दशैं विशेष सुरक्षा योजना : उपत्यकामा ८ हजार प्रहरी परिचालन, जुवातास र मापसेमा विशेष निगरानीमा

दशैं विशेष सुरक्षा योजना : उपत्यकामा ८ हजार प्रहरी परिचालन, जुवातास र मापसेमा विशेष निगरानीमा

न्युज कारखाना  |  समाचार  |  आश्विन १३, २०७८

काठमाडौं ।  काठमाडौं उपत्यकामा चाडपर्व विशेष सुरक्षा योजना लागू भएको छ । १० असोजदेखि लागू भएको सुरक्षा योजनामा यसपालि सुरक्षा निकायले जुवातास र मादक पदार्थ सेवनलाई विशेष प्राथमिकता दिएको छ ।

महानगरी प्रहरी कार्यालय (मेट्रो)रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा चाडपर्व विशेष सुरक्षा योजना लागू भइसकेको जनाएको छ । 

मेट्रोका प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले विशेष सुरक्षा योजनाअन्तर्गत मातहत निकाय परिचालित भइसकेको बताए । उनका अनुसार परिसरहरुले मेट्रोको निर्देशनअनुसार सुरक्षा योजना बनाएर लागू गरेका हुन् । 

उपत्यकामा चाडपर्व केन्द्रीत सुरक्षाका लागि सादा, बर्दिधारी र ट्राफिक गरेर झण्डै ८ हजार सुरक्षाकर्मी परिचालनगरिएको डीआईजी सुवेदीले जानकारी दिए । 

जुवातास र मापसे प्राथमिकतामा

यसपालि दशैंतिहारमा प्रहरीले जुवातास र मादक पदार्थ सेवक रोकथाम तथा नियन्त्रण प्राथमिकतामा राखेको छ । साथसाथै सर्वसाधारण ठगिन नदिन पनि निगरानी बढाएको छ । यसमा ठूलो जनशक्ति खटाइएको छ । 

चाडपर्वको बेला आर्थिक कारोबार धेरै हुन्छ । बैंक वित्तीय संस्था, ठूल्ठूलो मलहरु, सुनचाँदी पसल, दशैंतिहार लक्षित विभिन्न लक्षित सवारीहरु, फर्निचर लगायत अन्य उपभोग्य सामग्रीहरु पनि छुटका अफरहरु प्रशस्त मात्रामा हुन्छ । आपराधिक मानसिकता बोकेका मानिसले लुटपाट र ठगी गर्न सक्ने हुनाले सूचना संकलन सादा पोशाकमा प्रशस्त प्रहरी खटाउने र त्यस्ता भीडभाड हुने ठाउँमा बर्दिधारी प्रहरी पनि राखेर रोकथाम गर्ने व्यवस्था मिलाइएको सुवेदी बताउँछन् ।  उनका अनुसार समुदाय प्रहरी साझेदारीअन्तर्गत स्थानीय सरकार, समुदाय, क्लबसँग मिलेर सचेतनातर्फ पनि जोड दिइएको छ ।

फेस्टी मुडमा मादक पदार्थ सेवक गर्ने, जुवातास खेल्ने गरिन्छ । मापसे गरेर सवारी साधन चलाउँदा दुर्घटना हुनसक्ने अथवा झैझगडा हुनसक्ने भएको हुनाले विशेष सुरक्षाअन्तर्गत यस्ता घटना हुन नदिन ट्राफिक चेकप्वाइन्ट अरु समयभन्दा बढाउने, मापसे चेकिङ गरेर निरुत्साहित गर्ने व्यवस्था मिलाइएको छ । अर्कोतर्फ झैझगडा नहोस् भनेर व्यापक गस्ती र पट्रोलिङ गर्ने व्यवस्था मिलाइएको छ । 

‘जुवातास पनि आर्थिक अपराध हो नै,यसले आपराधिक घटना पनि निम्त्याउँछ । जुवामा हारेको वा जितेको सुरमा मान्छेहरुबीच विवाद, झैझगडा हुने र कतिपय अवस्थामा मान्छेको ज्यान नै जोखिम पर्ने गरेको छ,’ डीआईजी सुवेदी भन्छन्,‘यसलाई रोक्न पहिलो त सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ । अर्कोतिर जुवा खेलिरहेका छन् भन्ने सूचना संकलनका लागि कहाँ खेल्दैछन्, को को खेल्दैछन् भनेर सादा पोशाक परिचालन र त्यस्तो ठाउँमा रेड गरेर कानुनको दायरामा ल्याउने गरिएको छ । त्यसको लागि पनि व्यापक रुपमा प्रहरी परिचालन गरेका छौं ।’

चाडपर्व नजिकिँदै गर्दा काठमाडौंमा बसोबास गर्ने ठूलो जनसंख्या उपत्यका बाहिर जान्छ । विशेष सुरक्षा योजनाअन्तर्गत यात्रु ठगिनबाट जोगाउन विभिन्न ठाउँमा ट्राफिक र जनपदसहित हेल्प डेस्क राखिएको छ । जसले यात्रुलाई सचेत गराउँछ । साथै टिकट बुकिङ हुने ठाउँमा हुनसक्ने अनियमितता रोक्न सादा पोशाकको प्रहरी परिचालन र लाइन व्यवस्थित गर्न बर्दिधारी प्रहरी पनि खटाइएको छ । ठाउँठाउँ छड्के जाँचको व्यवस्था गरिएको छ । छतमा यात्रु राख्न नदिन, मापसे गरेर भाडाका सवारी नचलाउन भनेर हाइवेमा, उपत्यका बाहिरिने नाकाहरु थानकोट, फर्पिङ, साँगालगायतमा चेकप्वाइन्टको व्यवस्था मिलाइएको छ । ‘एकातिर बुकिङ्गदेखि नै नठगियोस् र अर्कोतिर सुरक्षित यात्रा होस् भनेर मिलाएका छौं,’ सुवेदी भन्छन् । 

त्यसैगरी सुरक्षा निकायले घर डेरा छाडेर हजारौं मानिस काठमाडौं बाहिर जाने भएकाले त्यो क्षेत्रमा लुटपाट नहोस् भनेर सुरक्षा व्यवस्था मिलाएको छ । 

चाडपर्वको अवसरमा शुभकामना आदानप्रदानदेखि खेलकुद प्रतियोगिता, मठमन्दिर मेलासम्म विभिन्न कार्यक्रमहरु हुने गरेका छन् । कोभिड प्रोटोकल पालना गरेर गर्न प्रहरीको अनुरोध गरेको छ । भक्तजनको सुरक्षाका लागि पनि विहान सबेरैदेखि सादा र बर्दिधारी प्रहरी परिचालन पनि गरेको छ । चोरी लुटपाटको घटनामा सचेत हुन र त्यस्तो आशंका लागेमा सूचना दिन पनि प्रहरीले आह्वान गरेको छ । सूचना पाएलगत्तै तत्काल रेस्पोन्स गर्न क्युआरटीहरु, रिजर्भ टोलीहरुस्टाण्डबाई राखिएको छ ।

‘अरु सबै क्रमश छुट्टिमा गए पनि प्रहरी अनड्युटी बस्छ । प्रहरीले सर्वसाधारणलाई सुरक्षित राख्न सक्यो र चाडपर्व मनाउन सक्ने राम्रो वातावरण सिर्जना गर्न सक्ने भयो भने नै आफूले चाडपर्व मनाएजस्तो महसुस हुन्छ,’ उपत्यका सुरक्षा हेर्ने डीआईजी सुवेदी भन्छन् ।