पूर्वका गन्तव्यः पञ्चकन्यादेखि हलेसी महादेवसम्म

पूर्वका गन्तव्यः पञ्चकन्यादेखि हलेसी महादेवसम्म

प्रा.डा. सोमप्रसाद खतिवडा  |  पर्यटन  |  बैशाख २५, २०७६

 त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर क्याम्पस, विराटनगरको  संस्कृति विभाग प्रमुख प्रा.डा. सोमप्रसाद खतिवडा तयार पार्नु भएको कोशीप्रस्रवणक्षेत्रका धार्मिक एवम् पर्यटकीय स्थलहरू विषयक आलेखको पहिलो खण्ड विकासको पखाईमा कोसी प्रस्रवण क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थल, कोशी प्रस्रवण क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थल: पाथीभरादेखि अर्जुनधारासम्मकोटीहोमदेखि राधाकृष्ण रथजात्रासम्म, धार्मिक तथा पर्यटकीय स्थल: लक्ष्मीनारायणदेखि बूढासुब्बासम्म  शीर्षकको आलेख प्रकाशन भइसकेको छ । यसपछि वराहपोखरीदेखि हतुवागढीसम्म  प्रकाशन गरिनेछ । 

पञ्चकन्या

धरान विजयपुरको उत्तरतिर भताभंगे जाने बाटामा जंगलको मुखैमा पञ्चकन्या र पाथीभरा देवीका साथमा अन्य विभिन्न देवीदेवताका मन्दिर पनि रहेका छन् । यो स्थानमा अघि पञ्चकन्या देवीको थान थियो, जहाँ हाल आएर यिनका लागि मन्दिर निर्माण गरिएको देखिन्छ । जंगलको मुखैमा रहेको तथा धरानको उत्तरी भाग स्पष्ट रूपमा देखिने यो स्थान निकै रमणीय पनि छ । यस स्थानमा वनभोज खान जाने मानिसहरूको भीडभाड लाग्ने गरेको छ । यसले पनि धरान भेगमा आउने पर्यटकलाई लोभ्याउने गर्छ । यो मन्दिर विजयपुरको दन्तकालीदेखि करिव ५०० मिटर उत्तरतिर पर्छ । 
 
साल्पादेवी थान

सुनसरीको पूर्व कुसाहामा प्रसिद्ध साल्पादेवी थान पर्छ । त्यस स्थानमा साक्षात् देवीको वास हुने सोची स्थानीय मानिस विभिन्न अवसरहरूमा पूजाआजा गर्न जान्छन् । हाल साल्पादेवी थानमा भब्य मन्दिर निर्माण गरिएको छ ।   

ङाग्युर रिञ्चेन छोइलिंग गुम्बा, धरान

ङाग्युर रिञ्चेन छोइलिंग गुम्बा धरान ८ मा निर्मित छ । निकै भव्य तथा व्यवस्थित यो गुम्बा लामा बौद्धधर्मको निंमापा सम्प्रदायको हो, जसको गर्भगृहमा बीचमा शाक्यमुनि बुद्धको प्रतिमा राखिएको देखिन्छ । तिनको दायाँबायाँ भने पद्मसम्भव र अवलोकितेश्वरका प्रतिमा राखिएका छन् । गुम्बामा हुनुपर्ने प्रायः सबै प्रकारका विशेषता यसमा रहेका पाइन्छन् । यो गुम्बा जम्मा २ कठ्ठा जमिनमा निर्मित छ । निकै सजाइएको यस गुम्बा २०४७ सालतिर निर्माण गरिएको हो । यहाँ लामा बौद्धशिक्षा पनि दिने चलन छ । तसर्थ, यस गुम्बामा विद्यार्थी र लामा शिक्षक पनि बस्छन् । तर, गुम्बाको स्थायी आम्दानीको स्रोत भने केही पनि छैन । यस गुम्बामा प्रायः भारतको बेंगलोरका निंमा शाखाका लामाहरू आवतजावत गर्ने गर्छन् । यहाँ पढ्ने विद्यार्थी पनि उच्च शिक्षाका लागि काठमाडौंका विभिन्न निंमा मतका गुम्बाका साथमा बेंगलोरतिर पनि जाने गरेका छन् । यसरी यो गुम्बा निकै व्यवस्थित पनि छ । 

नेपाल बौद्धगुम्बा, धरान

नेपाल बौद्ध गुम्बा धरान गुरूङ सेवा समितिले निर्माण गरेको हो । यो गुम्बा धरान– १८ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा क्याम्पको सीमामा निर्मित छ । नेपाल बौद्धगुम्बा २०४६ सालमा स्थापना गरिएको हो । यो गुम्बा करिव २ कठ्ठा जमिनमा निर्मित छ । गुम्बा परिसरमा व्यापारिक कोठाहरू निर्मित छन्, जसको भाडाबाट यसको व्यवस्थापन मिलाउने गरिएको देखिन्छ । स्थायी रूपमा लामाहरू बसोबास नभएको यस गुम्बामा विभिन्न अवसरमा लामाहरू आउने तथा ध्यान र पाठपूजा गर्ने गर्छन् । यो गुम्बा पनि निंमापा सम्प्रदायसँग सम्बन्धित छ । नेपाल बौद्ध गुम्बा निकै आकर्षक छ । यो गुम्बा दुई तलाको छ भने यसको अगाडितिर आकर्षक छ्योरतेन निर्माण गरिएको देखिन्छ । गुम्बाको गर्भगृहमा भित्तामा शाक्यमुनि बुद्धको ध्यान मुद्रामा आसन प्रतिमा राखिएको छ । यसको अगाडि दुवैतिर लामाहरू बसेर ध्यान गर्ने तथा बौद्ध ग्रन्थ पढ्ने लंगहरू निर्माण गरिएका देखिन्छन् । गुम्बाको पछाडितिर लामाहरू बस्ने भवन छ । यहाँ स्थायी रूपमा लामाहरू बसेका नभए पनि विभिन्न अवसरमा भने तिनीहरू यस स्थानमा आएर बसोबास गर्ने गरेका छन् । 

शिवजटा

शिवजटा सुनसरीको धरान उपनगरपालिकाभित्र विजयपुरगढीदेखि करिव ३ किलोमिटर उत्तर–पूर्वमा पर्छ । शिवजटा एउटा झरना हो, जुन सेउती खोलाको पानी झरनाका रूपमा झरेको छ । यो स्थान निकै सुन्दर पनि छ, जहाँबाट धरानका लागि खाने पानी लगिएको छ । त्यस स्थानलाई पवित्र शिवगंगाका नामले पनि जान्ने गरिन्छ । 

जाल्पादेवी छिन्तांग 

धनकुटाको छिन्तांग गाउँमा प्रसिद्ध जाल्पादेवीको मन्दिर  छ । अन्यत्रका मानिसले यिनलाई छिन्तांग देवीका नामले जान्छन् भने स्थानीय मानिसहरूचाहिं जाल्पादेवी भन्दछन् । यिनलाई जलमा उत्पन्न भएकी देवीका रूपमा जलदेवी र कालान्तरमा जाल्पादेवी भनिएको हो । धनकुटाको आसपासका मात्र नभएर पूर्वी नेपालको ठूलो क्षेत्रका मानिसले विश्वास गर्ने यी देवीलाई भाकल गरी खुसी तुल्याएमा मनोकांंक्षा पूरा हुने स्थानीयको जनविश्वास छ । एउटा बसेको टहरामा करिव ८ हेक्टर जमिनमा धार्मिक वन छ, जसमा जाल्पादेवीको थान निर्माण गरिएको देखिन्छ । छिन्तांग देवीको उत्पत्तिका सम्बन्धमा प्राप्त एक किंवदन्तीअनुसार जाल्पादेवीले एक बुरूलेन नाकछोङ नामक स्थानीय व्यक्तिलाई सपना दिइछन् । सपनामा तिनले संखुवासभाको आँखिभुइँको कुनै स्थानको माटो ल्याएर त्यस स्थानमा राख्नका लागि आदेश दिइछन् । देवीले सपनामा दिएको आदेशअनुसार ती बुरूलेन नामक व्यक्तिले पनि हुम्बुङ गाउँको माटो एउटा कर्कलाको पातमा ल्याएछन् र त्यसलाई पोको पारेर अहिले जाल्पादेवी भएको स्थानमा एउटा रूखमा झुण्डाएछन् ।    त्यसपछि पानी नभएको त्यस्तो सुख्खा ठाउँमा पानीको मूल पूmटेर कलकल गरी बगेछ । त्यसपछि नाकछोंगले त्यसै स्थानमा देवी स्थापना गरेर पूजाआजा गर्न लागेछन् । यसरी पानीमा स्थापना भएकी देवीका रूपमा यिनलाई जाल्पादेवी भनिएको हो भन्ने मान्यता छ । हालका जाल्पादेवीका पुजारी बुरूलेनको चौधौं पुस्ताका सन्तान हुन् भन्ने बताइन्छ । यसरी जाल्पादेवीको पूजाआजा तान्त्रिक विधिले राई धामीले गर्ने गरेका छन् । 

छिन्तांग देवी स्थानमा जाल्पादेवीको थान, कन्यादेवीको थान, धुनी, नक्छोंगलुंग, जागित्र र जागपोखरीहरू छन् । जाल्पादेवीको पश्चिमतिर कन्यादेवीको थान छ भने त्यसको उत्तरतिर नक्छोंगलुंगको सानोल थान छ । यो थान देवीलाई यस स्थानमा ल्याउने मानिसहरूको सम्मानका लागि यहाँ स्थापना गरिएको हो । यसको उत्तर–पूर्वमा जागित्र थानी र उत्तर–पश्चिममा नागपोखरी छन् । यहाँको धुनीमा नियमित रूपमा आगो बालिरहेको हुन्छ । त्यसै आगोबाट पुजारीले देवीको धूपधुँवार गर्छन् । यता त्रिवेणीमा भने गणेशथान छ, जुन धार्मिक रूपमा प्रख्यात स्थान मानिन्छ । छिन्तांग देवीको पूजाआजा दिनमा एक पटक मात्र साँझपख गरिन्छ । मन्दिर बाहिर र भित्र अनेक प्रकारका घन्टहरू राखिएका छन् । यहाँसम्म पुग्नका लागि धनकुटाको हिलेदेखि सडक मार्ग बनाइएको छ । 

मुक्तिनाथ, आहाले

धनकुटाको आहाले भञ्ज्याङदेखि करिव १५० मिटर माथि डाँडामा एउटा सानो मन्दिर छ, जसलाई मुक्तिनाथ मन्दिर भनिन्छ । आहालेको भञ्ज्याङ क्षेत्रमा रहेको सवैभन्दा महत्वपूर्ण देवस्थल पनि यही हो । उक्त मूर्ति सुनसरीको शिवजटाबाट ल्याएर त्यहाँ स्थापना गराएको मानिन्छ । त्यहाँको मुक्तिनाथ भनिएको प्रस्तर मूर्ति गरूढाशन विष्णुको स्वरूपको अति जीर्ण छ । स्थानीय कमशल प्रस्तरमा बनेको उक्त प्रतिमा विष्णुको भए पनि स्थानीय मानिसहरूले त्यसलाई मुक्तिनाथका नामले पूजाआजा गर्ने गरेका छन् । त्यहाँ एउटा सामान्य प्रकारको मन्दिर निर्माण गरिएको छ । सुन्दर स्थानमा रहेको यो मन्दिर क्षेत्रसम्म पुग्ने मोटरबाटो धरानको विष्णुपादुका हुँदै गएको छ । यहाँबाट धनकुटा र हिले लगायतका बस्तीहरूको सुन्दर दृश्य देख्न सकिन्छ ।  मुक्तिनाथकै छेउमा प्रतिमान थानी छ, जहाँ स्थानीयले पाठापाठीको बलि दिने गर्छन् । 

गुप्तिगंगा, आहाले

धनकुटाको आहाले गाविसको सवैभन्दा महत्वपूर्ण स्थान गुप्तीगंगा स्थान हो । धारापानीको सिरमा रहेको र पानीको ठूलो मूल भएको यस स्थानलाई भूल्के पनि भन्ने गरिन्छ । स्थानीय मानिसहरू त्यस स्थानलाई वराहक्षेत्रको शिर मान्छन् । विशेष गरी कार्तिक पूर्णिमाका अवसरमा यस स्थानमा मेला लाग्ने गर्छ । त्यस अवसरमा विष्णुपादुकातिर बस्ने पुजारी यहाँको पूजाआजा गरेर मात्र वराहक्षेत्रतिर जाने गर्छन् । यहाँ पूजाआजा गरेर मात्र वराहक्षेत्रको विशेष पूजाआजा गर्नुपर्छ भन्ने मान्यता स्थानीयमा रहेको देखिन्छ । यस स्थानमा कार्तिक पूर्णिमाका अवसरमा धनकुटाका आठपहरिया राईहरूले भने विशेष प्रकारले पूजाआजा गर्ने गर्छन् । आशोच बारेका धनकुटाका आठपहरिया राईहरूले सर्वप्रथम गुप्तिगंगामा पूजाआजा गरेपछि मात्र आशोच  फुकाउन वराहक्षेत्रतिर जाने परम्परा छ । उनीहरू कोकोखोलामा मुन्धुम गरी फिर्दा पनि यस स्थानमा पूजाआजा गर्ने गर्छन् । विशेषगरी एकादशीमा गुप्तिगंगा स्थानमा नुहाउने मानिसको भिड लाग्छ । त्यहाँ नुहाउनाले घाउखटिराहरू निको हुने विश्वास स्थानीयको छ । यसरी गुप्तिगंगाको सम्बन्ध वराहक्षेत्रसँग प्रत्यक्ष रूपमा रहेको हुनाले यसको विकास र प्रचारप्रसार गरिनुपर्छ । 

सिद्धाकाली

संखुवासभाको चैनपुर बजारदेखि करिव ३ किलोमिटर पूर्वमा पर्ने सिद्धकाली गाउँमा चैनपुरे कालिका सिद्धकालीको मन्दिर अवस्थित छ । यस स्थानलाई स्वस्थानी व्रतकथामा उल्लेखित सतिदेवीको दाहिने आँखा पतन भएको स्थान चन्द्रपुर मान्ने गरिन्छ । विगतमा भने गोला, गोवा, पल्लो किराँतको चैनपुर र सुखिम चैनपुर आदि नामहरूले परिचित यस स्थानलाई सिद्धपुरसमेत भनिन्थ्यो । सिद्धकाली देवीको स्थान रहेकाले यसलाई सिद्धपुर भनिएको हुन सक्छ । यो स्थान चन्द्रपुरबाट कालान्तरमा चैनपुर नामले प्रख्यात भएको विश्वास गरिन्छ । यता यिनको पूजाआजाले मानिसहरूले सिद्धि पाउने मान्यतामा यिनलाई सिद्धकाली भनिएको हुन सक्छ । सिद्धकालीको स्थापना गोरखाली कमाण्डर आसा खत्रीले गरेको बताइन्छ । उनले सपनामा देखेअनुसार सिद्धकालीलाई भीरबाट ल्याएर हाल मन्दिर रहेको स्थानमा स्थापना गराएका थिए । सुरूमा चित्राले बारेर निर्माण गराएको उक्त मन्दिर बेलाबेलामा जीर्णोद्धार र पुनर्निर्माण गर्दै हाल जस्तापाताले छाना छाएर नेपाली तलेशैलीमा निर्माण गरिएको छ । त्यहाँ सतिदेवीको आँखाको प्रतीकमात्र नभएर सिद्धकालीको प्रतिमा पनि राखिएको छ, जुन धातुका पाता जोडेर निर्माण गरिएको देखिन्छ । पित्तलबाट निर्मित दस हातयुक्त कालीको यो मूर्तिले चैनपुर भेगको स्थानीय कला दर्शाउने गर्छ । त्यहाँ विष्णु, गणेश र शिवका मूर्ति तथा मन्दिर रहेका छन् । त्यहाँको शिवालयलाई प्रकाशेश्वर भनिन्छ भने गणेशलाई सिद्धिगणेशका नामले पूजिन्छ । मन्दिर परिसरमा सवैभन्दा पूर्वतिर विष्णुमन्दिर, त्यसको पश्चिममा सिद्धिगणेश, बीचमा सिद्धकाली र सवैभन्दा पश्चिमतिर प्रकाशेश्वर शिवालय रहेका छन् । प्रकाशेश्वर शिवालयमा भने सादा शिवलिंग राखिएको छ । सिद्धकाली भेगमा दसैंको अवसरमा ठूलो मेला लाग्ने गर्छ । सिद्धकालीले चैनपुरलगायत सम्पूर्ण संखुवासभाको पर्यटन विकासमा टेवा पुग्ने देखिन्छ । 

सभापोखरी

संखुवासभाको हिमाली भागमा पर्ने सभापोखरी सुन्दर हिमाली र पहाडी दृश्यावली हेर्दै पदयात्रा गर्न सकिने पूर्वकै सर्वोत्तम स्थान हो । लुम्बासुुम्बा हिमालको काखमा रहेको यो पोखरी समुद्र सतहबाट ४२४० मिटरको उचाईमा छ । यो पोखरी सभा खोलाको मुहान पनि हो । प्रसिद्ध तिनजुरे, जलजले र मिल्केजस्तो गुराँसको वन क्षेत्रमा रहेको यो स्थान प्राकृतिक रूपमा अति सुन्दर छ । यस भेगमा २८ प्रजातिका गुराँसहरू पाइने गर्छन् भने अनेक प्रकारका जंगली जनावर, किटपतंग, जडिबुटी र वनस्पति पनि पाइने गर्छन् । तसर्थ, यो स्थान प्राकृतिक, सांस्कृतिक र धार्मिक दृष्टिले निकै महत्वपूर्ण छ । अघि वेदव्यासले यस स्थानमा तपस्या गरेको तथा ८८ हजार सन्तहरूलाई ब्रह्मज्ञान दिएको धार्मिक मान्यता राखिन्छ । विशेषगरी जनै पूर्णिमाका अवशरमा यस पोखरी क्षेत्रमा ठूलो मेला लाग्ण्छ र धेरै टाढादेखिका मानिसहरू यस भेगको भ्रमणमा जाने गर्छन् । ऋषि तथा देवताको सभा बसेको स्थानका रूपमा पनि यसलाई सभापोखरी भन्ने गरिएको हो । संखुवासभाको यो क्षेत्र ज्यादै महत्वपूर्ण मानिन्छ । 

गुफापोखरी

संखुवासभाको खाँदवारीदेखि करिब सोह्र कोस उत्तर–पूर्वमा गुफापोखरी पर्छ । यो पोखरी संखुवासभा, तेह्रथुम र ताप्लेजुङको सिमानामा अवस्थित छ । पहाडको टाकुरामा रहेको यो पोखरी धार्मिक एवं पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । यो पोखरी समुद्र सतहदेखि करिब १० हजार फिटको उचाइमा रहेको छ । यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण र मकालु हिमालको दृष्यावलोकन गर्न सकिन्छ भने करिव २८ प्रजातिका गुराँसहरू यसै भेगमा पाइन्छन् । तसर्थ जैविक विविधताका दृष्टिले समेत गुफापोखरी क्षेत्र निकै प्रख्यात छ । किंवदन्तीअनुसार परापूर्वकालमा त्यस पोखरीको छेउमा रहेको गुफामा शिवपार्वती बस्ने र पोखरीमा नुहाउने गर्दा रहेछन् । शिवजीले नुहाएको पोखरीका रूपमा त्यसलाई पवित्र पोखरी मानिएको हो । त्यस्तै गुफाका छेउमा रहेकाले त्यसको नाम गुफापोखरी राखिएको पनि बताइन्छ । गुफापोखरीको पानी सफा र निलो रङको छ । त्यहाँको पानी बेलाबेलामा ठूलो आवाज निकालेर पड्कने गर्छ भन्ने मान्यता राखी स्थानीय मानिस त्यस्तो पड्काईलाई प्राकृतिक बिपत्तिको संकेत मान्छन् । पोखरीमा कसैले फोहरमैला गरेमा आँधीबेहरी आउँछ भन्ने मान्यता रहेकाले गाउँलेहरू त्यसलाई सफा राख्ने गर्छन् । त्यस पोखरीमा नाग–नागिनी बस्ने गरेको स्थानीय बताउँछन् । 

शिवधारा

शिवधारा संखुवासभाको उत्तरी मकालु गाउँपालिकामा पर्छ । वरूण नदीको किनारी भागमा रहेको शिवधारा एउटा छहराबाट गुफामा झर्ने गर्छ । उक्त गुफाभित्र निकै ठूलो क्षेत्रफल छ । त्यसलाई शिवगुफा पनि भनिन्छ । गुफाको माथि गाईको थुनजस्तो स्वरूप देखिन्छ, जसबाट झरेको सेतो पानी तल रहेको प्राकृतिक शिवलिंगमा झर्ने हुनाले यसलाई शिवधारा भनिएको हो । यो धारा करिव ३० मिटर माथिबाट झरेको छ । शिवगुफाको भित्री भागमा भने करिव २०० जना जति मानिसहरू बस्न सक्ने क्षेत्र छ । हिमाली भागमा पर्ने शिवधाराको नजिकै पार्वती गणेशगुफा र गुफा पनि छन् । शिवधारा स्थान निकै सुनसान स्थानमा रहेको हुनाले यस क्षेत्रमा कमै मात्रै मानिस पुग्ने गरेका छन् । शिवधारा वरूण नदीको किनारी भागमा करिव ४६०० मिटरको उचाईमा रहेको छ । 

मनकामना

संखुवासभाको तुम्लिंगटार नजिकै खाँदवारी नगरपालिकामा अरूण नदीको किनारी भागमा पूर्वकी मनकामनाको मन्दिर छ । यिनको उत्पत्तिका बारेमा प्राप्त एक किंवदन्तीअनुसार अघि अरूण नदीमा जाल हानेर माछा मार्दै गरेका एकजना माझीलाई एउटी कन्याले अरूणको बगरमा आएर के भनिछन् भने यहाँ एउटी देवी रहेकी तथा तिनलाई स्थापना गरी पूजाआजा गर्नाले तिनको इच्छा पूरा हुने रहेछ । तर, ती कन्याले भनेको कुरा माझीले पत्याएनछन् । त्यस रात पुनः ती कन्याले ती माझीलाई सपनामा मेरो इच्छा पु¥याइदिन भन्दै त्यसो गरेमा तिनको मनोकामना पूरा हुने बताएकाले ती कन्या देवी नै रहेको कुरा माझीले थाहा पाएछन् । त्यसपछि बिहान उठेर ती माझीले देवीको पूजाआजाको व्यवस्था मिलाएर देवीको स्थापना गरेछन् । त्यसबाट तिनको मनोकामना पूरा भएकाले तिनको नाम मनकामना रहेको हो भन्ने किंवदन्ती पाइन्छ । अरूण किनाराकी मनोकामनाको मन्दिर सामान्य छ । त्यसमा मनकामनाका साथमा अन्य देवीदेवताको पनि भाकल गर्ने र पूजाआजा गर्ने गरिन्छ । 

मार्गापोखरी

मार्गापोखरी तेह्रथुमको वसन्तपुर बजार नजिकै तत्कालीन फुलेक गाविसस्थित डाँडामा जंगलमा पर्छ । धनकुटाको सिंधुवा बजारको समेत नजिकै पर्ने यो स्थान तेह्रथुमको छथर क्षेत्रका मानिसको आस्थाको केन्द्र मानिन्छ । समुद्र सतहदेखि करिव २६०० मिटरको उचाइमा रहेको यो पोखरीलाई साक्षात् देवीका रूपमा लिने गरिएको छ । यी देवीका नाममा स्थानीय मानिसहरू भाकल गरेर इच्छाएको कुरा पूरा गर्ने मान्यता राख्तछन् । यिनलाई खडेरी पर्दा पानी पार्ने, अनिकालमा सहकाल ल्याउने र आपतविपत हटाउने देवीका रूपमा पनि लिने गरिन्छ । यो पोखरी सुन्दर प्राकृतिक स्थलमा रहेको हुनाले पनि यसको विशेष महत्व रहेको छ । कोशी राजमार्गको चित्रे बजारदेखि करिव १५ मिनेटको पैदल यात्रापछि यस पोखरी क्षेत्रमा पुग्न सकिन्छ । यता सिँधुवा शुक्रवारे मार्गको डंगडंगेबाट पनि मार्गापोखरी जाने बाटो रहेको छ । 

सिंहबाहिनी (म्याङ्लुङ)

सिंहको वाहन भएकी देवीको नाम सिंहवाहिनी हो । सिंहवाहिनीनै नाम भएको एउटा देवीको मन्दिर तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजारमा रहेको छ । उक्त मन्दिरमा सिंहमाथि आसिन दुर्गाको मूर्ति राखिएको देखिन्छ । यिनको नाम सिंहबाहिनी राखिनुमा एउटा किंवदन्ती प्रचलित छ, जसअनुसार धेरै पहिले कुनै समयमा एकपटक त्यस स्थानमा भरियाहरू बास बसी खाना पकाउँदै रहेछन् । त्यस अवसरमा एकजना भरियाले लगाएको चुल्होको चम्को या ढुंगा काम्न लागेछ । अति धेरै भोकाएको भरिया यसबाट रिसाएछ र उक्त चम्कोलाई खुकुरीले हान्न पुगेछ । खुकुरीको चोट लागेको चम्कोबाट भने जीवको जस्तैगरी रगत आउन लागेछ र त्यसबाट डराएर उक्त भरिया भागेछ । उक्त घटनापश्चात् एउटा बाघले गाउँलेहरूलाई अति धेरै दुःख दिन लागेछ । किंवदन्तीअनुसार पछि भरियाले काटेको ढुंगालाई पूजापाठ गरेपछि बाघको प्रकोप हटेर गएछ । त्यसपछि त्यसै प्रस्तरलाई सिंहबाहिनी देवीका रूपमा पूजाआजा गर्न लागिएको हो भन्ने जनविश्वास पाइन्छ । 

सिंहबाहिनीको नामकरणसम्बन्धी एउटा अर्को किंवदन्तीअनुसार एकपटक एकजना सुब्बेनीले खोरिया (बुट्यानमात्र भएको पाखो जमिन) फाँड्दै गर्दा बिरालो कराएको आवाज सुनिछन् । उनले बिरालो कराएतिर नै खुर्पाले हान्दा खुर्पा प्रस्तरमा लागेछ र त्यसबाट रगत आउन लागेछ । त्यसपछि उक्त चोट लागेको प्रस्तरलाई देवी नै मानी उनीहरूले पूजा गर्न लागेछन् । त्यही प्रस्तर हालसम्म सिंहबाहिनीका नामले पूजित भएको तथा त्यसै घटनाका आधारमा उक्त स्थानलाई म्याङ्लुङ भन्ने गरिएको जनविश्वास पाइन्छ । उँधौली, उँभौली र बडादसैंका अवसरमा म्यांगलुंगकी यी देवीको धुमधामका साथ पूजाआजा हुने गर्छ । स्थानीय मानिसहरू यिनलाई साक्षात् देवीका रूपमा लिने गर्छन् । हाल आएर भने प्रत्येक दिनजसो त्यहाँ गएर देवीको पूजाआजा गर्ने मानिसहरूको निकै ठूलो जमघट हुने गरेको छ । 

गौखुरी

तेह्रथुमको प्रसिद्ध गौखुरी गुफा म्यांगलुंग बजारदेखि करिव एक घन्टाको पैदल मार्गमा खोरूंगा खोलाको किनारी भागमा पर्दछ । यस स्थानमा एउटा गुफाभित्र गाईको आकृति बनेको छ, जसको थुन आकारको प्रस्तरबाट लगातार रूपमा पानी झर्ने गर्दछ । तेह्रथुमको मोराहांग गाउँमा पर्ने यस स्थानमा विभिन्न अवसरमा मानिस पुग्ने गरेका छन् । विशेषगरी मकर संक्रान्तिका दिन गौखुरीमा निकै ठूलो मेला लाग्ने गरेको छ । 

दूधपोखरी

पूर्वी नेपालस्थित सोलुखुम्बुको खुम्बजुंग क्षेत्रमा १९ वटा हिमाली पोखरीहरू छन्, जसलाई पनि दूध पोखरी भनिएको छ । त्यहाँका पोखरीमा गोक्यो ताल सबैभन्दा ठूलो छ । करिव ४७०० देखि ५००० मिटरको उचाईमा रहेका दुधपोखरीहरू ७७७० हेक्टरमा फैलिएका छन् । यो सिमसार क्षेत्रलाई हाल आएर विश्व रामसार क्षेत्रमा समावेश गरिएको पाइन्छ । गोक्योहरू, तोनाक्चो, ग्याजुम्बा, तंन्जुंचो र नाजुम्बाचो त्यहाँका मुख्य तालहरू हुन् । त्यस्तै त्यहाँको तोेनाक्चो तालको क्षेत्रफल भने ६५.०७ हेक्टर रहेको छ । यी तालबाट दूधकोशी नदी निस्किएको छ । त्यसमा जनै पूर्णिमाका अवसरमा हिन्दूहरू स्नानका लागि पुग्छन् भने लामा बौद्धमार्गीका लागि पनि दूधकुण्ड पवित्र मानिन्छ । 

तेंगबोचे गुम्बा

तेंगबोचे गुम्बा खुम्बू क्षेत्रको तेंगबोचे गाउँमा पर्छ । यस गुम्बाका तीन तहको छाना छन् र यो चार तलाको छ । यसको अग्रभागमा एउटा आकर्षक प्रवेशद्वार बनाइएको देखिन्छ, जसको माथिल्लोे भागमा दुवैतिर मृगहरू बसेका बसेका प्रतिमा निर्मित छन् भने बीचमा धर्मचक्रको आकृति छ । गुम्बाको माथ्लो भागमा पित्तलको आकर्षक गजुर राखिएको देखिन्छ । तेंगबोचे गुम्बाको पृष्ठ भागमा देखिने हिमालको दृश्यावलोकनले यसको सुन्दरतामा अति धेरै अभिवृद्धि गरेको पाइन्छ । दावा छोइलिंग गुम्बाका नामले समेत जानिने यो गुम्बा खुम्बु क्षेत्रको खुम्जुंगस्थित तेंबोचे गाउँमा रहेको छ । यो स्थान समुद्र सतहदेखि ३८६७ मिटरको उचाईमा पर्छ । यसलाई खुम्बु क्षेत्रको सबैभन्दा ठूलो गुम्बा मानिन्छ । 

चण्डीस्थान गुफा

चण्डीस्थान गुफा ओखलढुंगाको पश्चिमी भागमा पर्छ । यो गुफा रागिनी गाउँमा पर्छ । चण्डीदेवीको थानका रूपमा रहेको यो गुफा निकै रहस्यात्मक पनि छ । यस गुफालाई स्थानीय किराँती समुदायले चण्डी देवीको वासस्थान मान्छन् । हिन्दू धर्ममा पनि चण्डीलाई शक्तिका रूपमा पूजाआजा गर्ने चलन छ । यो गुफा करिव ९० मिटर लामो छ भनिन्छ । यस गुफाभित्र तातो हावा चल्छ । यो स्थान धार्मिक महत्वको मात्र नभएर गुफा अध्ययनका लागि पनि महत्वपूर्ण मानिन्छ । यसको विकास गरी प्रचारप्रसार गरिएमा यो स्थान ओखलढुंगा भेगको महत्वपूर्ण पर्यटकीय स्थल बन्न सक्ने देखिन्छ । 

टोलुुगुम्बा

टोलुगुम्बा ओखलढुंगाको जन्तरखानी गाउँमा अवस्थित छ । लामा बौद्धमार्गीसँग सम्बन्धित यो गुम्बा सेर्पाहरूले सञ्चालन गरेका छन् । टोलु गुम्बा सक्यपा सम्प्रदायसँग सम्बन्धित छ र यसमा शाक्यमुनि बुद्धको धातुको आकर्षक प्रतिमा राखिएको छ । कलाकृतिले भरपुर यो गुम्बा पनि ओखलढुंगा भेगको आकर्षणको केन्द्रविन्दु हुने देखिन्छ । 

हलेसी महादेव 

हलेसी महादेव स्थान खोटाङको दिक्तेल बजारदेखि पश्चिमी भागमा पर्छ । त्यहाँको कैलाश नामक थुम्कोमा रहेको शिवलिंग आकृतिको प्राकृतिक प्रस्तरलाई नै हलेसी महादेवका नामले पूजाउपासना गर्ने गरिन्छ । उक्त प्रस्तर एउटा गुफाभित्र छ, जहाँ पुग्न बाहिरबाट चार वटा ढोका बनाइएका छन् । हलेसी महादेवको उत्पत्तिसम्बन्धी एक किंवदन्ती पाइन्छ, जसअनुसार अघि एकपटक भष्मासुरनामक दानवले शिवजीको तपस्या गरी तिनलाई खुसी बनाएछ र वरदान मागेछ । शिवजीको वरदान पाएर उक्त दानव ज्यादै शक्तिशाली बनेको रहेछ । त्यसपछि उसले शिवजीलाई मारेर पार्वतीसँग विवाह गर्ने सोच बनाएछ र शिवजीलाई लखेट्न लागेछ । भष्मासुरबाट त्रसित भएका शिवजी प्राण रक्षाका लागि भाग्दै आएर यसै गुफाभित्र लुकेका थिए भन्ने किंबदन्ती पाइन्छ । 

हलेसी महादेवको उत्पत्तिका सम्बन्धमा अर्को एक किंवदन्तीअनुसार अघि भष्मासुरले शिवजीको तपस्या गरी खुसी तुल्याएछ र शिवजीबाट जसको शिरमा उसले हात राखे पनि उक्त व्यक्ति भष्म हुने वरदान पाएछ । त्यसपछि उसले त्यो वरदान सही भए÷नभएको शिवजीबाट नै परीक्षण गर्ने मनसायले शिवजीको शिरमा हात राख्न खोजेछ । अव आप्mनै वरदानले भष्म हुने त्रासले शिवजी पनि भाग्दै आएर यसै गुफामा लुकेछन् । यता विष्णुले उक्त कुरा थाहा पाएर एक सुन्दर स्त्रीको स्वरूप लिएछन् र शिरमा हात राख्तै तथा घुम्दै नाच्न लागेछन् । यो कुरा देखेर उक्त दानव पनि त्यसैगरी नाच्न लागेछ र उसले आप्mनो हात आप्mनै शिरमा राखी भष्म भएछ । त्यसपछि उक्त गुफामा शिवजीलाई पूजाआजा गर्न लागिएछ । 

हलेसी महादेव गुफाभित्र शिवलिंग, गणेश, विष्णु र अन्य देवीदेवताका स्वरूपहरू बनेका छन् । निरन्तर रूपमा माथिबाट रसाएर चुहिने सेतो रङको पानीलाई हाल भक्तालुहरू कामधेनु गाईको थुनबाट देवी देवताहरूलाई दूध सिंचन भइरहेको विश्वास गर्छन् । उक्त गुफा बागवंशी राई नामक व्यक्तिले शिकार खेल्दै जाँदा पत्ता लगाएको विश्वास गरिन्छ । त्यहाँ रामनवमी, शिवरात्री र बालाचतुर्दशीका दिन ठुल्ठूला मेला लाग्ने गर्छन् । तिनीहरूमध्ये हलेसीमा सबैभन्दा ठूलो मेला लाग्ने अवशर रामनवमी हो, जुन अवसरमा १६ दिनसम्म मेला लाग्ने गर्छ । महाशिवरात्रिका अवसरमा ं स्थानीय मानिस शिवजी र पार्वतीलाई सुम्निमा पारोहाङका रूपमा पूजाआजा गर्छन् । यता बालाचतुर्दशीका दिन भने हलेसीमा सद्बिज छरिन्छ । बेग्लै मन्दिर नभई गुफा मन्दिरका रूपमा रहेको हलेसी महादेव स्थानमा पूजाआजा गर्दा रोगव्याधि निर्मूल हुने, धन र सन्तान प्राप्त हुने, पितृहरू तर्ने तथा मुक्त हुने विश्वास भक्तालुहरूमा रहेको पाइन्छ । यी महादेवको ख्याति दिनहुँजसो बढ्दै गएको छ र टाढा–टाढादेखि मानिसहरू यस स्थानमा पुग्न लागेका छन् । बौद्धमार्गीहरू हलेसी महादेव गुफामा रिम्पोछे (पद्मसम्भव)ले तपस्या गरेको मान्छन् । यसरी हलेसी महादेव स्थान हिन्दू, किराँत र बौद्धमार्गीको पनि आस्थाको केन्द्र मानिन्छ । 

क्रमशः

 

याे पनि

विकासको पखाईमा कोसी प्रस्रवण क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थल

कोशी प्रस्रवण क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थल: पाथीभरादेखि अर्जुनधारासम्म

कोटीहोमदेखि राधाकृष्ण रथजात्रासम्म

धार्मिक तथा पर्यटकीय स्थल: लक्ष्मीनारायणदेखि बूढासुब्बासम्म