फेडेरेशन इन्टरनेशनल डे अटोमोबाइल : एशिया प्याशिफिकको कोषाध्यक्षमा नासा नेपाल निर्वाचित

फेडेरेशन इन्टरनेशनल डे अटोमोबाइल : एशिया प्याशिफिकको कोषाध्यक्षमा नासा नेपाल निर्वाचित

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १४, २०७८

काठमाडौँ । फेडेरेशन इन्टरनेशनल डे अटोमोबाइल (एफआईए) को रिजन-२ (एशिया प्याशिफिक) कार्यकारी समितिमा नासा नेपाल निर्वाचित भएको छ । २०७८ साल असाेज १३ गते भर्चुएल विधि जुम मार्फत भएको निर्वाचनमा एए भियतनामका ग्रेग क्राफ्ट अध्यक्ष तथा तीन उपाध्यक्षहरुमा फेडेरेशन अफ इण्डियन अटोमोबाइल एसोसिएसन्स (एफआइए), अटोमोबाइल्स् एसोसिएसन अफ सिँगापुर तथा इकितान मोटर इन्डोनेशिया विजयी भए । 

त्यसैगरी, सचिवमा अष्ट्रेलियन अटोमोबाइल एसोसिएसन तथा कोषाध्यक्षमा नेपाल अटोमोबाइल्स् एसोसिएसन (नासा नेपाल) निर्वाचित भएको हो । संसारकै ठूलो माेटर सम्बन्धी संगठन एफ.आई.ए. को मोबिलिटि र स्पोर्टस गरी दुई क्षेत्र रहेका छन् भने रिजन-२ मा न्यूजिल्याण्डदेखि मध्य एसिया सम्मका २५ राष्ट्रिय संघहरु आवद्ध रहेका  छन् ।

नासा नेपालका महासचिव  सुशिल तण्डुकारका अनुसार फेडेरेशन इन्टरनेशनल डे अटोमोबाइल (एफआईए) को विधान अनुसार एउटा देशमा स्पोर्टस र अटोमोबाइल मोविलिटि एण्ड टुरिजम गरी दुई वा दुईभन्दा ज्यादा सदस्य संघ बन्न सक्नेछन् भने नेपालमा नासा नेपाल दुवै क्षेत्रको सदस्य संघ हो । नासा नेपालको तर्फबाट सो निर्वाचनमा सहभागी भएका पूर्व महासचिव गोविन्द भट्टराईले सो समितिमा प्रतिनिधित्व गर्नुहुनेछ । 

यस विजयले एक दशक अघि शुरु भएको नेपाली संगठनको अन्तर्राष्ट्रिय यात्रा महादेशिय नेतृत्व तहमा पुगेको समेत नासा नेपालले जनाएकाे  छ ।