कोमामा राजनीति : विचारविहीन नेता र दिशाविहीन पार्टी

कोमामा राजनीति : विचारविहीन नेता र दिशाविहीन पार्टी

पुरिन्द्र रावल  |  दृष्टिकोण  |  आश्विन १९, २०७८

नेपालको राजनीतिमा पछिल्लो समय महाधिवेशनको चहलपहल निकै बढेको छ । कसैले ‘गोदावरी कुम्भ मेला’ सके भने कोही अर्को ‘कुम्भ मेला’को तयारीमै देखिन्छन् । यसका दुई दृृष्टकोण छन् । एक, लोकतान्त्रिक व्यावस्थामा पार्टीले लोकतान्त्रीक मान्यता अँगाल्नु राम्रो कुरा हो । अर्काेतिर, लोकतान्त्रिक दलको लोकतान्त्रिक मूल्य, मान्यता र विचार के हो भन्नेबारेमा प्रश्न उठेको छ ।

समाज नेताको भरमा हुन्छ, नेता राजनीतिको भरमा । त्यसैले जब नेताले बाटो बिराउँछन्, तब समाज बिग्रिन्छ । जब समाज अराजक हुन्छ, तब राजनीति गतिछाडा हुन्छ । आज नेपालको सन्दर्भमा यस्तै भयको छ । 

आज नेपालको राजनीतिले किन बाटो बिराएको छ ? किन राजनीति अराजकतातिर लम्किरहेको छ ? यो बहसको विषय हो । कुनै पनि मुलुकमा जब राजनीतिले बाटो छाड्छ, तब मुलुकका सबै क्षेत्रमा बर्बरता मौलाउँछ । 

अहिलेका कुनै पनि दलले जतिसुकै विकास र समृद्धिका कुरा गरे पनि वा नेता, कार्यकर्चाका जतिसुकै ठूला ‘कुम्भ मेला’ लगाए पनि यिनीहरूबाट केही हुँदैन भन्ने कुरा आमनेपालीलाई मात्र होइन, विदेशीलाई समेत थाहा छ । त्यसैले जनताले यसको वैकल्पिक बाटो रोज्नु नै आजको मुख्य आवश्यकता हो । 

दृष्टिकोणलाई संक्षेपमा भन्दा, आजको नेपालको मुख्य समस्या भनेको नै राजनीतिक दलालीकरण हो । राजनीतिक दलालीकरणको स्रोत विचारहीन नेता र दिशाविहीन पार्टी हुन् । यसैले मुलुक र जनताको भाग्य र भविष्य बदल्ने हो भने अब जनताले यसलाई ढाल्न जरुरी छ ।

कुनै पनि नेता वा नेतृत्व वैचारिक बहस, योजनात्मक अभ्यास र सिर्जनात्मक क्रियाकलापभन्दा व्यक्ति आलोचना वा गाली गलोजतिर जब मोडिन्छ, तब स्वतः राजनीतिले बाटो बिराउँछ । आज नेपालको सन्दर्भमा यही भइरहेको छ । केपी ओलीले माधव नेपालका विरुद्ध बोल्ने, माधव केपीका विरुद्ध नारा-जुलुस गर्ने, प्रचण्ड आत्महत्याको निरीहता प्रदर्शन गर्ने । यी मात्र होइनन्, नेपालका सबै राजनीतिक दलको अवस्था यही हो । 

अब प्रश्न उठ्छ, यस्तो किन ? राजनीतिक दलालीकरण किन ? यस्ता प्रश्न जनताले अहिलेका नेतालाई सोधे भने उत्तर के आउँछ, स्वयं यी नेतालाई समेत थाहा छैन सायद । कम्युनिस्ट नामका सबै दल किन एकै ठाउँमा आउन नसकेका, प्रजातान्त्रिक मान्यताका हिमायती दलहरू किन एकजुट हुन नसकेको ? प्रश्न जनताको हो ।

कसैले प्रश्न गर्‍यो भने माओवादी नामको दललाई भन्न गाह्रो छ- विचार के हो ? एमाले नामको बथानलाई अझ बढी सकस छ- गन्तव्य के भन्ने । र, कांग्रेस नामको बगालको झनै विवशता छ- मान्यता के भनेर ? 

प्रश्न जनताकै हो यस्तो किन ? जब नेताले विचार बिर्सिन्छ, पार्टीले मान्यता बिर्सिन्छ अनि स्वतः राजनीतिले बाटो बिराउँछ । आज नेपालका कुनै पनि पार्टीसँग जनताको मन जित्न सक्ने हैसियत छैन, नेतासँग उद्देश्य छैन । यही भएर आज मुलुकको राजनीति कोमामा छ । अब यसलाई निको पार्ने जिम्मा जनताको हो । 

कांग्रेसीहरू प्रजातान्त्रिक समाजवादको गफ उडाउँछन्, एमालेहरू जबज ओकल्छन्, माओवादीहरू जनताको जनवादका गफ चुट्छन् तर यी कसैलाई थाहा छैन कसरी त्यहाँ पुगिन्छ भन्ने कुरा । केमा टेकेर त्यहाँ पुगिन्छ भन्ने कुरा सायदै थाहा होला । त्यसैले आजको आवश्यकता भनेको नै जनताले नयाँ विकल्पको खोजी गर्नु नै आजको आवश्यकता हो भन्न सकिने अवस्था हो ।

त्यसैले अब जनताले ख्याल गर्ने विषय हो । जनतालाई थाहा छ, केपीको एमाले, प्रचण्डको माओवादी, देउवाको कांग्रेस र माधवको एकीकृत समाजवादीले बोक्रे नेता र थोत्रो व्यवस्थाका उत्तराधिकारी जन्माउलान् तर मुलुक र जनताको भाग्य र भविष्य परिवर्तन गर्ने नेतृत्व जन्माउन सक्दैनन् । त्यसैले अब जनताले विकल्प खोज्नुपर्ने बेला आएको छ ।

त्यसैले आजको मुख्य समस्या भनेको नै राजनीतिक दलालीकरण हो । यसलाई परिवर्तन गर्न जनताले आफ्नो खुट्टामा उभिएर नयाँ रूप लिनु नै जनताको आजको सही निर्णय हुन सक्छ । त्यस कारण अब जनताले सही निर्णय लिनु छ । सन् १९४९ मा चिनियाँ जनताले लिएको निर्णय । सन् १९१७ मा सोभियत जनताले गरेको निर्णय जसलाई इतिहासले नै सही निर्णयको संज्ञामा हेरिन्छ । 

शासक स्वेच्छातिर लम्किन्छ, राज्य अराजकतातिर दौडिन्छ, तब जनताले लिने निर्णय नै यस्तै हुन् । आज नेपालको अवस्था यही छ ।

अन्त्यमा, यस दृष्टिकोणलाई संक्षेपमा भन्दा, आजको नेपालको मुख्य समस्या भनेको नै राजनीतिक दलालीकरण हो । राजनीतिक दलालीकरणको स्रोत विचारहीन नेता र दिशाविहीन पार्टी हुन् । यसैले मुलुक र जनताको भाग्य र भविष्य बदल्ने हो भने अब जनताले यसलाई ढाल्न जरुरी छ ।