इलिमिनेटरमा सन्दीपको टोली दिल्ली क्यापिटल्सद्वारा हैदरावाद पराजित

इलिमिनेटरमा सन्दीपको टोली दिल्ली क्यापिटल्सद्वारा हैदरावाद पराजित
जितपछि खुसी मनाउँदै दिल्ली क्यापिटल्सका खेलाडी । तस्बिर : आइपिएलटिट्वान्टी डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २६, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बुधबार भएको पहिलो इलिमिनेटरमा सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गरेको छ ।

दिल्लीले हैदरावादले दिएको १६३ रनको लक्ष्य १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । मध्यक्रमका ब्याट्सम्यान रिसभ पन्तले २१ बलमा ४९ रनको तुफानी पारी खेलेपछि दिल्लीको जित सम्भव भएको हो । उनले आफ्नो पारीमा २ चौका र ५ छक्का प्रहार गरे । दिल्लीको तर्फबाट सर्वाधिक रन भने प्रारम्भिक ब्याट्सम्यान पृथ्वी सोले जोडे । उनले ३८ बलमा ६ चौका र २ छक्काको मद्दतले ५६ रन बनाए ।

हैदरावादका भुवनेश्वर कुमार, खलिल अहमद र रासिद खानले समान दुई र दीपक होडाले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको हैदरवादले निर्धारित २० ओभरमा १६२ रन बनायो । मध्यक्रमका विजय शंकर र मोहम्मद नाभीले आक्रामक पारी खेलेपछि हैदरावादले सम्मानजनक योगफल बनाएको हो । शंकरले ११ बलमा २५ रनको पारी खेल्दा नाभीले १३ बलमा २० रन जोडे ।

त्यसअघि मार्टिन गुप्टिलले आक्रामक पारी खेलका थिए । उनले १९ बलमा १ चौका र ४ छक्काको मद्दतमा ३६ रन बनाए ।

दिल्लीका किमो पोलले ३, इशान्त शर्माले २ तथा ट्रेन्ड बोल्ट र अमित मिश्राले समान १ विकेट लिए ।

दिल्लीले अब फाइनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग प्रतिष्पर्धा गर्दैछ ।