तेस्रो मोटरसाइक्लिङ्ग सम्मेलन : दुई दर्जन दुई पाङ्ग्रे यात्राका गन्तव्य सार्वजनिक गरिँदै

तेस्रो मोटरसाइक्लिङ्ग सम्मेलन : दुई दर्जन दुई पाङ्ग्रे यात्राका गन्तव्य सार्वजनिक गरिँदै

लोकसंवाद संवाददाता  |  पर्यटन  |  आश्विन १५, २०७८

काठमाडौँ । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा)को आयोजनामा यही असोज १५ र १६ गते तेस्रो मोटरसाइक्लिङ्ग सम्मेलन काठमाडौँमा हुन गइरहेको जनाकारी नासाले दिएको  छ । 

नासाका  महासचिव  सुशील तनडुकार  अनुसार  'सुरक्षित, स्थायित्व सहितको दुई पाङ्ग्रे यात्रा' विषयक सम्मेलनमा माउन्टेन स्पोर्ट्स फेडेरेसनको संयोजन तथा फेडेरेसन इन्टरनेसनल डे मोटरसाइक्लिज्म (एफआईएम ) र नेपाल पर्यटन बोर्डको सहयोग तथा प्रमोसन रहने छ । कार्यक्रममा सुरक्षा लुब्रिकेंट को मुख्य प्रायोजन हुनेछ ।  

नेपालमा मोटरसाइकल र स्कुटरको सङ्ख्या ३० लाख भन्दा ज्यादा रहेको, तिनको सुरक्षा र त्यसबाट हुने फाइदाको बारेमा एकीकृत धारणा बन्न नसकेको अवस्थामा सम्मेलनमा वृहत् छलफल   गरिनेछ । 

महासचिव  सुशील तनडुकारका अनुसार सम्मेलनमा मूलत  मोटरसाइकल सुरक्षा, मोटर साइकल मार्फत पर्यटन प्रवर्धन, क्षेत्रीय इभेन्ट मार्फत दुई पाङ्ग्रे यात्रा, महिला सशक्तीकरणको लागि मोटरसाइकल , पर्यटन बोर्ड र साहसिक पर्यटनमा सहकारी, दुई पाङ्ग्रे यात्राका प्रस्तावित गन्तव्यहरू,  टुरिङ्ग मर्शलिङ्ग र लाइसेन्सिङ्ग व्यवस्था, हेलमेट टेस्टिङ्ग र गुणस्तरीय हेलमेट,  एफआईएम , नासा नेपाल र डब्लुआईएमए नेपाल  मोटरसाइकल स्पोर्ट्स र नेपाल जस्ता विषयमा सम्मेलनमा  छलफल गरिनेछ ।  

सन् २०१७ मा पहिलो पटक सुरु गरिएको मोटरसाइकल कन्फ्रेन्सको यो तेस्रो संस्करण हो, जसको दोस्रो संस्करण २ वर्ष अगाडी सम्पन्न भइसकेको छ । 

सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा माउन्टेन स्पोर्ट्स फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराई , नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐर, ट्याक्स एन जी ओ नयाँ दिल्ली की रजनी गान्धी, पुत्रा युनिभर्सिटी मलेसियाका डा. कुलान्थान मणि, एफआईएमका डाइरेक्टर डामिआनो जमानाले आ–आफ्नो पेपर प्रस्तुत गर्नुहुनेछ ।

 त्यसैगरी, नेपाल पर्यटन बोर्डका सदस्य न्वाङ्ग निमा शेर्पा, नासा नेपालका महासचिव सुशील तुण्डकार, सचिव सन्तोष न्यौपाने , प्रमोद श्रेष्ठ गुफी तथा विनोद तन्डुकार र बिमा नेपालको समेत प्रस्तुति रहनेछ ।  
दुई पाङ्ग्रे यात्राका टुरिङ्गका व्यावसायिक र गाइड, पर्यटन व्यावसायिक, राइडर तथा विभिन्न ट्राभल एजेन्सीका सञ्चालकहरू तथा नासा नेपालका सदस्यहरू सहभागी हुने सो सम्मेलनले नेपालको दुई पाङ्ग्रे यात्राका र एड्भेन्चर स्पोर्ट्समा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

सम्मेलनको पहिलो सत्रमा नेपालमै पहिलो पटक टुरिङ्ग मार्सलको तालिम दिइने छ र आगामी दिनमा पर्यटन बोर्डको सहयोगमा परिचालन गरिनेछ । कार्यक्रमको अन्तमा नेपालका दुई दर्जन दुई पाङ्ग्रे यात्राका गन्तव्य सार्वजनिक गरिन लागेको पनि महासचिव  तनडुकारले  जानकारी दिनु भएको छ ।