विराटनगरलाई २ विकेटले हराउँदै चितवन विजयी

विराटनगरलाई २ विकेटले हराउँदै चितवन विजयी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन १०, २०७८

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी- २० क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा चितवन टाइगर्स विजयी भएको छ । टीयू क्रिकेट मैदानमा विराटनगर वारियर्समाथि २ विकेटको जीत हात पार्दै चितवनले सुखद् सुरुवात गरेको हो । 

विराटनगरले दिएको १५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । चितवनको जीतमा राजेश पुलामीले अविजित रहँदै सर्वाधिक ४३ रन बनाए । शाहब आलम १ रनमा अविजित रहे ।

यस्तै, भीम सार्कीले ३० तथा दिलीप नाथले २३ रन बनाए । करिम जनत १९ रनमा आउट तथा इशान पाण्डे १० रनमा आउट भए । कप्तान सोमपाल कामी ९, सेकुगे प्रसन्न ३ तथा कमलसिंह ऐरी र हमद शाहजाद १ रनमा आउट भए । 

विराटनगरका सिकन्दर राजा र करण केसीले समान २-२ विकेट लिए । प्रतिस जीसी, अनिल खरेल र रायन पठानले १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । खराब सुरुवात गरेको विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । 

यस्तै, अनिल शाहले ३२ र सौरभ खनालले अविजित ३० रन बनाएका थिए । विक्रम भुसालले ७ रन जोडे । अनिल खरेल शून्य रनमा अविजित रहे । 

चितवनका कप्तान सोमपाल कामी, कमलसिंह ऐरी, करिम जनत र सागर ढकालले २-२ विकेट लिए । आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।