डा.खगराज बराल: ठूलो ओहोदाको मान्छे अर्थात् ‘स्यानी’

डा.खगराज बराल: ठूलो ओहोदाको मान्छे अर्थात् ‘स्यानी’

आशिष पौडेल  |  अन्तर्मन्थन  |  आश्विन १६, २०७८

आफ्नो वरपरको परिवेश, भाषा र आमाको स्मृतिको सुन्दर चित्रण पनि राम्रो साहित्य बन्न सक्छ भन्ने कुरा डा. खगराज बरालको ‘स्यानी’ उपन्यासले देखाएको छ । 

तर, यसरी भन्दा उहाँको मुख्य भूमिकामाथि अन्याय हुन्छ । करिब २७ वर्ष लामो सरकारी सेवामा बिताउनुभएका बराल ५ वर्षको पूरा कार्यकाल त सचिव हुनुभयो । 

सामान्य पारिवारिक तथा शैक्षिक पृष्ठभूमिबाट आउनुभएका  डा. बरालको निरन्तरको मिहिनेत र संघर्षका कारण साहित्य तथा प्रशासन सेवामा पनि सफल नाम बनेको छ । 

हाल उहाँ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)को सेवा आयोगका अध्यक्षको रूपमा कार्यरत हुनुहुन्छ । २३ असार २०७८ मा उहाँले यो जिम्मेवारी पाउनुभएको हो । 

यसभन्दा अघि भने उहाँले नेपाल सरकारको विशिष्ट श्रेणीको तथा सचिवको रूपमा ९ वटा अड्डामा झण्डै ५ वर्ष काम गर्नुभयो । 

उहाँ पहिले शिक्षा विभागको महानिर्देशक हुनुहुन्थ्यो । महानिर्देशकबाट २७ साउन २०७३ मा बढुवा भएर उहाँ नेपाल सरकारको विशिष्ट श्रेणी अर्थात् सचिव हुनुभएको हो । 

सचिव भएपछि उहाँको पहिलो पदस्थापन क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा भयो । सुर्खेतमा एक महिना बसेपछि उहाँ क्षेत्रीय प्रशासन कार्यालय पोखरा जानुभयो सरुवा भएर । 

क्षेत्रीय प्रशासकका रूपमा त्यहाँ ५-६ महिना काम गर्नुभयो । त्यसपछि उहाँको सरुवा राष्ट्रिय सूचना आयोगको सचिवको रूपमा भयो । त्यहाँ उहाँले ३ महिना काम गर्नुभयो । 

अनि, उहाँको सरुवा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा भयो । त्यहाँ सचिवको रूपमा ४ महिना काम गर्नुभयो । 

त्यसपछि उहाँको सरुवा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भयो । त्यहाँ ७ महिना काम गरेपछि उहाँको सरुवा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भयो । त्यहाँ भने उहाँले १८ महिना काम गर्नुभयो । 

फेरि उहाँको सरुवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भयो । त्यहाँ उहाँले ६ महिना काम गर्नुभयो अनि उपराष्ट्रपतिको कार्यालयमा ७ महिना काम गर्नुभयो । 

अब उहाँको सरुवा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भयो । त्यहाँ ९ महिना काम गरेपछि उहाँको कार्यकाल थोरै बाँकी भएको अवस्थामा उहाँ नास्टको सेवा आयोगको अध्यक्षको रूपमा नियुक्त हुनुभएको हो । 

उहाँको नास्टको अध्यक्षमा नियुक्ति वैज्ञानिकको रूपमा नभई त्यहाँ हुने प्रशासनिक काम सहजीकरणका लागि भएको हो, जहाँ कर्मचारीको वृत्ति विकासका साथै लोकसेवाको समन्वयमा वैज्ञानिक तथा अन्य कर्मचारी नियुक्तिसम्मका प्रशासनिक पाटो उहाँको जिम्मामा पर्छ । 

सरकारी सेवामा प्रवेश

उहाँ २०५१ सालमा लोकसेवा पास गरेर विद्यालय निरीक्षकबाट सरकारी सेवामा प्रवेश गर्नुभएको हो । त्यस क्रममा उहाँ ६ वर्ष फिल्डमै खटिनुभयो भने अर्को ८ वर्ष प्रशिक्षणमा ।

त्यतिखेर केही दुःख पनि भए तर त्यही दुःख र अनुभवले उहाँलाई आज यो स्थानमा पुर्‍याएको हो । 

हुनत केन्द्रमै बसेर पनि उहाँले सबै काम गर्न सक्नुहुन्थ्यो । त्यसो गर्ने साथीहरू पनि छन् । तर, उहाँको अनुभव र अरू साथीको अनुभव भने फरक छ । 

उहाँ योजना बनाउँदा तल्लो स्तरलाई हेरेर बनाउनुहुन्छ । त्यसको कार्यान्वयन हुन सक्छ कि सक्दैन भनेर हेर्नुहुन्छ । अरू साथीहरू भने केन्द्रमा बसेर र केन्द्रलाई नै हेरेर योजना बनाउँछन् । यसो गर्दा योजना बन्ने बजेट सकिने तर कार्यान्वयन नहुने मुख्य समस्या देखियो । 

महत्त्वपूर्ण अनुभव

जागिर निरीक्षकका रूपमा खाने तर फिल्डमा भने जान नचाहने प्रवृत्ति उहाँले विद्यालय निरीक्षकदेखि महानिर्देशक हुँदासम्मको अनुभवबाट हासिल गर्नुभयो । 

सचिव हुँदासम्मको उहाँको अर्को महत्त्वपूर्ण अनुभव भनेको एकदमै छोटो समयमा अप्रत्याशित सरुवा । यसका कारण योजना बनाउने र केही गर्ने भन्नेबारेमा सोच्दासोच्दै सरुवा भइसक्ने कारण सचिव जस्तो महत्त्वपूर्ण पद भएर पनि उसले उल्लेख्य केही गर्न नसक्ने रहेछ ।

उहाँले शिक्षामा केही नयाँ गर्न खोज्नुभएको थियो । त्यो भनेको संगीत विद्यालयको कुरा, नेसनल साइन्स स्कुलको कुरा । पहिलो पटक जाँदा बजेट पास भइसकेको थियो । अर्को पटक बजेट बनिसकेर काम गर्ने बेलामा उहाँको सरुवा भयो । 

यसले बजेट सक्ने र रहरका कार्यक्रम मात्र भएका तर गुणस्तरमा वृद्धि हुने नदेखिएको उहाँको अनुभव रह्यो । 

काठमाडौं यात्रा

उहाँ पहिलो पटक साझा बसमा काठमाडौं आउनुभएको २०४९ सालमा हो । जागिरे जीवनमा भने उहाँ पहिलो पटक सहसचिव भएर काठमाडौं आउनुभएको हो । यो २०६५ सालको कुरा हो ।   

उहाँ र एक जना साथी पोखराबाट एमएडको फर्म भर्न पहिलो पटक आउनुभएको हो काठमाडौं । पोखराबाट साझा बसको त्यसबेलाको भाडा ७९ रुपैयाँ भएको उहाँ सम्झिनुहन्छ । 

उहाँ काठमाडौंमा पहिलो पटक उत्रिएको भनेको सुन्धारामा हो । त्यस बेला उहाँलाई काठमाडौं फोहोर, भीडभाड र गुजुमुज्ज लागेको थियो । पसलहरू भने धेरै । तर, कीर्तिपुरबाट खाना खाने पसल खोज्दै भने उहाँलाई बल्खु आइपुग्नुपर्‍यो रे !

पछि भने साथीहरूले उहाँलाई होस्टेलको खाना खान लगे । होस्टेलको खाना भनेको त गिलो भात, दाल रहेछ । एक पटक भात ल्याएर हाल्यो, अर्को पटक ह्वात्त दाल ल्याएर खन्याउँछन् । अनि, दाल मात्र, भात छैन । यस्तो रह्यो उहाँको होस्टलको भात अनुभव । 

एसएलसी

उहाँले २०४२ सालमा एसएलसी पास गर्नुभयो, शुक्रराज मावि पोखराको पुम्दीभूम्दीबाट । पहिले भने शुक्रराज मावि निमावि थियो । 

धेरै विद्यार्थी लाखापाखा लाग्थे मावि पढ्नका लागि । उहाँको पालामा नै उक्त विद्यालय मावि भएको हो । र, उहाँहरू नै पहिलो ब्याच पनि । 

उहाँको त्यस ब्याचमा १५ जना थिए । १५ जनामा ५ जना पास भए । उहाँ पनि ५ जनामध्ये नै पर्नुभयो । उहाँले द्वितीय श्रेणीमा एसएलसी पास गर्नुभएको हो ।

माध्यमिक तह 

माध्यमिक तहमा विषयगत शिक्षक नभएका कारण विद्यालयले अतिरिक्त गणित राखेन । त्यस कारण उहाँले अतिरिक्त गणित पढ्न पाउनुभएन । 

उहाँ पढ्दा एउटा कक्षामा झण्डै ४० जना थिए । करिबकरिब हाराहारीको संख्यामा छात्र र छात्रा । तर, छात्राहरूको उमेर भने उहाँभन्दा अलिक जेठो । 

कारण, उहाँको विद्यालय पहिले निमावि थियो । निमाविबाट मावि नभएकाले ती साथीहरू अन्त पढ्न नगई बसेका थिए । र, मावि भएपछि फेरि पढ्न त्यही विद्यालयमा आए । 

‘धेरै दिदीहरू हुनुहुन्थ्यो । उहाँहरू लुङ्गी लगाएर नै आउनुहुन्थ्यो । केटा र केटीको भिन्नै लहर थियो बस्नका लागि’, बराल भन्नुहुन्छ, ‘केटीको बेञ्चमा झुक्किएर बस्यो भने जिस्क्याएर उल्लीबिल्ली लाएर हैरान गर्थे साथीहरूले ।’

प्रारम्भिक शिक्षा

प्राथमिक तह भने उहाँले गाउँको लक्ष्मी प्रावि स्कुलमा पढ्नुभएको हो । त्यस स्कुलको शिक्षक भने उहाँको बुबा नै हुनुहुन्थ्यो । उहाँको बुबालाई नै उहाँहरूको परिवारकै पहिलो गुरु भन्नुहुन्छ उहाँ । ३७ वर्ष पढाएर उहाँका बुबा शोभाकर बराल अवकाश हुनुभएको छ । 

निमावि तहमा भने बस्नका लागि बेञ्च मात्र थिए । डेस्क हुँदैनथ्यो । ७ कक्षापछि मात्र डेस्क हुने हुँदा साथीहरूको डेस्कमा बस्ने होडबाजी नै चल्थ्यो ।  

पहिले स्कुलमा धनी, गरिब, विश्वकर्मा, परियार, नेपाली, ब्राह्मण, क्षेत्री, मगर सबै जाति समावेशी किसिमका थिए । तर, अहिले भने त्यस्तो छैन । हुनेखाने, उच्च घराना अनि कमजोर समुदाय सबैको आफ्नै किसिमका विद्यालय छन् अहिले । 

आमासँग साह्रै नजिकमा रहेका कारण आमा बितेपछि उहाँलाई आमाका बारेमा केही लेख्ने रहर जाग्यो, जसले उहाँलाई उपन्यासकार बनायो अनि जन्मियो ‘स्यानी’ उपन्यास । उहाँ यसलाई आञ्चलिक उपन्यास भन्न पनि रुचाउनुहुन्छ । यसमा पुम्दीभुम्दीको परिवेश छ । त्यहीँको भाषा छ र रहनसहन पनि ।

‘पहिले सबै एकै ठाउँमा पढ्थे । सबै राम्रा मिल्ने साथी हुन्थे । त्यसले गर्दा एकअर्काको संस्कृतिसँग सबै परिचित हुन्थे । तर, अहिले भने अवस्था फेरिएको छ’, बराल भन्नुहुन्छ ।

जन्म र बाल्यकाल

उहाँको जन्म २०२७ सालमा पोखराको पुम्दीभुम्दीमा भएको हो । उहाँको ५ दाजुभाइ । दिदीबहिनी भने हुनुहुन्न । घरमा दिदीबहिनी नभएकाले आमाको कामको भार धेरै थियो । त्यसैले उहाँले घरको काममा धेरै भरथेग गनुपर्ने हुन्थ्यो । 

उहाँले आमाका काममा सहयोग गरेर आमासँग नजिक रहेका कारण आमाका सन्दर्भमा उहाँले ‘स्यानी’ भन्ने उपन्यास पनि लेख्नुभएको छ । 

पँधेरोबाट पानी ल्याउने, बाख्रा थुन्ने, झिक्ने, घाँस हाल्ने तथा भैँसीलाई पनि घाँस हाल्ने, चराउन लैजाने, घाँस काट्ने आदि सबै उहाँले नै गर्नुपर्थ्यो । 

घरमा भाइहरूलाई खाजा खुवाउने, आमा मेला जाँदा खाजा बनाउने, हेरविचार गर्ने, कुचो लगाउने, खाना बनाउने, रोटी पकाउने अर्थात् भान्साका कामहरू धेरै गर्नुपर्ने हुन्थ्यो उहाँले । त्यस कारण पनि उहाँको बाल्यकाल अन्य सामान्य बालकको जस्तो रहेन । 

उहाँकी हजुरआमालाई खोलाले बगाएका कारण हजुरबाले खोलाको खेत नै किन्नुभएन रे ! त्यस कारण उहाँहरूलाई खोलामा जान नै प्रतिबन्ध जस्तै थियो । कहिलेकाहीँ खेततिर गोठाला जाँदा माछा मारेर खाएको सम्झना भने छ उहाँसँग ।  

भिन्न बाल्यकाल

बुबा शिक्षक भएका कारण अनुशासनमा कडा । साइकल सिक्न, पौडी खेल्ने, फलफूल चोर्ने अवसर त्यस कारण उहाँले पाउनुभएन । 

साइकल त उहाँले आईएड पास गरेपछि बल्ल सिकेको हो । अरू साथीहरूले भने भागेर पोखरा आएर सिकिसकेका थिए । 

बच्चाले बदमासी गर्दा अरू सरलाई भन्दिन्छु भन्थे तर उहाँको त सर नै घरमा, त्यस कारण उहाँलाई अनुशासनको पाठ राम्रै पढाइएको थियो । 

त्यस बेला त घुम्न, बदमासी गर्न, फजुल खर्च गर्न नदिएकामा उहाँलाई किन यस्तो गरेको होला जस्तो लाग्थ्यो । तर, अहिले सम्झँदा भने ठीकै गरेछन् जस्तो लाग्छ । किनकि उहाँको त्यस उमेरमा त्यस ठाउँमा एसएलसी गर्ने उहाँका दाजुभाइ मात्र हुनुहुन्थ्यो । 

‘गाउँमा यी मास्टरका छोरा, राम्रा छन्, अनुशासित छन्, पढ्छन्’ भन्ने कुरा प्रचार भइदिँदा त्यसले पनि बदमासी गर्नबाट रोक्थ्यो भन्ने लाग्छ बराललाई । 

३ तारा

उहाँको अहिले पनि ९ बजेपछि मात्र सुत्ने बानी छ । पहिलेपहिले घडी हुँदैनथ्यो । र, मटिहानको डाँडामा ३ तारा हेरेर उहाँलाई उठ्न सिकाइयो । 

पोखराबाट बिहान ४ बजे सुनौलीका लागि छुट्ने गाडी हर्न बजाउँदै आइपुग्थ्यो । त्यसपछि त झन् सुत्ने कुरै भएन । त्यस कारण उहाँको अहिले पनि चाँडो उठ्ने बानी छ ।
 
चेलपार्क मसीको भाँडोमा प्वाल पारेर बनाइएको टुकी बालेर पढ्नुहुन्थ्यो उहाँहरू । कहिलेकाहीँ पढ्दापढ्दै निदाउनु पनि हुन्थ्यो । 

बिहान काकीहरू उठेर ‘केटाहरू रातभर पढेका रहेछन्’ भन्नुहुन्थ्यो । त्यसले पनि गाउँमा ‘फलानाको छोराहरू रातभर पढ्छन् । त्यसरी पढ्नुपर्छ’ भन्ने गर्थे । 

पारिवारिक अवस्था

हजुरबाको पैतृक सम्पत्तिमा खेतीपाती गरेर उहाँको बुबाको परिवार चलेको हो । बुबा शिक्षक पनि । तर, ५ जना छोरा पाल्न पनि सानो मिहिनेत र खर्चले पुग्दैनथ्यो । 

अतिरिक्त आयका लागि भैँसी पाल्ने, जसले गर्दा दूध, मोही तथा बारी खेतका लागि मल हुन्थ्यो ।
 
आमा मेलापात तथा पर्म पनि गर्नुहुन्थ्यो । बा पनि असारको बिदामा खेतमा सघाउने । अनि अरू बिदामा पनि यसो घरको काममा सघाइपघाइ गर्ने । 

मकै रोप्ने, धान रोप्ने, गोड्नेजस्ता काममा उहाँहरूले पनि स्कुल बिदामा सघाउने गर्नुहुन्थ्यो । 

यस अर्थमा आफ्नो परिवार निम्न मध्यम वर्गीय भन्नुहुन्छ उहाँ । 

पहिलो जागिर

उहाँले निमावि शिक्षकका रूपमा २०४८ सालमा पहिलो जागिर खानुभएको हो । त्यस बेला उहाँको तलब एक हजार ५०० रुपैयाँ थियो । 

पहिलो तलब उहाँले बुबासँग बैंक खाता मागेर उहाँको खातामा हालिदिनुभयो । 

उहाँले आईएड तथा बीएड छात्रवृत्तिमा पढ्नुभएको हो । पछि उहाँले होस्टेलमा बेलुका एक घण्टा पढाउन थाल्नुभयो, जसले उहाँलाई मासिक ६०० रुपैयाँ दिन्थ्यो । यस्तै खालका अरू ट्युसन पनि उहाँले गर्नुभयो । त्यसले उहाँलाई पकेट खर्चदेखि डेरा बहाल पुगेको थियो । 

त्यसबेला उहाँको बीएडको नतिजा आएको थिएन । बीएडको नतिजा आएपछि भने उहाँ माध्यमिक शिक्षक हुनुभयो । त्यसै बेला उहाँले पृथ्वीनारायण क्याम्पस पोखरामा पनि पढाउनुभयो भने एमएड पनि पढ्दै हुनुहुन्थ्यो । 

त्यसपछि लोकसेवा पास गरेर उहाँ विद्यालय निरीक्षकको रूपमा सरकारी सेवामा प्रवेश गर्नुभयो । विद्यालय निरीक्षकका रूपमा रूपन्देही, कास्की र बझाङमा काम गरेपछि उहाँले तनहुँ र पोखराका तालिम केन्द्रमा प्रशिक्षकका रूपमा काम गर्नुभयो । 

विद्यावारिधि

उहाँले आईएड तथा बीएड पृथ्वीनारायण क्याम्पस पोखराबाट गर्नुभएको हो । एमएड भने महेन्द्ररत्न क्याम्पस ताहाचलबाट गर्नुभएको हो । 

२०७२ सालमा उहाँले विद्यावारिधिका लागि वाल्मीकि क्याम्पसलाई रोज्नुभयो, त्यो पनि एकदमै नौलो विषयमा । ५ वर्षको नियमित अवधिमा उहाँले विद्यावारिधि सम्पन्न गर्नुभयो । 

‘वर्तमान गुरुकुल र आधुनिक विद्यालय शिक्षा पद्धतिमा शिक्षक व्यवस्थापन’ शीर्षकमा उहाँले विद्यावारिधि गर्नुभएको हो ।

विवाह

उहाँको विवाह २०५४ सालमा भएको हो । मागी विवाह नै हो । उहाँको सन्तानको रूपमा एक छोरा । हाल उहाँ १२ कक्षा सकेर स्नातकको तयारीमा हुनुहुन्छ । 

साहित्यिक यात्रा

उहाँको साहित्यिक यात्राको सुरुवात २०४४ सालमा भएको हो ।

उहाँले आईएड पढ्दा ऐच्छिक नेपाली विषय लिनुभएको थियो । दोस्रो वर्षमा गद्य तथा पद्य पढ्नुपर्थ्यो, जसमा खण्डकाव्यहरू थिए । भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ अनि हरिभक्त कटुवाललगायतका कविका गद्य कविता पढ्नुपर्थ्यो । यसले उहाँलाई छोयो । 

उहाँले भूपीकै जस्ता कविता लेख्नुभयो । करिबकरिब एउटा कापी नै भरिएको थियो उहाँको कविताले । तर, त्यो कापी भने हरायो । 

फणिन्द्र खेताला आदि उपनामबाट प्रभावित भएर उहाँले श्रमिक उपनाममा लेख्न थाल्नुभएको हो । पछि बीएड पढ्दा उहाँले एउटा उपन्यास लेख्नुभयो । तर, त्यसको आधा भने उहाँले हराउनुभयो । 

‘फेरि भेटौँला’ चलचित्रको गीत ‘आफैँलाई भार भयो आज आफ्नै जिन्दगी’ भन्ने गीतबाट प्रभावित भएर उहाँले गीत पनि लेख्नुभयो । उहाँका डेढ दर्जनजति गीत अहिले रेकर्ड भइसकेका छन् ।

‘श्रमिक बरालका गीतहरू’, ‘मौन आकाश’, ‘अविरल गंगा’, ‘म त सधैँ एक्लै परेँ’ नामका उहाँका गीतसंग्रह प्रकाशित छन् । उहाँका ‘आँगनीको फूल’ बाल गीतसंग्रह तथा ‘सानीको बर्थ डे’ बाल कथासंग्रह पनि प्रकाशित छन् । 

त्रिवेणी कल्चर सेन्टरका प्रवीण श्रेष्ठको संगतपछि कथा, नाटक लेख्ने गर्नुभयो । त्यसलाई किताबको आकार भने उहाँले दिइसक्नुभएको थिएन । 

यसका अतिरिक्त समालोचना तथा लघुकथा पनि उहाँले लेख्नुभएको छ । उहाँले ‘सिकाइ र सहयोग’, ‘सिकाउने शैली’, ‘शैक्षिक दृष्टार्थ’, ‘शैक्षिक विचरण’लगायतका शिक्षासम्बन्धी १० वटा किताबहरू पनि लेख्नुभएको छ ।

आमासँग साह्रै नजिकमा रहेका कारण आमा बितेपछि उहाँलाई आमाका बारेमा केही लेख्ने रहर जाग्यो, जसले उहाँलाई उपन्यासकार बनायो अनि जन्मियो ‘स्यानी’ उपन्यास । उहाँ यसलाई आञ्चलिक उपन्यास भन्न पनि रुचाउनुहुन्छ । यसमा पुम्दीभुम्दीको परिवेश छ । त्यहीँको भाषा छ र रहनसहन पनि ।

चाँडै नै उहाँको ‘मालामा नउनिएका फूलहरू’ अनुभूतिसंग्रह प्रकाशन हुँदै छ, जसमा अनुभूति मात्र नभएर विचार र चिन्तन पनि छ ।

उहाँले ‘लिलावती स्मृति ग्रन्थ’ र ‘शैक्षिक व्यवस्थापनका बहुआयामिक चिन्तन’ पुस्तक पनि सम्पादन गर्नुभएको छ ।