एक सय ३१ रोपनी सरकारी जग्गा राणा परिवारलाई

एक सय ३१ रोपनी सरकारी जग्गा राणा परिवारलाई

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २६, २०७६

काठमाडौं । भक्तपुर नगरकोटको एक सय ३१ रोपनी सरकारी जग्गा भक्तपुर जिल्ला अदालतको फैसलाले राणाको नाममा दर्ता हुने भएको छ। न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले गत फागुन २१ मा मालपोत कार्यालय भक्तपुरको निर्णय बदर गरी सो जग्गा राणा परिवारको नाममा कायम गरिदिएको छ।

मालपोत कार्यालयले सरकारका नाममा दर्ता गराएको एक सय ३१ रोपनी जग्गा भक्तपुर जिल्ला अदालतले उल्टी गरी दिवाकर राणाको परिवारको नाममा कायम हुनेगरी फैसला गरिदिएको हो। सो फैसलाको पूर्ण पाठ आएपछि फैसला कार्यान्वयनको प्रक्रियामा जानेछ।

अदालत स्रोतका अनुसार सो मुद्दाको फैसला भए पनि फैसलाको पूर्णपाठ अझै तयार भइसकेको छैन। मालपोत कार्यालयको निर्णयलाई चुनौती दिइएको सो मुद्दाबारे अदालत स्रोतले नागरिकलाई भन्यो, ‘फैसला तयार भइसकेको छैन, तर मुद्दाको मिसिलमा उल्टी जनाइएको छ भने अदालतको वेबसाइटमा समेत अन्तिम आदेशका साथै उल्टी जनाइएको छ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।