३३ किलो सुन प्रकरणका प्रहरी अधिकृत : बडुवा हुनेबेला पक्राउ, अवकाशपछि सफाई !

लोकसंवाद टिप्पणी

३३ किलो सुन प्रकरणका प्रहरी अधिकृत : बडुवा हुनेबेला पक्राउ, अवकाशपछि सफाई !

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २०, २०७८

करिब ५ वर्षअघि ३३ किलो सुन पक्राउ परेको घटनालाई लिएर सरकारको जिम्मेवार स्थानमा रहेका व्यक्तिहरु नै नै अब ठूला माछा समातिने उद्घोष गरेका थिए । तर सुन प्रकरणमा समातिएकाहरु नै निर्दोष साबित भएका छन् । यस्ता घटनामा कतिपय वास्तविक अपराधी समेत पक्राउ नपर्ने र कतिपय निर्दोषले सजाय पाउने गरेका छन् ।

यसरी पक्राउ पर्नेमध्ये एक हुन् नेपाल प्रहरीका एसएसपी श्यामबहादुर खत्री । उनी सुन तस्करसँग मिलेमतोको आरोपमा दुई पटक पक्राउ परे । पहिलोपटक २०७३ माघ २३ मा ३४ किलो सुन काण्डमा र दोस्रोपटक २०७५ जेठमा ३३ किलो सुन काण्डमा उनी मुछिए । पहिलो मुद्दामा उनले सफाइ पाए र सेवामा फर्किसकेका थिए । तर दोस्रो पटक भने उनले सफाइ पाएपनि सेवामा फर्किन पाएनन् । यसपटक उनी जेलमा रहँदा नै अवकाश पाइसकेका छन् । 

उनले सुनसरीको झुम्कास्थित कारागारमा पछिल्ला ३ वर्ष बिताए । त्यहीबाट उनले अवकाश पाइसकेका छन् । २०७५ मा पक्राउ पर्दा उनी डिआईजी बडुवाको दाबेदारमध्ये एक थिए । 

सोमबार मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले ३३ किलो सुन तस्करीको प्रकरणमा प्रमाण नपुगेको भन्दै खत्रीसहित सबै प्रहरी अधिकृतलाई सफाइ दियो । न्यायाधीश लम्सालको इजलासले सो प्रकरणमा जोडिएका तथा ३३ किलो सुनका भरिया सनम शाक्यको हत्यामा संलग्न भएका ८ जनालाई जन्मकैदको सजाय सुनाएका छन् । 

सजाय पाएकाहरुलाई सजाय भुक्तानीका लागि कारागारमै राखिनेछ । तर सफाइ पाएकाहरु प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री र प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत भने भने खुलेर खुसी हुन पाएनन् । सरकारी सेवामा रहँदा नै सुन तस्करीको दाग लागेका उनीहरुले फेरि सेवामा फर्किएर सो दाग मेटाउने अवसर नै पाएनन् । न्याय प्रक्रियामा भएको ढिलाइले निर्दोष भनेर अदालतले भन्दा भन्दै सजाय भोग्न बाध्य भएकाे  यो एउटा ज्वलन्त उदाहरण बन्न पुगेको छ । 

कसरी परे छानविनमा ?

तस्करीको साढे ३३ किलो सुन हराएको केही समयपछि उर्लाबारीका सनम शाक्यको अपहरणपछि हत्या भएको घटना बाहिर आयो । सो हत्यामा संलग्न थिए तस्करी प्रकरणका नाइके मध्येका एक चुडामणि उप्रेती ‘गोरे’ । सुन खोज्ने क्रममा शाक्यको हत्या भएपछि यसबारे थप अनुसन्धान सुरु भयो । गृह मन्त्रालयका तत्कालीन सह–सचिव ईश्वरराज पौडेल नेतृत्वमा छानविन समिति बनाइयो ।

अदालतले तीन वर्षपछि दुवै जनालाई सफाई दिएको छ । सो प्रकरणमा  पूर्वएआईजी गोविन्द्रप्रसाद निरौला, एसएसपी दिवेश लोहोनी (हाल डीआईजी), प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्का पनि जोडिएका थिए । उनीहरु सबैले सफाइ पाएका छन् । 

जसले सुन प्रकरणमा ९ जना प्रहरी संलग्न रहेको निष्कर्ष निकाल्यो । पक्राउ परेका प्रहरीमध्ये ८ जना त्यसबेला नै धरौटी र साधारण तारेखमा रिहा भएका थिए । तर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री र प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत भने हालसम्म कारागारमा थिए । उनीहरुमाथि उच्च अदालत, मोरङले २८ भदौ, २०७५ मा थुनामै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।

राउतले विमानस्थल प्रहरीमा कार्यरत रहँदा गोरे समूहबाट १२ लाख रुपैयाँ लिएर तस्करीमा सहयोग गरेको सरकारी छानविन समितिको दाबी थियो । एसएसपी खत्रीलाई पनि ५ माघ, २०७५ मा उच्च अदालतले थुनामै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । तीन पटक गरी १ करोड १२ लाख ४२ हजार रुपैयाँ खत्रीले लिएको सरकारी छानविन समितिले दाबी गर्‍यो । 

तर अदालतले तीन वर्षपछि दुवै जनालाई सफाई दिएको छ । सो प्रकरणमा  पूर्वएआईजी गोविन्द्रप्रसाद निरौला, एसएसपी दिवेश लोहोनी (हाल डीआईजी), प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्का पनि जोडिएका थिए । उनीहरु सबैले सफाइ पाएका छन् । 

संगठित रूपमा सुनको अवैध चोरी निकासी, पैठारी र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोपमा तत्कालीन बहालवाला प्रहरी अधिकारीसहित ७७ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो ।

कसले के सजाय पाए ?

३३ किलो सु्न प्रकरणमा जोडिएका र सनम शाक्यको हत्यामा संलग्न भएका चुडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । सो प्रकरणमा दोषी ठहर भएका एक जनालाई ६ महिना र अर्का एक जनालाई ३ वर्ष जेल सजाय सुनाइएको छ । हत्याको कसुरमा गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाइएको छ । राजन कुमारलाई तीन वर्ष र माधव भन्ने मदनकुमार घिमिरेलाई ६ महिना कैद सजाय सुनाइएको हो । 

गोरे भनिने चुडामणि उप्रेती भने दुईवटै मुद्दामा दोषी ठहर भएका छन् । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय सुनाइएका उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा पनि अदालतले दोषी ठहर गरेको छ । सो मुद्दामा केही समयपछि सजाय निर्धारण हुनेछ । यो मुद्दामा सजाय भएर केहीले दोषी किटान भएर सजाय पाएका छन् । तर दोषी ठहर नभएपनि यो घटनामा मुछिएकाहरुका लागि भने एउटा ठूलो दाग भने बनेको छ ।