राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई दबाब

राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई दबाब

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १०, २०७८

सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई दबाब दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिए ।

गठबन्धनमा संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत जुटाएर दल विभाजन गर्ने गरी ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्ने विवाद छ ।

सरकारले उक्त अध्यादेश २३ भदौमा प्रतिनिधिसभामा टेबल गरेको छ । तर, यो अध्यादेश कायम रहँदासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने जनता समाजवादी पार्टीको अडान छ ।

अध्यादेश फिर्ता लिन एकीकृत समाजवादीका नेताहरू सकारात्मक देखिएका र एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरूसँग छलफल गरेर टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिइएको बताइएको छ ।