बाबा साकोस :  खुद नाफा ५७ लाख ३६ हजार

बाबा साकोस :  खुद नाफा ५७ लाख ३६ हजार

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १०, २०७८

भक्तपुर । बाबा बचत तथा ऋण सहकारी संस्था लि. थिमि, भक्तपुरले आर्थिक वर्ष २०७७/७८ मा ५७ लाख ३६ हजार ४ सय ५८ रुपैंया ९८ पैसा खुद नाफा गरेको छ ।

संस्थाको १६ औँ वार्षिक सभामा दिइएको जानकारी अनुसार सो आ. व. मा ४ करोड ९२ लाख २ हजार १ सय रुपैंया शेयर पुँजी रहेको र ३५ करोड ८७ लाख ७२ हजार ४ सय ४३ रुपैंया ८६ पैसा निक्षेप सङ्कलन गरी २९ करोड ९७ लाख ६५ हजार ९ सय ६२ रुपैंया २६ पैसा लगानी भएको थियो । 

सहकारीको १६ औँ साधारण सभाको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बाबा साकोसको वासलात, नाफा नोक्सानको सूचकांक विश्लेषण गर्दा प्रगति उन्मुख रहेको बताउनु भयो । उहाँले कोभिड–१९ को महामारीका बीच पनि संस्थाले वासलात १० करोडमा वृद्धि गर्नु बाबा साकोस कुशल ब्यवस्थापनबाट सञ्चालन रहेको प्रमाणित भएको छ भन्नुभयो । मेयर श्रेष्ठले बाबा साकोसले नेपाल कोरिया नगरपालिका मैत्री अस्पताललाई कोभिड– १९ को महामारीको समयमा  स्वास्थ्य पेसन्ट मनिटर सहयोग गर्न यस भेगको सहकारीहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्नु, वातावरणीय क्षेत्रमा सुधार ल्याउन बायो–कल्चर बृक्षारोपण गर्नु, शिक्षा क्षेत्रको विकास गर्न स्नातकोत्तर तह उत्तीर्णलाई सम्मान गर्नु प्रशंनीय रहेको उल्लेख गर्नुभयो । 

उहाँले मध्यपुर थिमि नगरपालिकाको विगत र वर्तमानको विकास निर्माणको चर्चा गर्दै आज मध्यपुर थिमि नगरको सम्पदा, पार्क, संस्कृति क्षेत्रको घुम्न लायकको गन्तव्यको रुपमा विकास भएको बताउनुभयो । मेयर श्रेष्ठले नेपाल कोरिया नगरपालिका अस्पतालमा सञ्चालनमा रहेको स्वास्थ्य बिमा सेवा सरकारले अस्पताललाई दिनु पर्ने ९ करोड रुपैयाँ नदिएपछि स्वास्थ्य बिमा सेवा बन्द गर्न अप्रिय निर्णय लिनु परेको बताउँदै सरकारबाट भुक्तानी लिन आवश्यक दबाब पनि दिँदै गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नंं. ४ का वडा अध्यक्ष कुमार श्रेष्ठले वडा नंं. ४ मा कार्यालय स्थापना गरी कारोबार गर्दै रहेको बाबा साकोसले सदस्यहरू बीच आर्थिक कारोबारको विस्तारका साथै सामाजिक, सांस्कृतिक, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि योगदान गरेको चर्चा गर्दै संस्थाले अझ बढी प्रगति गर्न सकोस भनी कामना गर्नुभयो ।

जिल्ला विकास समिति भक्तपुरका सदस्य उमेश श्रेष्ठले संस्थाको स्थापनाकालदेखि सदस्यहरूको आर्थिक विकासमा बाबा साकोसले उल्लेखनीय कार्य गर्दै आएको चर्चा गर्दै सफलताको कामना गर्नुभयो । 

सभापतिको आसनबाट संस्थाका अध्यक्ष ज्ञानराम श्रेष्ठले संस्थाको सदस्यहरूको सफलताको लागि केन्द्रित गरेर नै सबै कार्य सम्पादन गरी सहकारीको मूल्य, मान्यतालाई आत्मसात् गरी कारोबार गर्दै आएको जानकारी दिनुभयो । उहाँले पैसाको आधारमा नेपाल कोरिया नगरपालिका अस्पतालबाट दिने सेवा स्थगित नगर्न आग्रह गर्दै कानुनी प्रक्रिया मिलेमा बाबा साकोसले अस्पतालको लागि आपतकालिन ऋण लगानी गर्न संस्था इच्छुक रहेको बताउनुभयो । कार्यक्रममा संस्थाका सचिव ज्ञानहरि श्रेष्ठले आ. व. २०७७÷७८ को प्रगति प्रतिवेदन तथा आ. व. २०७८/८९ को वार्षिक कार्य योजन प्रस्तुत गर्नुभएको थियो ।

 कोषाध्यक्ष प्रेमरत्न मानन्धरले आ. व. २०७७/७८ को आर्थिक प्रतिवेदन तथा आ. व. २०७८/७९ को अनुमानित बजेट प्रस्तुत गरी पारित गरिएको थियो । सभामा विभिन्न सङ्काय र विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका शेयर सदस्यका छोराछोरीहरूलाई चांदिको पदक, नगद, मायाको चिन्ह सहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । सम्मानित स्नातकोत्तर तह उत्तीर्ण हुनेहरूमा योगेश श्रेष्ठ, ललित मानन्धर, अनुज श्रेष्ठ, रमिता भासिमा, प्युरी जोशी खतोखो, सुनिता श्रेष्ठ, डा. विनय श्रेष्ठ, डा. अनिल शंखदेव र विपिन मानन्धर रहेका छन् कार्यक्रममा सम्मानितको तर्फबाट डा. विनय श्रेष्ठले मन्तब्य व्यक्त गर्नुका संस्थाका उपाध्यक्ष राजेश श्रेष्ठले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।