३८ क्विन्टल सुन तस्करी मुद्दामा ८ जना दोषी ठहर

३८ क्विन्टल सुन तस्करी मुद्दामा ८ जना दोषी ठहर

न्युज कारखाना  |  अपराध  |  आश्विन १९, २०७८

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको ३८ क्विन्टल सुन तस्करीसम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङले ८ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश भरत लम्सालको इजलासले मंगलबार ८ जना प्रतिवादीलाई दोषी ठहर गरेहको हो । 

उनीहरूलाई भिन्दाभिन्दै सजाय तोकेको छ । प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका ‘गोरे’ भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । एक जनालाई ३ वर्ष र अर्का एक जनालाई ६ महिना कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए । 

उनका अनुसार ‘गोरे’सहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको छ । यो फैसलासँगै उनीहरूले २० बर्ष जेल बस्नुपर्ने भएको छ ।  

अपहरण तथा शरीर बन्धक मुद्दामा ‘गोरे’को कसुर कायम भएको छ । धमलाका अनुसार यसको सजाय निर्धारणका लागि पुनः पेस गरिनेछ । मुद्दाका प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदन घिमिरेलाई ६ महिना कैद सजाय फैसला भएको अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले बताए । मुद्दामा दोषी ठहर भएकाहरू ‘गोरे’को समूहका सहयोगी र उनका सवारी चालकहरू हुन् । 

मुद्दामा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । प्रतिवादीमध्ये उच्च प्रहरी अधिकारी र गोरेकी पत्नी नीरु भानिने नर्वदा खरेलसहित ४८ जनाले सफाइ पाएको राणाले जानकारी दिए । मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डीएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सन्जेललगायत प्रहरी कर्मचारीलाई प्रतिवादी बनाइएको थियो । 

संगठित अपराध, भन्सार ऐन र अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा ४८ जनाले सफाइ पाएका हुन् । फरार रहेका २१ जनाको हकमा मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार राणाले बताए । उनका अनुसार २ वर्षसम्म अभियुक्त पक्राउ नपरेमा वा हाजिर नभएमा मुल्तवीमा रहेको मुद्दालाई जगाएर अदालतले फैसला गर्नेछ ।  

९ माघ २०७४ मा ‘गोरे’को समूहले दुबईबाट तस्करी गरेर काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायव भएको थियो । सुन गायव बनाएको आरोपमा ‘गोरे’सहित उनको समूहले १८ फागुनमा २०७४ मा मोरङ उर्लाबारी नगरपालिका- १ का सनमको करेन्ट लगाएर यातना दिँदै हत्या गरेको आरोप छ । 

हत्याको भोलिपल्ट विराटनगरबाट शाक्यको शवसहित बा१२च ५९६३ नम्बरको स्कर्पियो र मे१च ५३९८ नम्बरको कारसहित प्रहरीले चालकहरू मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई पक्राउ गर्‍यो । त्यस घटनाको अनुसन्धान गर्दा गोरेको योजना र ‘सेटिङ’ तथा अरू व्यापारीको लगानी र प्रहरी अधिकारीको सहयोगमा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा करिब ३८ क्विन्टल सुन तस्करी भएको खुलेको हो ।

तर, तस्करीको सुन भने बरामद हुन सकेन । प्रमाणका रूपमा पेस गर्नुपर्ने सुन बरामद नभएपछि तस्करीमा संलग्न भनिएकाहरूले मुद्दामा सफाइ पाएको बताइएको छ । 

जिल्ला अदालत मोरङमा १९ वैशाख २०७५ मा ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर ४ वटा शीर्षकमा मुद्दा दायर भएको थियो । सरकारी वकिल कार्यालय मोरङले दर्ता गरेको मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४०० रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रूपमा आयात गरिएको दाबी गरेको थियो । त्यही बराबरको बिगो माग दाबीसहितको मुद्दा दर्ता भएको हो । मुद्दाको अन्तिम सुनुवाइ अघिल्लो आइतबारदेखि सुरु भएको थियो ।