बेवारिसे मानसिक रोगीको उपचार खर्च राज्यले व्यहोर्ने

बेवारिसे मानसिक रोगीको उपचार खर्च राज्यले व्यहोर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २६, २०७६

काठमाडाैं । बेवारिसे र असहाय मानसिक रोगीको उपचार खर्च अब राज्यले नै व्यहोर्ने भएको छ । सरकारले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई आर्थिक वर्षको बजेटभित्रै रहेर कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो । बिरामीले उपचारको प्रतिदिन ६ सयसम्म र औषधिको मासिक चार हजारसम्म खर्च पाउनेछन् । उपचार व्यवस्था सीधै अस्पतालले गरेको भए दैनिक अस्पताललाई ६ सय र पुनस्र्थापना केन्द्रमार्फत भएको भए दनिक पाँच सय दिने व्यवस्था गरिएको छ ।

औषधिको रकम भने उपचारमा संलग्न मनोचिकित्सकको प्रेस्क्रिप्सनअनुसार वा गैरसरकारी, निजी अस्पताल, पुनस्र्थापना गृह सञ्चालन गर्ने सामाजिक संस्था तथा निजी संस्था रहेको स्थानीय तहबाट प्रमाणित औषधिको बिलका आधारमा मात्रै प्राप्त हुनेछ । 

अशक्त, असहाय र बेवारिसे मानसिक रोग वा मनोसामाजिक समस्या भएकाहरूको उपचार तथा पुनस्र्थापना कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ सरकारबाट स्वीकृत भएसँगै प्रक्रिया अघि बढेको हो । विपन्न नागरिक औषधि उपचार कोषका वरिष्ठ स्वास्थ्य प्रशासक माधव लम्सालका अनुसार सरकारले सो कार्यविधि १६ वैशाखमा स्वीकृत गरेको हो । मानसिक तथा मनोसामाजिक समस्या भएका बिरामीको तथ्यांक संकलन गरेपछि सहयोग रकम वितरण हुनेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।