कांग्रेसले कोजाग्रतमा चियापान नगर्ने

कांग्रेसले कोजाग्रतमा चियापान नगर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २१, २०७८

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान यस पटक नगर्ने भएको छ । कोभिड महामारीको त्रास अझै कायम रहेको भन्दै कांग्रेसले यस पटक चियापान समारोह स्थगित गरेको हो । अघिल्लो वर्ष पनि कोभिडकै कारण चियापान भएको थिएन ।

कांग्रेसले पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि सबैलाई अपिल पनि गरेको छ ।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले खोपको व्यापक प्रबन्ध गरेपश्चात महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन । खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य हो’, कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले कोभिड महामारीमाथि विजय हासिल गर्न चाँडै नै सफल हुने विश्वास राखेको जनाएको छ ।