सुरतयात्रा: बुन्देलखण्डमा महाराजा छत्रसालले हीरा कसरी फेला पारे ?

फर्कलान् र ती दिनहरू

सुरतयात्रा: बुन्देलखण्डमा महाराजा छत्रसालले हीरा कसरी फेला पारे ?

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  आश्विन १६, २०७८

सुरतमा पुरानो महामंगलपुरी धामको रूपमा रहेको मोटा मन्दिर अर्थात् मुख्य मन्दिर सैयदवाडामा रहेको कुरा मैले कतै प्रसंगवश भनिसकेको छु । त्यहाँ मन्दिरमा गौशाला पनि रहेछ । गिर गाईहरू पालिएको रहेछ । 

खासगरी भारतमा रहेका हिन्दुधर्मअन्तर्गतका जति पनि मठ मन्दिरहरू रहेछन्, ती सबैमा आफूलाई चाहिने दूधको व्यवस्था गौशालामा गाईहरू पालेर पूरा गरिँदो रहेछ । जामनगरमा बस्दा पनि हाम्रो बासस्थान कवीर मन्दिरमा जुन थियो, त्यहाँ पनि दूधको व्यवस्था आफैँले पालेका गाईहरूबाट गरिएको कुरा त्यहाँका साधु तथा सहयोगीहरूबाट थाहा पाएको थिएँ । तर, श्री कृष्ण प्रणामी मूलमिलावा मानव मन्दिर, प्राणनाथ सोसाइटी , कटरग्रामसहित दुईवटा मन्दिर भएकाले श्रद्धालुहरूका लागि कहाँ बस्ने भन्ने स्वेच्छा देखियो तर त्यहाँ पनि नेपालीहरू संसारमा जहाँजहाँ छन्, ती सुरतमा श्री ५ महामंगलपुरी धाममा दर्शनका लागि जाँदा मूलमिलावा मानव मन्दिरमा जान रुचाएको पाइयो किनभने हामी दुई पटक त्यहाँ जाँदा नेपालबाट जाने र भारतमा रहेका नेपाली समुदायहरूको समेत रुचिमा मानव मन्दिर नै परेको पायौँ । 

त्यसको कारण के होला जस्तो लाग्यो भने, नेपाली मूलका स्वामी श्री १०८ लक्ष्मणज्योति महाराज गादीपति हुनुभएकाले पनि हुनुपर्छ वा श्रद्धालुहरूप्रति गरिने व्यवहारले पनि हुनुपर्छ । भाषाले पनि ठूलो प्रभाव पार्ने कुरालाई पनि यहाँ बिर्सन सकिँदैन । अर्को कारण के पनि हुनसक्छ भने, मूलमिलावा मानव मन्दिरको अभिभावकत्वमा नै मानव सेवामा प्रेरित भएर स्थापना गरिएको प्राणनाथ अस्पतालका कारणले पनि हुन सक्छ किनभने कतिपय मानिसहरू वा श्रद्धालुहरू आफ्नो रोगको औषधि गर्ने चाहना र सहजताका साथ रोगको निदान र उपचार हुने व्यवस्था भएकाले पनि हुन सक्छ । 

यसको अर्थ के पनि होइन भने, भारत वा विश्वभरबाट आएका श्रद्धालु सुन्दरसाथहरूको त्यहाँ आगमन हुँदैन । हुन्छ, मुख्य मोटा मन्दिरमा पनि आवागमन हुन्छ किनभने महामंगलपुरी धाम भनेर विश्वभरमा प्रसिद्ध पनि त्यही मन्दिर रहेछ । श्री कृष्ण प्रणामी मूलमिलावा मानव मन्दिरकै सामुन्ने बहुचराजीको मन्दिर रहेछ । त्यहाँ बहुचराजीको बाहनका रूपमा कुखुराको भालेमा चढेकी देवीको तस्बीर राखिएको छ र त्यो मन्दिरमा भालेहरू पालेर राखिएको पाइन्छ । अहिले त झन् मूलमिलावा मानव मन्दिरमा स्वास्थ्य शिक्षाको शिक्षण अस्पतालसमेत हुन लागेकाले एकातिर त्यहाँको सेवा गुणस्तरीय छ, सस्तो छ र महामति प्राणनाथजीको नाममा खुलेकाले सम्पूर्ण अशक्तहरूको निःशुल्क सेवा गरिँदो पनि रहेछ । 

जति पनि अस्पतालको कमाइ हुँदो रहेछ, त्यसको हिसाबकिताब अस्पतालका नाममा खुलेको ट्रस्टको नामको खातामा नै जम्मा हुनेरहेछ ।

सुरतमा हीराको प्रशोधन हुने कुराले पनि भारतभरमा त्यसको महत्त्व बढेको कुरा त्यसै पनि बुझ्न सकिन्छ । महामति प्राणनाथको नाममा खुलेको अस्पतालको मुख्य सेवा सुरुमा सुन्दरसाथहरूको स्वास्थ्य सुरक्षाको हुँदो हो तर अहिले मानव मात्रको कल्याणका लागि खुलेकाले र त्यसका लागि युवा स्वामीको लगनशीलताले सम्पूर्ण सेवाग्राहीहरूको आशा र भरोसाको केन्द्र हुन थालेको देखियो । सायद इसाइ धर्मका मानिसहरूले आफ्ना अनुयायीहरूको शिक्षादीक्षा र स्वास्थ्य सेवाका लागि गरेको जस्तो सेवा दिन भनेर विभिन्न कृष्ण प्रणामी मन्दिरहरूले पनि सुरु गर्न सके अझ मानव सेवामा एउटा खुड्किलो थपिने थियो भन्ने त्यहाँ जम्मा भएका सुन्दरसाथहरूले भनेको मैले सुनेको थिएँ । 

अझ के पनि थाहा पाएँ भने, भारतमा रहेका पुराना मन्दिरहरूमा करोडौँ नगद तथा सुन-चाँदी बिनाप्रयोगमा रहेका छन् । कति बैंकका खातामा र लकरमा छन् । कति मन्दिरमा नै राखिएका छन् । तिनको सदुपयोग विद्यालय, महाविद्यालय, विश्वविद्यालय, धार्मिक तथा आध्यात्मिक अनुसन्धान केन्द्र, विभिन्न प्रकारका औषधि प्रयोग गर्ने अस्पताल तथा विकलाङ्गता भएका बालक तथा अन्य उमेरका मानिसहरूका लागि आवासीय आश्रमका रूपमा विकसित गर्न सके हुने थियो ।

विभिन्न मन्दिरमा दर्शनका लागि आउने श्रद्धालुहरूका लागि छोटो अवधि बस्दा भने आवासीय रूपमा सुन्दरसाथहरूका सेवाका लागि त मन्दिरहरू तयार देखिए तर थुपारेर राखेको सम्पत्तिलाई प्राणनाथजीको नाममा खुलेको अस्पतालमा आवश्यक लगानी गरेको पाइएन । यदि उपर्युक्त भनिएको जस्तै मानवीय कार्यमा लगानी गरेमा र खासमा यहाँ प्रसंगमा रहेको प्राणनाथ अस्पतालमा लगानी गरेमा त्यसले अस्पतालको गुणस्तरमा वृद्धि हुने र क्षमतामा पनि वृद्धि हुने थियो भन्ने कुरा बुझ्न सकिन्थ्यो किनभने मैले लक्ष्मणज्योति महाराजजीलाई सोधेको थिएँ, 'तपाईंलाई पुराना मन्दिरहरूबाट कतिको सहयोग भएको छ त ?'

यो पहिलेको बुन्देलखण्ड राज्य हो र यसका राजा थिए छत्रसाल महाराज । प्राणनाथजीले उनलाई 'तिमी अबदेखि राजाका पनि राजा महाराजा भयौ र तिमीले इस्लामको भयबाट हिदुहरूलाई बचाउनुपर्छ' भनेर आदेश दिए । नभन्दै छत्रसाल महाराजले प्राणनाथलाई सोधेछन्, 'म कसरी लडौँ मुगल साम्राज्यसँग गुरु ?'

उहाँले आफू मानव सेवामा लागेको अनि सबैसँग सकारात्मक सहयोगको अपेक्षा गरेको भनेर कूूटनीतिक जबाफ दिनुभयो तर स्पष्ट रूपमा सहयोग पाइएको भनेर भन्नुभएन । अहिले सहयोग भनेको राज्य सरकारका तर्फबाट भएको हुन सक्छ, उदार सुन्दरसाथ, व्यापारीहरूले सहयोग गरेका हुन सक्छन्, आवासमा आएका र श्रद्धालुका रूपमा आएका अतिथिहरूबाट सहयोग भएको हुन सक्छ तर अन्य कृष्ण प्रणामी ट्रष्टहरूबाट भएको जस्तो लागेन । त्यो मेरो नितान्त व्यक्तिगत बुझाइ हो ।

अनि, अर्को सहिष्णुता र समन्वयको नमुनाको रूपमा मैले देखेको कुरा थियो- सुरत शहर आफैँमा इस्लामधर्मीहरूको बाहुल्य भएको ठाउँ हो र मोटा मन्दिर त झन् सैयदबाडामै अवस्थित रहेछ । मन्दिरको सामुन्ने एउटा विद्यालय रहेछ, सायद महानगरपालिकाको अनुदानमा चलेको सरकारी विद्यालय हो त्यो । एउटै विद्यालय भवनमा २ वटा ११० र १११ नम्बरका विद्यालयहरू चलेका रहेछन् । मलाई अचम्म लागेर सोधेँ त्यहाँ मन्दिरबाहिर बसेका युवाहरूलाई । त्यसमध्ये हिन्दी बुझ्ने केटो पनि त्यहाँ रहेछ, प्रधानाध्यापकको छोरो रहेछ त्यो बाबु । 

मैले सोधेको जिज्ञासामा उसले भन्यो, 'एउटा विद्यालय बिहान चल्छ, अर्को दिउँसो चल्छ । एक पटक केटा मात्र पढ्छन् र अर्कोमा केटी मात्र पढ्छन् ।'

मेरो अर्को जिज्ञासा थियो, 'यो विद्यालय सहशिक्षालय होइन र ?' उसले सगर्व भन्यो, 'केटा र केटीलाई सँगै राखेर कुरानले नपढाउनू भन्छ, केटी र केटासँगै बसेर पढे भने केटी बिग्रन्छन् ।'
हुनत त्यो विद्यालय मदरसा होइन र पनि एक्काइसौँ शताब्दीको पहिलो चौथाइ समय जान लाग्दा महात्मा गान्धीको राज्य गुजरातमा सरिया कानुनलाई खुलेयाम आधार बनाएर विद्यालयमा सहशिक्षालय नगरिने रहेछ । तर, यो चलन सरकारी विद्यालयमा मात्र हो रहेछ, निजी विद्यालयहरूमा त्यस्तो होइन रहेछ । खासगरी त्यो चलन इस्लामको मात्र शिक्षा दिइने ठाउँमा चल्छ होला भनेको, होइन रहेछ । त्यही महानगरपालिकाको शिक्षण समितिको विद्यालय नम्बर ११०-१११ ले पुष्टि गरेको पाएँ । 

अनि, मैले त्यो केटालाई जिस्क्याएँ, 'विद्यालयमा सँगै पढे भने त केटा र केटीको सानैमा प्रेम हुने रहेछ र बिग्रने रहेछन् तर बाहिर पनि भेट हुन्छ नि होइन र ?' उसले अझ स्पष्ट भन्यो, 'तपाईंले इस्लाम केटीहरू बिनाबुर्का हिँडेको देख्नुभएको छ र सुरतको सडकमा ?' 

त्यो त हो, मैले बुर्काको प्रयोग त अत्यधिक देखेको थिएँ सुरत शहरमा ।

हामी २०७१ सालको पुसको तेस्रो हप्तामा सुरतमा थियौँ र पुसको २१ गते नसाको डाक्टर परेशको क्लिनिकमा गएर महँगो सुई बुटोक्सको मात्रा लिन थालेका बेलामा नै मेरी माहिली छोरी अरुणाले नेपालमा छोरी पाएको खबर पाएका थियौँ ।

कुनै पनि धर्ममा विभिन्न सम्प्रदायको जन्म हुनुमा नयाँनयाँ दर्शको आधार लिइन्छ र नयाँनयाँ दार्शनिकहरूले समाजको प्रगति र मुक्तिको बाटो देखाउने हुन्छन् । श्री कृष्ण प्रणामी धर्ममा पनि निजानन्द धर्मको रूपमा नयाँ दर्शनको सूत्रपात त सतगुरु देवचन्द्र महाराजले गर्नुभएको रहेछ तर त्यसलाई दार्शनिक स्पष्टता र मुक्तिका लागि नयाँनयाँ प्रक्रियाको व्याख्या र पठनीय सामग्री तारतम सागरसमेतको विकास, प्रचार र परिणामका बारेमा जानकारी दिनेचाहिँ १८ पुराण र वेदको नयाँ व्याख्या गर्ने व्यासको जस्तै प्राणनाथले गर्नुभएकाले उहाँलाई व्यासको नाम वेदव्यास भनेजस्तै गरी उहाँको नाममा पनि महामति भनेर भनिँदो रहेछ । 

त्यहाँ भन्थे, माघ १ गते मकर संक्रान्तिमा पूरै शहर ढाक्ने गरी चङ्गाको खेल हुन्छ र त्यसका लागि बजारमा अनेक प्रकारका चङ्गा बिक्रीमा राखिन थालेका थिए । चङ्गाको प्रतिस्पर्धासमेत हुनेरहेछ । खासमा त्यो ठाउँ त्यति जाडो होइन तर हामी भएका बेलामा कास्मिरमा हिउँ धेरै परेकाले चिसो आउन थालेको थियो र त्यहाँ जाडो ४ डिग्रीसम्म पुगेको थियो बिहान । धेरै वर्षपछि यति जाडो भएको भनेर पत्रिकाहरूमा लेखेको पाएको थिएँ । तर, त्यो करिब २ दिनमा फेरि गर्मी भएको थियो । 

हामी अब माघे संक्रान्तिसम्म पर्खन सक्ने अवस्थामा थिएनौँ । पुसको २३ गते त्यहाँबाट हिँड्यौँ । हाम्रो गन्तव्य भनेको श्री ५ पद्मावतीपुरी धाम र वृन्दावनका बाँके विहारीको दर्शन । उनको स्मृतिमा धार्मिक यात्रासहित उनका नाममा विभिन्न मन्दिर तथा उनको जन्मस्थान मथुराको कारागार, उनले खेलेको गोकुल र बर्साना र उनले गोपिनीहरूको वस्त्र लुकाएको भनेको कदमको वृक्षको दर्शन यस्तै अरू पनि दर्शन गर्ने कार्यक्रम ।

हामीलाई संकटकालीन टिकट किन्ने अवस्था आयो किनभने सबै रेलमा स्थान खाली थिएन । सिधै सतना जाने रेलमा सतना गएर पद्मावतीपुरी गाडीमा जाने हुँदो रहेछ र उत्तर भारततिर आउन थालेपछि जाडो पनि बढ्नेछ भनेर हामीलाई सतर्क गराइएको थियो । हामी ७ जनाबाट बढेर नेपालको २१ जनाको टोली सतनाका लागि प्रस्थान गर्‍यौँ तर स्वामीजीले स्वयं हाम्रालागि चासो राखेर टिकटको रिजर्भेसन गराउनुभयो अनि हामी वरिष्ठ नागरिकहरूले छुट पनि पायौँ । मलाई एउटा सिमको व्यवस्था गरिदिनुभएको थियो जामनगरका युवा स्वयंसेवकले, जो जामनगरको मन्दिरमा सहयोग गर्न नेपालबाटै जानुभएको रहेछ । 

अहिले नाम बिर्सिएँ, तर शास्त्री पास गरेर गुरुको अधीनमा रहेर प्रशिक्षार्थीको रूपमा रहनुभएको थियो । सायद भोलिका लागि पुजारी, गादीपतिको रूपमा प्रस्तुत हुने अपेक्षाका साथ । उनीहरू दत्तचित्तका साथ मन्दिरका हरेका काममा सहयोग गरिरहेका पाइन्थे, जसले गर्दा करिब एक लाख मानिसहरूको सेवा संभव भएको थियो । टिकटअनुसारको सिटमा बसेर हामी सतना पुग्यौँ भोलिपल्ट बिहानै र त्यहाँबाट करिब ७५ किलोमिटर टाढाको पद्मावती गुमट मन्दिरमा पुगेर मात्र स्नान गरिने थियो । 

७१ भारु लागेको थियो अनि मैले 'वरिष्ठ नागरिकको छुट छैन ?' भन्दा कन्डक्टर हाँसेर भनेका थिए, 'यदि हजुरहरू प्राइभेट बसमा या जिपमा जानुभएको भए करिब २०० रुपैयाँ लाग्ने थियो । यही नै भएन र कन्सेसन ?' हामी बुढाबुढीले हाँसेर उसको लागेको भाडा दियौँ । 

जंगलको बाटो जस्तो लाग्छ, त्यति धेरै घना जंगल त होइन तर हुस्सु लागेकाले खासमा बस्तीहरू रोकेको देखियो । हाम्रो मधेसतिरका सानासाना चिया पसल जस्तै र साइकल बनाउने ठाउँहरू देखिन्थे । करिब ३ घण्टामा बस पद्मावतीपुरीमा पुर्‍यायो र हामीलाई पहिलेदेखि गइरहेका मानिसहरूले मन्दिरमा लिएर गए अनि बस्ने कोठाको प्रबन्ध गराए । त्यस्तो प्रबन्धलाई उत्रेर गएकाले र आवासको प्रबन्ध गर्ने भएकाले उतारा भन्दारहेछन् । हामीलाई  जाडोका बेला भएकाले बाक्लो डस्ना र बाक्लो ब्ल्याङ्केट दिएका थिए र आवश्यक पर्दा चाहिन्छ कि भनेर थप ओड्ने पनि राखिदिएका थिए ।

सामान्यतया हामी त्यो बसमा आउनेजति सुरतबाट आएका रहेछौँ । धेरै त नेपालीहरू नै जम्मा भएका रहेछन् । त्यहाँ खासगरी प्राणनाथजीले स्थापना गरेका गुमट मन्दिर, बंगला मन्दिर, सतगुरु (देवचन्द्रजीको नाममा प्राणनाथजीले स्थापना गरेको) मन्दिर र प्राणनाथजीलाई जीवनभर वैचारिक तथा आध्यात्मिक रूपमा सहयोग गर्ने उहाँकी धर्मपत्नी बाइजु महारानीको नाममा समेत त्यो समाधिको रूपमा मन्दिर तयार गरिएको रहेछ । भनिन्छ, बाइजु महारानीको समाज सेवा र महिलाको मुक्तिका लागि गरेका कामहरू सम्झेर उहाँँलाई धाम गमनपछि जलाउँदा १८ जना शिष्यहरू खप्न नसकेर सती गएजस्तै गरी चितामा हामफालेर मरेपछि निजानन्द सम्प्रदायका साधु, सन्त र गुरु महाराज तथा गादीपतिहरूलाई नजलाउने र समाधिस्थ गर्ने चलन चलेछ । जीवनकालमा निजानन्द धर्मलाई प्रचारप्रसारको केन्द्र बनाएर उहाँको कर्मभूमिको रूपमा विकास गरेको ठाउँ रहेछ त्यो ।

यो पहिलेको बुन्देलखण्ड राज्य हो र यसका राजा थिए छत्रसाल महाराज । प्राणनाथजीले उनलाई 'तिमी अबदेखि राजाका पनि राजा महाराजा भयौ र तिमीले इस्लामको भयबाट हिदुहरूलाई बचाउनुपर्छ' भनेर आदेश दिए । नभन्दै छत्रसाल महाराजले प्राणनाथलाई सोधेछन्, 'म कसरी लडौँ मुगल साम्राज्यसँग गुरु ?'

उनले एउटा जलपुकार नाम गरेको तरबार दिए र धर्म रक्षार्थ प्रयोग गर्न आदेश थिए । बेला थियो, मुगल सम्राट औरंगजेबको शासनको । उनी क्रूरताका साथ हिन्दु समाप्त गर्ने र मुगल साम्राज्य विस्तार गर्ने क्रममा थिए । पद्मावतीपुरी धामको स्थापना १७४० सालमा भएको थियो र त्यो ठाउँ कम्तीमा पनि हिन्दुहरूका लागि विभिन्न दृष्टिकोणले सुरक्षित मानिन्थ्यो । पद्मावतीपुरीको स्थापना भन्दा १० वर्ष पहिले नै प्राणनाथले औरंगजेबलाई हिन्दुहरूप्रति कठोर नहुन र हत्या हिंसा नगर्नका लागि १२ जना शिष्यहरूलाई धार्मिक दूतका रूपमा पठाउनुभएको थियो । आफ्नाअन्तर्गतका प्रजा भइसकेपछि क्रूरताका साथ धार्मिक आस्थाको भरमा दमन नगर्न र शान्तिपूर्वक राज्य चलाउन सल्लाह दिएर पठाएका दूतहरू सफल भएका थिए तर औरंगजेबका भाइभारदारहरूले अहिलेको बेलामा दमन गर्नै पर्छ भनेपछि त्यो वार्ता असफल भएकाले महामतिले त्यस्तो पात्रको खोजी गर्नुभयो, जसले उहाँको लक्ष्य पूरा गर्नका लागि उहाँलाई सहयोग गर्न सक्छ ।

जसरी चन्द्रगुप्त मौर्यलाई चाणक्यले तयार गरेर मगध राज्यको सम्राट बनाएका थिए, त्यसैगरी प्राणनाथले पनि राजा छत्रसाललाई आफ्नो शिष्य बनाएर त्यो अभिभारा दिएको बुझिन्छ । उनकै राज्यमा पद्मावतीपुरीको स्थापना गरी आफ्नो धार्मिक तथा सामाजिक चेतनाको काम गरेको बुझिन्छ । पद्मावतीपुरीलाई जामनगर र महामंगलपुरी धामपछिको श्री कृष्ण प्रणामीको पावन तीर्थको रूपमा मानिँदोरहेछ । त्यसपछिका दिनमा जब सेनाका लागि आवश्यक सामग्री र हतियारको आवश्यकता पर्ने भयो अनि छत्रसाल महाराजले खजाना नभएकाले कसरी यो समस्याको समाधान गर्ने गुरु भनेर कल्पिएपछि सिद्धबाबाको स्वरूप बनाइसक्नुभएका प्राणनाथले भन्नुभएछ, 'यो बुन्देलखण्डमा हीरा छ पृथ्वीको गर्भमा । त्यो निकाल र त्यसलाई गोप्य रूपमा जौहरीलाई बेचेर खर्च चलाउनू ।'

त्यसका लागि छत्रसालको निजी घोडा भलेभाइ नै सवारीको अत्यन्त इमान्दार साधन थियो । बोल्दैन थियो त के भयो, तर मानवीय इच्छा र बोली बुझ्थ्यो । भनिन्छ, कतिपय कुरा छत्रसालले घोडालाई सुनाउँथे र त्यहाँसम्मको यात्रा गर्न अह्राउँथे रे ! त्यो बेला थियो कात्तिक शुक्ल पूर्णिमाको बेला या भनौँ दशैँपछिको पूर्णिमाको बेला । प्राणनाथजीले भन्नुभयो, 'भोलि कात्तिक शुक्ल पूर्णिमाको दिन छ, बिहानै स्नान गरेर घाम हुन्जेलसम्म जति ठाउँ घुम्न सक्छौ, यो बुन्देलखण्डको जंगल वरिपरि, त्यहाँ हीरा पाइने छ र ठाउँठाउँमा हीरा उत्खनन गरेपछि जनताका लागि पालन पोषण गर्न र लडाइँका लागि पनि खजानाको बन्दोबस्त हुनेछ ।'

नभन्दै त्यो दिन महाराजा छत्रसालले भलेभाइमाथि सवार भएर आदेश दिएछन्, 'मेरो भलेभाइ, तिमीलाई जति सक्यो छिटो हिँडेर, दौडेर यो ठाउँको यात्रा सम्पन्न गरेर घाम डुब्ने बेलामा गुरुको सेवामा आइसक्नुपर्छ । लौ हिँड अब ।' नभन्दै त्यो घोडा लिएर हिँडेपछि बुन्देलखण्डको त्यो जंगल करिबकरिब सबै घुमेर आएपछि प्राणनाथजीले भन्नुभएछ, 'अब तिम्रो आर्थिक समस्या समाप्त त भयो तर गोप्य रूपमा हीरा निकाल्नुपर्छ र प्रशोधन गरेर खर्चको व्यवस्था गर्नुपर्छ ।'
क्रमशः