नेपालले विश्वशान्ति, सहअस्तित्व र समानतामा आधारित सम्बन्धको नीति अवलम्बन गरेको छ: परराष्ट्रमन्त्री डा. खड्का

नेपालले विश्वशान्ति, सहअस्तित्व र समानतामा आधारित सम्बन्धको नीति अवलम्बन गरेको छ: परराष्ट्रमन्त्री डा. खड्का
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १२, २०७८

परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालले विश्वशान्ति, सहअस्तित्व र समानतामा आधारित सम्बन्ध तथा भाइचाराको नीति अवलम्बन गरेको बताएका छन् । मन्त्री खड्काले विश्वका विभिन्न मुलुकको शान्ति स्थापना कार्यमा नेपालको योगदान रहेको पनि चर्चा गरे ।

संयुक्त राष्ट्रसंघको ७६औँ महासभालाई न्युयोर्कमा नेपालको तर्फबाट आज बिहान संबोधन गर्दै परराष्ट्रमन्त्री खड्काले उक्त कुरा बताएका हुन् ।

आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै मन्त्री खड्काले नेपालले आतंकवादको विरोध गरिरहेको बताए । आणविक हातहतियारको होडबाजीले विश्वको शान्ति र सहअस्तित्वमाथि प्रश्न खडा गर्ने भएकोले नेपाल त्यसको विपक्षमा रहेको मन्त्री खड्काले स्पष्ट पारे । 

अफगानिस्तान, लिबियालगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व उनीहरूकै अन्तरिक विषय भएकाले सोहीअनुरूप आपसी समझदारीमा समाधान हुने विश्वास नेपालको रहेको खड्काले बताए । 

उनले विश्वव्यापी मानव समुदायका लागि चुनौती बनेको कोभिड- १९ महामारीवाट जनतालाई सुरक्षित बनाउनु नेपालको पहिलो प्राथमिकता रहेको बताएका छन् । 

उनले नेपाली जनतालाई कोरोना संक्रमणवाट सुरक्षित बनाउन वर्तमान सरकारले खोपको व्यवस्थापन र खोप लगाउने कार्यलाई उच्चप्राथमिकतामा राखेर काम गरिरहेको महासभामा जानकारी गराए । 

सबै नेपाली जनतालाई आगामी ६ महिनाभित्र खोप लगाइसक्ने लक्ष्यका साथ नेपाल सरकारले कार्ययोजना अघि बढाएको पनि मन्त्री खड्काले बताए । 

कोभिड- १९ को संकट व्यवस्थापन र खोपको व्यापकताका लागि राष्ट्र संघले देखाएको चासो र प्राथमिकताको परराष्ट्रमन्त्री खड्काले प्रसंशा गरे ।

परराष्ट्रमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा हाल अमेरिकाको न्युयोर्कमा छन् ।