‘प्यारालाल युनिभर्स’को धारणा र ‘मल्टी युनिभर्स’को कल्पनामा मेरो परिचय

‘प्यारालाल युनिभर्स’को धारणा र ‘मल्टी युनिभर्स’को कल्पनामा मेरो परिचय

ज्ञानमित्र  |  दृष्टिकोण  |  आश्विन १५, २०७८

हिजो साँझ एक जना फेसबुक मित्र ध्रुव भट्टले सोध्नुभयो, ‘तपाईंको असली नाम त ज्ञानमित्र होइन होला, यो त उपनाम जस्तो लाग्यो ।’

यसभन्दा अघि उहाँले बस्ने ठेगाना, मोबाइल नम्बरलगायतका अन्य अन्य कुरा सोध्नुभयो ।

थुप्रै मित्रहरूले परिचय विषयक भिन्नभिन्न तवरले जिज्ञासा व्यक्त गरिरहनुहुन्छ ।

सम्झना आउँछ सम्पादक जीवेन्द्र सिंखडाको । उहाँसँग पहिलो परिचय २०५९ सालतिर भएको थियो । पहिलो भेटमा उहाँले ‘कविजी’ भनेर सम्बोधन गर्नुभएको थियो । कवितागिरी छाडेको झण्डै १६-१७ वर्ष भइसक्यो, उहाँले भने त्यो सम्बोधन गर्न छाड्नुभएन । 

मलाई विज्ञान लेखक बनाउनमा उहाँको भूमिकालाई नजरअन्दाज गर्न सक्दिनँ । रातोपाटीमा सम्पादक हुनासाथ उहाँले विज्ञान स्तम्भकार बनाउनुभयो तर ‘कविजी’ सम्बोधन भने यथावत् नै रह्यो ।

मलाई यो परिचय भन्ने कुरा आइन्स्टाइनको सापेक्षतावाद जस्तै सापेक्ष लाग्छ । जस्तो कि म संन्यासी ज्ञानमित्र, परिवारले २४ जुन १९६६ मा जन्मिँदा राखेको नाम अच्युतम भट्टराई । शिक्षा जम्मा आईएस्सीसम्म । नागरिकता प्रमाणपत्र नम्बर को.मो. १०६, नागरिकता विराटनगर मोरङबाट । 

बसाइँसराइले काठमाडौं महानगरपालिकाको वडा नं.- ३४  खरीबोटको मतदाता, मतदान केन्द्र ईपीएस स्कुल । बसाइको निश्चित ठेगान नभएको  । काठमाडौं हुँदा बस्ने स्थान टौदह, कीर्तिपुर नगरपालिका  । नेपाल टेलिकमको मोबाइल नम्बर ..... तथा divinitycallsyou@gmail.com मेरा सम्पर्क माध्यम हुन् ।

काठमाडौं वरिपरिका स्थानमा टौदह कीर्तिपुर भनेर काम चल्छ तर नेपालकै अन्य स्थानका साथीहरूलाई भन्नुपर्दा काठमाडौं भन्नुपर्ने हुन्छ । टौदह कीर्तिपुरले काम चल्दैन ।

देशबाहिर हुँदा काठमाडौं नेपाल भन्नुपर्ने हुन्छ ।

भट्टजी, यो हो मेरो पूरा परिचय, यो सिंगो ब्रह्माण्ड एउटा ‘युनिट’ हो । होलान् अरू पनि ब्रह्माण्ड होलान् । ‘प्यारालाल युनिभर्स’को धारणा फगत धर्मको गफ होइन । सन् १८९५ मा अमेरिकी दार्शनिक एवं मनोविद् विलियम जेम्सले ‘मल्टी युनिभर्स’को परिकल्पना गरेका थिए ।

म नेपाली नागरिक, नेपाल विश्वमा क्षेत्रफलका हिसाबले ९३औँ स्थानमा पर्छ । भारत र चीन (तिब्बत)को बीचमा अवस्थित छ नेपाल  । बुद्ध पनि म जस्तै नेपालमै जन्मिएका थिए । पृथ्वीको सबैभन्दा अग्लो संरचना सगरमाथा नेपालमा पर्छ । दक्षिण एसियामा पर्ने कुल क्षेत्रफल एक लाख ४७ हजार १८१ वर्गकिलोमिटरको भूभाग नेपाल हो । 

यसको उत्तरी छिमेकीसँग एक हजार २३६ किलोमिटर तथा दक्षिणी छिमेकीसँग एक हजार ६९० किलोमिटर लामो सीमारेखा छ । देश नै लामो र सबैभन्दा अग्लो भएकाले नेपालीले जीवनका अरू क्षेत्रमा लामो र अग्लो हुने चेष्टा गरी राख्नुपर्दैन !

दक्षिण एसियामा नेपालबाहेक भिन्नभिन्न भूभागका ७ वटा अरू देश छन् । अरू कुनै गर्व गर्ने उपलब्धि दक्षिण एसियाली देशहरूसँग नभए पनि यो क्षेत्र जनसंख्यामा अगाडि छ । १.९४  अर्ब जनसंख्या छ, नेपाल अवस्थित दक्षिण एसिया क्षेत्रको ।

‘वेस्ट एसिया’, ‘सेन्ट्रल एसिया’, ‘इस्ट एसिया’, ‘साउथ-इस्ट एसिया’ सबै जोडेर एसिया महादेश बन्न पुग्छ । म बसेको ‘एसिया कन्टिनेन्ट’ नै सबैभन्दा ठूलो ‘कन्टिनेन्ट’ हो । विभिन्न ४८ वटा देश छन् यहाँ । अधिकांश पीर, पैगम्बर, मसिहा, म्यासेन्जर, ईश्वरपुत्र, अवतार यहीँ जन्मेका छन् । एसिया जस्तै अरू ६ वटा ‘कन्टिनेन्ट’ अफ्रिका, नर्थ अमेरिका, साउथ अमेरिका, युरोप, अस्ट्रेलिया एवं अन्टार्कटिका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार यी सबै ‘कन्टिनेन्टमा’ १९३ वटा देश छन् । होली सी, स्टेट अफ प्यालेस्टाइन, ताइवान, कुक आइसल्यान्ड, नियु र अन्य कतिपय स्वतन्त्र भूभाग संयुक्त राष्ट्रसंघको परिभाषामा देश होइनन् । यी सबै कन्टिनेन्ट मिलेर बनेको कुल भूभागभन्दा झन्डै अढाइ गुणा पानीको साम्राज्य छ, भूभाग २९ प्रतिशत, पानीको भाग ७१ प्रतिशत । भूभाग र पानीको भाग मिलेर बनेको गोलालाई पृथ्वी नाम राखिएको छ, विज्ञानले यसलाई ग्रह भन्छ, यही ग्रहमा मेरो गृहवास छ ।

५ सेप्टेम्बर १९७७ मा ‘भायेजर’ यान पठाउने बेलामा पृथ्वीको परिचय यसरी लेखेर पठाइएको थियो-

यस अखिल ब्रह्माण्डको ‘मिल्की वे’ नामक आकाशगंगाको केन्द्रबाट ‘ओरियन आर्ममा’ २७ हजार प्रकाश वर्ष टाढा अवस्थित सूर्य नामक ताराको सौर्य परिवारका सदस्य हौँ हामी पृथ्वीवासी । सूर्यको ‘ह्याभिटेबल जोनमा’ १४ करोड ९६ लाख किलोमिटर टाढा छ, हामी मानवको बसोबास रहेको पृथ्वी । मंगल, बुध, शुक्र, यम, बृहस्पति आदि हाम्रो सौर्य मण्डलका सदस्य हुन् ।

विगत ४४ वर्षदेखि निरन्तर यात्रा गर्दै पृथ्वीदेखि टाढाटाढा गइरहेको भायेजर यानले २३ अर्ब किलोमिटर यात्रा गरिसकेको छ । भायेजर यानको कुनै परग्रही सभ्यतासँग भेट भयो र उसले मेरो फोन नम्बर पाएर मलाई कल गर्‍यो भने संवाद कस्तो हुन्छ होला ?

‘हेल्लो, को बोल्नुभएको ?’

‘म ज्ञानमित्र । तपाईं को नि ?’

‘मलाई ज्ञानमित्रसँग मतलब छैन । मैले एउटा यान फेला पारेको छु । यसमा लेखिएको सन्देशअनुसार मिल्की वेको केन्द्रबाट २७ हजार प्रकाश वर्ष टाढाको कुनै सूर्य नामक ताराको गृह पृथ्वीवासीले यो यान छाडेका हुन् । के तपाईं पृथ्वीवासी हो ?’
‘हो, म पृथ्वीवासी हो । त्यो यान हामीले नै पठाएको हो ।’

यतिमै सम्पर्क विच्छेद भयो तर मैले आफ्नो परिचय भने थाहा पाएँ, म पृथ्वीवासी रहेछु ।

‘मिल्की वे’ वा आकाशगंगामा ४०० अर्ब ग्रह, नक्षत्र, तारालगायतका पिण्ड छन् । प्रकाशलाई नै यस आकाशगंगामा एक कुनाबाट अर्को कुनामा पुग्न २ लाख वर्षको यात्रा तय गर्नुपर्छ । ‘मिल्की वे’ जस्तै अर्बौं आकाशगंगा छन् । सबैभन्दा नजिकको ‘एण्ड्रोमेडा’ आकाशगंगा २५ लाख प्रकाश वर्ष टाढा छ ।

‘एण्ड्रोमेडा’ ११० किलोमिटर प्रति सेकेन्डको वेगले ‘मिल्की वे’तिर बढिरहेको छ । कुनै दिन यी दुवै ठोक्किएर एक हुन्छन् । ४ अर्ब वर्षपछि यी दुवै एक भएर नयाँ नाम हुनेछ, ‘मिल्कड्रोमेडा ।’

दृश्य आकाशलाई ८८ ‘कान्स्टिलेसन’मा विभाजित गरिएको छ । ‘मिल्की वे’ ‘सैगिटेरियस कान्स्टिलेसन’मा पर्छ । बिग ब्याङ थ्योरीका अनुसार १३.८ अर्ब पहिला प्रारम्भ भएको ‘युनिभर्स’को विस्तार ९३ अर्ब प्रकाश वर्ष पुगेको छ । यही नै दृश्य ब्रह्माण्ड हो । यसको निरन्तर प्रकाशको गतिभन्दा धेरै गतिले विस्तार भइरहेको छ ।

वैज्ञानिकहरूका अनुसार दृश्य ब्रह्माण्ड जम्माजम्मी ५ प्रतिशत मात्र छ । बाँकी ६८ प्रतिशत डार्क एनर्जी र २७ प्रतिशत डार्क म्याटरको साम्राज्य छ । विज्ञानले ‘ब्ल्याक होल’लाई दृश्य ब्रह्माण्डभित्रको संरचना मान्छ । ९५ प्रतिशत अज्ञात  र जम्माजम्मी ५ प्रतिशत ज्ञात दुवैको जोड हो हाम्रो ब्रह्माण्ड ।

भट्टजी, यो हो मेरो पूरा परिचय, यो सिंगो ब्रह्माण्ड एउटा ‘युनिट’ हो । होलान् अरू पनि ब्रह्माण्ड होलान् । ‘प्यारालाल युनिभर्स’को धारणा फगत धर्मको गफ होइन । सन् १८९५ मा अमेरिकी दार्शनिक एवं मनोविद् विलियम जेम्सले ‘मल्टी युनिभर्स’को परिकल्पना गरेका थिए ।

सन् १९५२ मा इरभिन स्रोडिन्जरले ‘मल्टी युनिभर्स’ हुनै पर्छ भनी सैद्धान्तीकरण गरे । अहिले त ‘कस्मोलोजी’, ‘फिजिक्स’ ‘एस्ट्रोनोमी’, ‘फिलोसोफी’ ‘ट्रन्स्पर्सनल साइक्लोजी’ आदिले ‘प्यारालाल युनिभर्स’, ‘अल्टरनेटिभ युनिभर्स’, ‘क्वान्टम युनिभर्स’, ‘इन्टरपेनेट्रेटिङ डायमेन्सन्स’, ‘प्यारालाल डायमेन्सन्स’, ‘प्यारालाल वल्र्ड्स’, ‘प्यारालाल रियालिटिज’, ‘क्वान्टम रियालिटिज’, ‘अल्टरनेटिभ रियालिटिज’, ‘अल्टरनेटिभ टाइमलाइन्स’, ‘डाइमेन्सनल प्लेनस’ले ‘मल्टी युनिभर्स’को व्याख्या गर्छन् ।

कुनै दिन अर्को ‘युनिभर्स’ कुनै पत्ता लाग्यो भने त्यो मेरो वास्तविक छिमेकी हुनेछ । म बसेको ब्रह्माण्ड त मेरो घर हो, घरका सदस्यका बीच पनि परिचय आदानप्रदान हुन्छ र ? तपाईंले मलाई जुन नामले बोलाए पनि हुन्छ । वी आर  वन युनिभर्स, वन फेमिली ।