सर्वसाधारणका लागि न्यादीको आईपीओ निश्कासन

सर्वसाधारणका लागि न्यादीको आईपीओ निश्कासन

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन १५, २०७८

लमजुङको मर्स्याङ्दी गाउँपालिका- ६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाले सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पाएपछि १५ असोजदेखि बिक्री हुनेगरी आईपीओ निश्कासन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २२ करोड ५० लाख रुपैयाा बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निश्कासन गरेको हो ।

कम्पनीले निश्कासन गर्ने साधारण शेयरमध्ये ५ प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । निश्कासन गरेका शेयरमा सर्वसाधारणले यही १९ असोजसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आफ्नो जारी पुँजी एक अर्ब ५० करोड रुपैयाँको प्रतिशेयर १०० रुपैयाँ अंकित दरले हुने एक करोड ५० लाख कित्ता शेयरमध्ये १५ प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सार्वजनिक निश्कासनका निमित्त छुट्याएको थियो ।

आयोजना प्रभावित क्षेत्र लमजुङका बासिन्दाका लागि छुट्याइएको १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता शेयर र संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि छुट्याइएको ३ लाख कित्ता शेयर गरी १८ लाख कित्ता शेयर गत १ भदौदेखि निश्कासन खुला गरी बाँडफाँटसमेत भइसकेको छ ।

कम्पनीको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।