एमालेले प्रथम विधान महाधिवेशनको प्रचारका लागि वाल पेन्टिङ र पोस्टरिङ नगर्ने

एमालेले प्रथम विधान महाधिवेशनको प्रचारका लागि वाल पेन्टिङ र पोस्टरिङ नगर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १४, २०७८

नेकपा एमालेले आफ्नो प्रथम महाधिवेशनको प्रचारका लागि भित्ते चित्र (वाल पेन्टिङ) नगर्ने भएको छ । राजनीतिक दलहरूले आफ्नो सभा, सम्मेलनमा भित्ते चित्र बनाएर शहरका भित्ताहरू रंग्याउने गरेका बेला एमालेले १५-१७ असोजमा आयोजना हुने विधान महाधिवेशनको प्रचारमा वाल पेन्टिङ र वाल पोस्टरिङ नगर्ने जनाएको हो ।

महाधिवेशन मूल व्यवस्थापन समितिले विज्ञप्ति जारी गरेर महाधिवेशनको प्रचारका लागि वाल पेन्टिङ, वाल पोस्टरिङलाई पूर्णतः बन्द गरिएको जानकारी दिएको छ ।

समितिले प्रचार प्रसारको निम्ति मूलतः मिडियाको सहयोग लिइएको र साथै काठमाडौं महानगरपालिकाअन्तर्गत सडकका पोलहरूमा रहेका बोर्डमा पोस्टर राखिएको जनाएको छ । काठमाडौंका दरबारमार्ग, तीनकुने, चाबहिल, चुच्चेपाटी, हात्तीसार कमलादी, थापाथलीलगायतका स्थानमा डिजिटल बोर्डको माध्यमबाट प्रचार प्रसारको प्रबन्ध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंमा स्थानीय तहले नै वाल पेन्टिङ गर्न प्रतिबन्ध गरेका छन् ।