दशैँका लागि अग्रिम टिकट बुकिङ खुला

दशैँका लागि अग्रिम टिकट बुकिङ खुला

लोकसंवाद संवाददाता  |  समाज  |  आश्विन ११, २०७८

राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागिर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । अहिले नयाँ बसपार्कमा टिकट लिने यात्रुको चाप देखिन थालेको छ । 

सरकारले यस वर्षको दशैँका लागि घर जानेका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै पश्चिमको धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्युठान, रोल्पा तथा पूर्वका सिरहा, सप्तरी, ताप्लेजुङ, इलाम, झापा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको बसपार्कमा लाइन देखिन्छ । 

गत वर्ष कोरोना सङ्क्रमणका कारण अग्रिम टिकट बुकिङ खुला गरिएको थिएन । यस वर्ष भने समयमा नै अग्रिम टिकट बुकिङ खुला गरिएको हो । यसका लागि नयाँ बसपार्क संचालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा ११ वटा टिकट बुकिङ काउण्टर थप गरेको छ । 

प्रालिका महाप्रबन्धक सुनिल कुँवरले दशैँमा घर जाने यात्रुलाई व्यवस्थित रूपमा टिकट प्रदान गर्नका लागि टिकट काउण्टर थप गरिएको जानकारी दिए । विगत वर्षमा यात्रुलाई हस्तलिखित टिकट प्रदान गरिँदै आए पनि यस पटक भने हस्तलिखित र प्रविधिमैत्री दुवैखाले टिकट वितरण गरिएको छ । 

संक्रमण यथावत् रहेकाले अग्रिम टिकट बुकिङका लागि भौतिक दूरी कायम गरिएको छ । बसपार्क क्षेत्रमा चाडपर्वमा हुन सक्ने लुटपाट, चोरी, डकैतीलाई न्यूनीकरण गर्नका लागि लोत्सेले ३४ जना सेक्युरिटी गार्ड र नेपाल प्रहरीले ४० जना सुरक्षाकर्मी खटाएका छन् । 

यस्तै, दशैँमा यात्रुलाई सुरक्षित तवरले गन्तव्यस्थलसम्म जाने वातावरण निर्माण गर्न गाडीलाई राम्रो किसिमको मर्मतसम्भार गर्नुका साथै मास्क र स्यानिटाइजरको अनिवार्य व्यवस्था मिलाइएको उनले बताए । प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले अग्रिम टिकट बुकिङका लागि बसपार्कमा ११ वटा टिकट काउण्टर थप गरेको जानकारी दिए । बसपार्कबाट हाल ३२ वटा टिकट काउण्टरमार्फत कम्युटर प्रणालीको माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गरिँदै आएको छ । 

काठमाडौं महानगरपालिका- २६ गोंगबुस्थित विष्णुमती किनारमा १६१ रोपनी क्षेत्रफलमा फैलिएको सो बसपार्कबाट हाल देशभरका ६५ वटाभन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले गत वर्षभन्दा यस वर्ष दशैँमा घर जानका लागि अग्रिम टिकट बुकिङका लागि आउने यात्रुको संख्या कमी भएको जानकारी दिए ।

महासचिव सिटौला यात्रुको चापलाई हेरेर यातायात व्यवसायीले बस थप्दै जाने बताउँछन् । नयाँ बसपार्कबाहेक चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलंकीबाट समेत अग्रिम टिकट बुकिङ सुरुवात गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षले राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने जनाएको छ ।