वीरमा मिर्गाैला प्रत्यारोपण रोकियो

वीरमा मिर्गाैला प्रत्यारोपण रोकियो

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख २६, २०७६

काठमाडौँ । औषधि अभावका कारण वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण रोकिएको छ । अस्पतालले अंग प्रत्यारोपण गर्दा प्रयोग हुने मुख्य औषधि (एटीजी) खरिद गर्न नसक्दा पाँच महिनादेखि मिर्गौला प्रत्यारोपण हुन नसकेको हो । विशेषज्ञका अनुसार एटीजी औषधि बिरामीको अंग प्रत्यारोपण गर्नुअघि र गरेपछि प्रयोग गरिन्छ ।

वीरमा दस वर्षअघि सुरु भएको मिर्गौला प्रत्यारोपण विभिन्न समस्याका कारण बेला-बेला रोकिने गरेको थियो । चार वर्षअघिको भूकम्पले अस्पतालको भवन भत्कियो र ७ बेडको यो विभाग २ बेडमा खुम्चियो । भौतिक पूर्वाधार र जनशक्ति अभावपछि अस्पतालले सातामा एक पटक मिर्गौला प्रत्यारोपण गर्ने गरेको थियो । अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार प्रत्यारोपणका लागि शल्यकक्ष र शल्यचिकित्सक दुवैको अभावले यो सेवा अघि बढन सकेको छैन ।

अस्पतालमा अहिले मिर्गौला शल्यचिकित्सकको दरबन्दी भए पनि त्यसमा चिकित्सक छैनन् । सेञ्चुरी भन्छन्, 'तालिमप्राप्त जनशक्ति छन्, प्रत्यारोपणकै विशेषज्ञ छैनन् । नर्सिङ कर्मचारी र अन्य स्वास्थ्य कर्मचारी पनि न्यून छन् ।' औषधि उपलब्ध भएमा थोरै बिरामीलाई भए पनि प्रत्यारोपण सेवा दिन सकिने बताउँदै उनले थपे, 'महँगो औषधि भएकाले कोटेसनमा किन्न सम्भव छैन । टेन्डर गर्नुपर्ने भएकाले लामो समयसम्म सेवा अवरुद्ध भएको हो ।' सेवा रोकिएसँगै प्रत्यारोपण युनिटका कर्मचारीलाई अन्य विभागमा खटाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।