विश्व स्वास्थ्य संगठनले कोभिड- १९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने

विश्व स्वास्थ्य संगठनले कोभिड- १९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने

एजेन्सी  |  स्वास्थ्य  |  आश्विन ११, २०७८

विश्व स्वास्थ्य संगठनले कोभिड- १९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ ।

अमेरिकी संचार माध्यमले जनाएअनुसार वाल स्ट्रिट जर्नलको रिपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य संगठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यसबारे थप नयाँ प्रमाण खोज्नका लागि भेला गर्दै छ । उक्त रिपोर्टअनुसार  कोभिड- १९ को उत्पत्तिबारे चिनियाँ वैज्ञानिकहरूले दिएको प्रमाण अपर्याप्त छ ।

रिपोर्टमा भनिएको छ, 'वैज्ञानिकहरूको नयाँ समूह, जसमा प्रयोगशाला सुरक्षा, जैविक सुरक्षा विशेषज्ञहरू र आनुवंशिक विशेषज्ञहरू समेत सम्मिलित छन्, उनीहरूले कोरोना भाइरस प्रयोगशालाबाट बाहिरएको हो वा होइन भन्ने विषयमा गम्भीर अध्ययन, अनुसन्धान गर्नेछन् । उक्त अध्ययनले यस किसिमका भाइरस संक्रमणको भविष्यमा हुन सक्ने जोखिमलाई समेत केन्द्रमा राखेर प्रतिवेदन तयार पार्नेछ ।

स्वास्थ्य संगठनले यस नयाँ पहलले अनुसन्धानलाई छिटो गर्न र जोखिम कम गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

यसअघि अगस्टमा अमेरिकाले कोभिड भाइरसको उत्पत्तिबारे एउटा रिपोर्ट जारी गरेको थियो उक्त रिपोर्टलाई बेइजिङले पूर्ण रूपमा राजनीतिक भएको र कुनै वैज्ञानिकता र विश्वसनीयता नभएको भन्दै अस्वीकार गरेको थियो । त्यसबारे चिनियाँ उपविदेशमन्त्री मा झाओक्सुले कडा शब्दमा आपत्ति जनाउँदै अमेरिकाले भाइरस ट्रेसिङका नाममा अन्तर्राष्ट्रिय सहयोगमा विषाक्तता नथप्न र महामारीका विरुद्धको लडाइँमा वैज्ञानिक ढंगले अनुसन्धान गर्दै सही बाटो समात्न आग्रह गरेका थिए ।

यसैगरी उक्त रिपोर्टको सारांश मा भनिएको छ, 'अमेरिकी खुफिया समुदाय (आईसी)का अनुसार नोभेल कोरोना भाइरसको उत्पत्ति अतिरिक्त जानकारीबिना कहिल्यै पहिचान गर्न सकिँदैन ।

रिपोर्टका अनुसार अमेरिकी गुप्तचर समुदाय अझै पनि यस भाइरसको उत्पत्ति प्रयोगशालाबाट भएको हो वा जनावरबाट मानिसमा प्रवेश गरेको हो भन्नेबारे विभाजित नै छ ।

डब्लूएचओ नेतृत्वको वैज्ञानिकहरूको एक टोली, जसले २०२१ को सुरुमा चीनको यात्रा गरी भाइरसको उत्पत्तिका बारे अनुसन्धान गर्ने प्रयत्न गरेको थियो, यद्यपि, यसले त्यसबारे स्पष्ट र यथेष्ट प्रमाण र तस्बीरहरू संकलन गर्न भने निकै संघर्ष गरेको थियो ।