देउवाको आक्रोश : राष्ट्रपति महारानी बनिन्, सभामुख इतिहासकै काँतर

देउवाको आक्रोश : राष्ट्रपति महारानी बनिन्, सभामुख इतिहासकै काँतर

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २६, २०७६

काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख कृष्णबहादुर महराले पदीय दायित्व बिर्सिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । पार्टीको राष्ट्रिय जागरणअन्तर्गत काठमाडौं जिल्लाको अभियान उद्घाटन गर्दै बुधबार देउवाले सरकारको कार्यशैली तानाशाही भएको र प्रधानमन्त्री केपी ओलीको अमर्यादित अभिव्यक्तिलाई संसद्मा सभामुखले छुट दिएको आरोप लगाए । उनले राष्ट्रपति भण्डारी महारानी बन्न खोजेको बताए । 

सरकारले कर्मचारी प्रशासनदेखि न्यायालयसम्मै हस्तक्षेप गरेको देउवाले बताए । हस्तक्षेप नरोकिए कांग्रेस आन्दोलनमा जाने उनको चेतावनी छ । ‘अब कम्युनिस्टबाट मुक्तिका लागि आन्दोलन गर्नुपर्ने दिन आउन सक्छ । कांग्रेसको जागरण अभियान यसैका लागि हो,’ देउवाले भने । जागरण अभियान कांग्रेसका लागि अवसर र चुनौती दुवै भएको भन्दै देउवाले अभियानलाई प्रभावकारी बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिए । 

सभापति देउवाले केन्द्रीय सदस्य तयार भए तल्लो तहबाट चुनिएपछि मात्रै महाधिवेशन प्रतिनिधि बनाउन आफू तयार रहेको सुनाए । ‘जिल्ला सभापतिहरूको चासो केन्द्रीय सदस्य पनि निर्वाचित भएपछि मात्रै महाधिवेशन प्रतिनिधि बन्नुपर्छ भन्नेमा देखिएको छ,’ देउवाले भने, ‘तर, मैले केन्द्रीय सदस्यले माने मात्रै सहमति गराउँछु भनेको थिएँ । तर, उनीहरूले मानेनन् । सबै केन्द्रीय सदस्य तयार हुन्छन् भने भोलि नै चेन्ज गराउन तयार छु ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।