फ्रान्सले ५० लाख डोज कोभिड खोप चोर्‍योः बेलायत

फ्रान्सले ५० लाख डोज कोभिड खोप चोर्‍योः बेलायत

एजेन्सी  |  विदेश  |  आश्विन २१, २०७८

आफ्नो देशतर्फ आउँदै गरेको करिब ५० लाख डोज कोभिड खोप फ्रान्सले ‘चोरेको’ बेलायतले आरोप लगाएको छ । यसै वर्षको सुरुमा बेलायततर्फ लैजान लागिएको खोप रोक्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोले युरोपेली युनियनका प्रमुखहरूसँग षड्यन्त्र गरेको बेलायतले आरोप लगाएको हो । 

बेलायततर्फ लैजाँदै गरिएको एस्ट्राजेनेकाको खोपको ठूलो व्याच नेदरल्यान्ड्सबाट ‘डाइर्भट’ गरिएको बेलायतको दाबी छ । राष्ट्रपति म्याँक्रोले एस्ट्राजेनेका खोप खासै प्रभावकारी नभएको भन्दै अफवाह चलाएको र युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयानले फाइजरलाई बेलायत पठाउन रोक्ने चेतावनी दिएको बेलायतको दाबी छ । 

२२ मार्चमा एस्ट्राजेनेकाका प्रमुखले लाखौँ डोज खोप बेलायत पुग्ने अनुमान गरे पनि त्यो अन्तिम गन्तव्यमा नपुगी फर्काइएको बेलायतको दाबी छ । खोप फिर्ता हुँदा बेलायतलाई ठूलो नोक्सान भएको उसको भनाइ छ । तर, बेलायतको आरोपलाई एस्ट्राजेनेकाले अस्वीकार गरेको छ ।