युवा संघले मंचमा बिना अतिथि आसन ग्रहण, खादा, माला, फूल, गुच्छा प्रयोग नगरी ४११ कार्यक्रम गदै

युवा संघले मंचमा बिना अतिथि आसन ग्रहण, खादा, माला, फूल, गुच्छा प्रयोग नगरी ४११ कार्यक्रम गदै

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १२, २०७८

काठमाडौं  ।  नेकपा (एकीकृत समाजवादी)  निकट युवा संघ नेपालले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान चलाउन लागिएकाे जानकारी दिएकाे छ । 

गत ७ र ८ असोजको केन्द्रीय कमिटी बैठकले संगठन विस्तारका लागि दुई महिने अभियान संचालन गर्ने अध्यक्ष नरेश शाहीले जानकारी दिएका छन् । अभियानकै क्रममा एक लाख ५० हजार नयाँ सदस्यता वितरण गर्ने लक्ष्य राखिएकाे जानकारी दिए । 

 उनले दिएकाे जनाकारी  अनुसार ७७ वटै जिल्ला, स्थानीय तह र वडा तहसम्म भेला गरिनेछ भने बैठकले  कमिटीहरू गठन तथा पुनर्गठन र प्रशिक्षण कार्यक्रमहरु संचालन गरिने छ । 

यस्तै, अभियानलाई सफल पार्न ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा ३३० जना र ७७ वटा जिल्लामा ७७ जनाका दरले सात प्रदेशमा सात जनालाई सम्बन्धित कार्यक्षेत्रमा उपस्थित भई अभियानमा परिचालित हुने गरी जिम्मेवारी प्रदान गर्ने तथा सम्बन्धित कार्यक्षेत्रमा पठाउने निर्णय गरिएको उनले जानकारी दिए ।

अध्यक्ष शाहीले युवा संघका अब हुने कार्यक्रममा खादा, माला, फूल, गुच्छा प्रयोग नगर्ने निर्णय गरेको पनि बताए । युवा संघले अबदेखि हरेक कार्यक्रम तोकिएको समयमा हुने, कार्यक्रमको मञ्चमा अध्यक्षबाहेक अरू नरहने, अध्यक्षको अध्यक्षताबाट नै कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।  

बैठकले विधानको मस्यौदा पारित पनि गरेको छ । नयाँ प्रस्तावित विधानमा नेपाली राजनीतिमा युवा उपस्थितिको संख्या बढाउन र नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्न तथा संघका सबै कमिटीहरूमा कम्तीमा एक चौथाइ २५ वर्षभन्दा कम उमेर समूहका युवालाई संगठित गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले युवाहरूलाई समाजप्रतिको दायित्व र कर्तव्यबोध गराउनका लागि ‘महिनाको दुई दिन, दुई घण्टा मेरो, राष्ट्रको लागि’ भन्ने अभियानसमेत संचालन गर्न लागेको महासचिव दीपक जीएमले जानकारी दिए ।