दिल्ली र हैदरावादबीच इलिमिनेटर आज, सन्दीपको सम्भावना कति ?

दिल्ली र हैदरावादबीच इलिमिनेटर आज, सन्दीपको सम्भावना कति ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २५, २०७६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको इलिमिनेटरमा आज दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टिम खेल जितेर क्वालिफायर पुग्ने दाउमा छन् ।

तर, कुन टिमले बाजी मार्छ भन्न सहज छैन । किनकि चालू सिजनको हेड टु हेडमा दुवै टिमको नतिजा बराबरी छ । चालू सिजनमा यी दुई टिमबीच भएका खेलमा १–१ को बराबरी भएको छ । घरेलु मैदानमा हैदरावादसँग ५ विकेटले पराजित भएको दिल्लीले हैदरावादमा नतिजा उल्ट्याएको थियो । उक्त खेलमा दिल्लीले हैदरावादलाई ३९ रनले हराएको थियो ।

सन्दीपको सम्भावना कति ?

दिल्ली र हैदरावादको खेलमा नेपाली क्रिकेटप्रेमीको चासो छ– सन्दीपले दिल्लीबाट खेल्न पाउँछन् कि पाउँदैनन् ?  किनकि उनी पछिल्ला दुई खेलमा प्लेइन इलेभनमा परेका छैनन् । सन्दीपले पछिल्लो पटक रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध खेलेका थिए । उक्त खेलमा उनले १२ को इकोनोमी रेटमा बलिङ गरेका थिए । तीन ओभर बलिङ गरेका सन्दीपले बिना विकेट ३६ रन खर्चिएका थिए । 

आजको खेलमा पनि सन्दीपले मौका पाउने सम्भावना कम रहेको बताइन्छ । किनकि पछिल्लो समय दुई भारतीय स्पिनर अमित मिश्रा र अक्षर पटेलले उत्कृष्ट बलिङ गरिरहेका छन् ।

त्यसकारण चार विदेशी खेलाडीको कोटामा पर्न उनलाई ट्रेन्ट बोल्ट, किमो पाउल, कोलिन इन्ग्राम, कोलिन मुन्रो र सेफर्न रुथरफोर्डमध्ये दुई जनालाई पन्छाउनुपर्ने हुन्छ ।

दिल्लीले रबाडाको स्थानमा ट्रेन्ट बोल्टलाई खेलाउने पक्का जस्तै छ । यस्तै, किमो पाउलको पनि उत्तिकै सम्भावना छ । किनकि उनले ब्याटिङ पनि गर्न सक्छन् । इन्ग्रामले पनि हरेक म्याचमा खेल्दै आएका छन् । यस्तै सेफर्न रुथरफोर्डलाई पनि प्लेइङ ११ मा राखिने सम्भावना छ । त्यसैले सन्दीप यसपाली पनि बेन्चमै बस्नुपर्ने हुन सक्छ ।