अब राजमार्ग बन्द भएकाे १० मिनेटमै सडक खुलाइने

अब राजमार्ग बन्द भएकाे १० मिनेटमै सडक खुलाइने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २६, २०७६

काठमाडाैं । कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ । विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र प्रशासनलाई सहज रूपमा काम गर्न गृह मन्त्रालयले नयाँ कार्यविधि लागू गरेको हो । कार्यविधिअनुसार राजमार्गमा २०–२० किलोमिटरको दूरीमा सशस्त्र प्रहरीका सुरक्षा पोस्ट रहनेछन् । सशस्त्रले ठूला राजमार्गमा हुने दुर्घटनालक्षित आठवटा ठूला एम्बुलेन्ससमेत खरिद गरेको छ । त्यस्ता एम्बुलेन्सले एकैपटक १०–१२ जनासम्म बिरामी बोक्न सक्छन् । ठूला एम्बुलेन्ससहित अब टोली राजमार्गमा खटिने सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए । अहिले उद्धारका लागि सशस्त्र प्रहरीसँग १७ वटा एम्बुलेन्स छन् । 

‘राजमार्ग (सडक)मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि’ चैतदेखि कार्यान्वयनमा आएको हो । जसमा राजमार्गलाई सुरक्षित बनाउनेदेखि दुर्घटनापछि शीघ्र रूपमा उद्धार गर्ने उद्देश्य राखिएको छ । बन्द–हडताल तथा प्राकृतिक विपत्का कारण सडक बन्द भए पनि तत्काल सबै निकायसँग समन्वय गरी खुलाइने कार्यविधिमा जिम्मेवारी तोकिएको छ । कार्यविधि कार्यान्वयनका लागि सबै निकायमा पठाइएको गृह मन्त्रालयले जनाएको छ । 

राजमार्ग सुरक्षा तथा उद्धारको मुख्य जिम्मेवारी सशस्त्र प्रहरी बलले पाएको छ । सशस्त्र ०६९ देखि नै राजमार्गको सुरक्षामा खटिँदै आएको छ । हरेक गण तथा गुल्मले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा इमिडियट रेसपन्ड टिम (आइआरटी) खटाउँदै आएको छ । नयाँ कार्यविधि बनेपछि त्यसलाई थप सशक्त बनाउन लागिएको प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।