ऐन, नियमावली बने, कार्यान्वयन जेष्ठ नागरिकका लागि आकाशकाे फल

ऐन, नियमावली बने, कार्यान्वयन जेष्ठ नागरिकका लागि आकाशकाे फल

न्युज कारखाना  |  समाज  |  आश्विन १५, २०७८

काठमाडौं । आज १ अक्टोबर अर्थात् अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । ज्येष्ठ नागरिकहरूको सम्मान र अधिकारमा पुहँच पुर्‍यायाउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष १ अक्टोबरका दिन विश्वभर यो दिवस मनाइँदै आइएको छ । सन् १९८८ मा पहिलो पटक तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले जेष्ठ नागरिक दिवसको प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसै वर्षको २१ अगस्टका दिन रेगनले औपचारिक रूपमा राष्ट्रिय जेष्ठ नागरिक दिवससमेत मनाएका थिए । 

यसको दुई वर्षपछि मात्र अर्थात् सन् १९९१ मा संयुक्त राष्ट्रसंघले जेष्ठ नागरिक दिवसलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरेको थियो । संयुक्त राष्ट्रको तथ्यांकअनुसार विश्वमा हाल करिब ७० करोड ज्येष्ठ नागरिक रहेका छन् । 

नेपालमा जेष्ठ नागरिकको अवस्था

नेपालमा हाल २५ लाखभन्दा बढी जेष्ठ नागरिक रहेको अनुमान गरिएको छ । नेपालको संविधान, २०७२ को धारा (४१)मा ‘जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी उल्लेख गरिएको छ ।

यसैगरी ज्येष्ठ नागरिकका हक, हितको सुनिश्चितताका लागि विभिन्न कार्यक्रम तर्जुमा गर्न सहज बनाउने उद्देश्यले पछिल्लो समय ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी नियमावली, २०६४’ पनि जारी गरिएको छ ।

नेपालको सन्दर्भमा भन्ने हो भने जेष्ठ नागरिकलाई राज्यबाट प्रदान गरिने सेवा, सुविधा अत्यन्तै न्यून रहेको छ । यद्यपि, आर्थिक वर्ष २०५२/०५३ देखि ज्येष्ठ नागरिकका लागि सुरु गरिएकोे वृद्धभत्ता कार्यक्रम भने सबैभन्दा लोकप्रिय कार्यक्रमको रूपमा स्थापित भएको छ । 

सरकारले समय समयमा ज्येष्ठ नागरिकका लागि विभिन्न योजना ल्याए पनि ती योजना तथा कार्यक्रमहरू ज्येष्ठ नागरिकमैत्री नहुँदा त्यसै थन्किएर बसेका छन् ।

आज विभिन्न कार्यक्रमको आयोजना गर्दै नेपालमा पनि अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइँदै छ । देशका विभिन्न पालिकाहरूले यसै दिवसको सन्दर्भमा आफ्ना जेष्ठ नागरिकको सम्मान, पौष्टिक आहार वितरण तथा जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गर्नेजस्ता कार्यक्रम गर्दै छन् ।