिचंगी कपडा विदेशी लाग्थ्यो । अफगानिस्तानका हरेक क्षेत्रका आफ्ना परम्परागत पहिरन छन् । तर विविधतायुक्त ती पोशाकमा पनि केही कुराहरू मिल्दाजुल्दा छन् । त्यो भनेको त्यस्ता लुगामा रङ, सिसा र बुट्टाको अधिक प्रयोग हुन्छ । सामाजिक सञ्जालमा अभियान चलाइरहेका महिलाहरूले त्यसैलाई उनीहरूको पहिचान ठान्छन्।

‘यो हाम्रो वास्तविक अफगान पोशाक हो । अफगान महिलाहरू यस्तो रंगिन र साधारण पोसाक पहिरिन्छन् । कालो रङको बुर्का कहिल्यै पनि अफगानिस्तानको पारम्परिक पहिरन थिएन’, भर्जिनियाकी मानवअधिकार कार्यकर्ता स्पोजमे मसीद भन्छिन्, ‘हामी सदियौँदेखि एउटा इस्लामिक देश हौं र हाम्रा हजुरआमाहरूले साधारण खाले परम्परागत पहिरन लगाउँथे । उनीहरूले नीलो रङको चदरी र अरबको कालो बुर्का लगाउँदैनथे । हाम्रो परम्परागत पहिरनले पाँच हजार वर्षको हाम्रो समृद्ध संस्कृतिलाई प्रतिनिधित्व गर्छ । हरेक अफगानलाई यसप्रति गर्वको अनुभूति हुन्छ ।’

अफगानिस्तानको निकै कट्टर क्षेत्रमा बस्नेहरु पनि आफूहरूले महिलाहरूले कालो रङको नकाब लगाएको नदेखेको बताउँछन् । महिला मामिलामा काम गर्ने पेवान्ड अफगान एसोसिएशनकी ३७ वर्षीय अनुसन्धानकर्ता लिमा हलिमा अहमद आफूहरुलाई आफ्नो संस्कृतिप्रति गर्व रहेको बताउँछिन् । कोही पनि अनुदारवादी समूहले आफूहरुको पहिचान तय गर्न नसक्ने उनको बुझाई छ । उनी भन्छिन्, ‘हाम्रो संस्कृति श्याम श्वेत छैन। यो त रंगिन छ । यसमा सुन्दरता र कला छ ।’

धेरै अफगानी महिलाले यसैगरी आफ्नो पुरानो पोशाकको तस्बिरको आन्दोलन यसरी चलाइरहेका छन् । तालिबानको सत्तासँगै अफगान महिलालाई पोशाकमाथिको नियन्त्रण र पोशाक बदल्न परेको दबाबका कारण उनीहरुले यो अभियान सुरु गरेका हुन् । 

तालिबानले महिलाहरूलाई शरीया कानुन र स्थानीय परम्परा अनुसार पढ्न र काम गर्न दिने बताउँदै आएको छ । तर तालिबानको बोली र व्यवहारमा फरक देखिएको छ । त्यसैले अफगान महिलाले शीर र आँखा समेत ढाक्नेगरी कपडा लगाउन सुरु गरिसकेका छन् । अफगानिस्तानका शिक्षा मन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिला र पुरुषलाई अलग्गै राख्न र महिलाले नकाब अनिवार्य लगाउन उर्दी नै जारी गरेका छन् । जसले गर्दा अफगानिस्तानमा यतिबेला ज्यान बचाउने कि संस्कृति बचाउने भन्ने दोधारको अवस्था आएको छ । बीबीसीको सहयोगमा