ओली सरकारका नियुक्ति खारेज गर्दै देउवा सरकार, ३ पदाधिकारीलाई सोधियो स्पष्टीकरण

ओली सरकारका नियुक्ति खारेज गर्दै देउवा सरकार, ३ पदाधिकारीलाई सोधियो स्पष्टीकरण

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १२, २०७८

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने नीति अख्तियार गरेको छ ।

सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोकालाई हटाउने तयारी गरेको बुझिएको छ ।

उनीहरूलाई हटाउन स्पष्टीकरण नसोध्ने र सफाइको मौकासमेत नदिई हटाउँदा अदालतबाट पुनर्वहाली भएर आउने संभावना भएकाले वैधानिक प्रक्रिया पूरा गर्न तीनै जनालाई स्पष्टीकरण सोधिएको छ ।

काम चित्त बुझ्दो नभएको, सरकारको नीति निर्देशन नमानेको लगायतका कारण देखाउँदै लिखित स्पष्टीकरण मागिएको बताइएको छ ।

स्रोतका अनुसार सफाइको मौका दिने ऐनको प्रावधानको प्रक्रिया टुंगो लगाएर अर्को मन्त्रिपरिषद् बैठकबाट तीनै जनालाई हटाउने गरि प्रस्ताव उठाउन लागिएको छ । मन्त्रिपरिषद्को निर्णयबाट नियुक्त भएकाले उनीहरूसँग स्पष्टीकरण पनि मन्त्रिपरिषद्‌बाटै सोधिएको छ ।