७० अंकले घट्यो नेप्से

७० अंकले घट्यो नेप्से

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १२, २०७८

पछिल्लो समय शेयर बजार निरन्तर रूपमा ओरालो लागिरहेको छ । बजार निरन्तर घटेर २ हजार ६०० बिन्दु नजिक पुगेको छ ।

मंगलबारको बजारमा पनि शेयर कारोबार मापक नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० बिन्दुमा झरेको छ । यो अघिल्लो दिनको तुलनामा २.६१ प्रतिशतले घटी हो ।

बजारमा परिसूचक घटे पनि शेयर कारोबार रकममा भने सुधार देखिएको छ । सोमबार ५ अर्ब १५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको बजारमा मंगलबार भने ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

दिनभरको बजारमा १८६ वटा कम्पनीसहित कुल २१८ वटा स्क्रिप्टको कारोबार भएको छ । ७५ हजार ३७४ पटकको कारोबारमा कुल एक करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर खरिदबिक्री भएका छन् ।

कारोबारमा आएका कम्पनीमध्ये कुमारी बैंक ३ शीर्षकमा अग्रस्थानमा रहेको छ । गत आर्थिक वर्षको लाभांश घोषणा भएकै दिन कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकै दिन १८ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

कारोबार रकमको आधारमा मात्र नभई यो बैंक कारोबार संख्या र कारोबार कित्ताको आधारमा पनि शीर्ष स्थानमा रहेको छ । कम्पनीको एकै दिन ६ लाख ११ हजार ४८४ कित्ता शेयर ३ हजार ३८४ पटकमा किनबेच भएको छ ।

मंगलबार यस कम्पनीको शेयर मूल्य २६ रुपैयाँले घटेर प्रतिकित्ता ३०३ रुपैयाँमा झरेको छ । लाभांश घोषणा गरेकै दिन कम्पनीको शेयर मूल्य ७.९० प्रतिशतले घटेको छ । बैंकले गत आवको नाफाबाट शेयरधनीलाई ८.३६ प्रतिशत लाभांश घोषणा गरेको हो ।

सोमबारको तुलनामा मंगलबारको बजारमा १० कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, १७३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने बाँकी ३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

५ वटा कम्पनीको शेयर मूल्य सर्किट लेभलमा घटेको छ । तीमध्ये अधिकांश हाइड्रोपावर समूहका कम्पनी छन् ।