चिन्तनको साधन बनाउने कि चिन्ताको साध्य ?

चिन्तनको साधन बनाउने कि चिन्ताको साध्य ?

तिलक पौडेल  |  दृष्टिकोण  |  बैशाख २६, २०७६

बृहत् नेपाली शब्दकोषले चिन्ता र चिन्तनलाई कसरी अथ्र्याएको छ भनेर हेर्ने जाँगर चलेन । हाम्रो कर्म र सोचबाट जीवन र जगतमा यी कसरी अभिव्यक्त हुन्छन् भन्नेबारे यो लेखमार्फत् चर्चा गर्ने प्रयास गर्दैछु । लाग्दैछ– चिन्तनले जीवन गुमाउँदैछ र चिन्ताले सिकिस्त बनाउँदैछ ।

लेखको सुरुवात एक अनुभवबाट गरौं । सन् २०१० मा क्यानडाको ब्रामटनमा एउटा फ्याक्ट्रीमा काम गर्दा २४  सै‌ घण्टा मेसिन चलेको देखेको थिए । मेसिन २४ घण्टा चले पनि मान्छे भने ८ घण्टा मात्र काममा बिताउँथे । 

म सोच्थेँ– मान्छे पनि त मेसिन हो । जो चौबीसै घण्टा टाउकोरूपी (मस्तिष्क) मेसिन बोकेर हिँडिरहेको हुन्छ । तर, मानिस मस्तिष्करूपी आफ्नो मेसिन बन्द गर्न चाहँदैन, ऊ नचाहेको कुरा विविध रूपमा प्रकट गरिरहेको हुन्छ । मानिसले यो मेसिन बन्द गर्नुलाई जीवन बन्द गर्नुजस्तै ठान्छ । केही समय मेसिन निस्कृय भएमा मानिस प्रलय आएको ठानेर प्रलापसमेत गर्न थाल्छ, आग्रह र पूर्वाग्रहमा सञ्चालित हुन थाल्छ । 
मस्तिष्करूपी मेसिनलाई आवश्यक ठाउँमा मात्र परिचालित गरेमा चिन्तन हुन्छ भने र अनावश्यक रूपमा चलाए चिन्ता । मानिस अनावश्यक ठाउँमा यो मेसिन परिचालित गरिरहेको छ । त्यसै कारणले मानिसलाई धेरै खाले चिन्ताले सताइरहेको पाउँछौं, देश, परिवार, प्रेमको चिन्ता आदि । चिन्ताका हिसावले भन्ने हो मानिस चिन्तैचिन्ताको खानी हो भन्दा पनि फरक पर्दैन । अथवा समय यस्तो आइसक्यो कि मानिस चिन्ताबिना बाँच्न नै सक्दैन ।

अब मानिसमा हुने चिन्ताको कुरा गरौं । बोर्डिङ स्कुलका शिक्षकलाई विद्यार्थीले पाठ कण्ठस्थ नपारेको चिन्ता हुन्छ । यथार्थमा शिक्षकको चिन्ता विद्यार्थीको भविष्यभन्दा बढी आफ्नो जागिरको हो । 
बोर्डिङ स्कुलका शिक्षकलाई विद्यार्थी कम आउने चिन्ता नहुनुपर्ने हो । तर, ती शिक्षकलाई यही चिन्ताले गाँजेको छ । यसको कारण हो– जागिर जोगाउनु । 

चिन्तैचिन्ताको पीडामा सरकारी स्कुलका शिक्षक पनि छन् । सरकारी स्कुलका शिक्षकलाई ‘राजनीतिको झोला’ कसरी बोक्ने भन्ने चिन्ता छ । यही चिन्ताको कारण स्कुल सुधार गर्ने चिन्तन झोलामा हालेर बसिरहेका छन् । 

शिक्षकहरूमा चिन्तैचिन्ता भएपछि कसरी चिन्तनको विकास हुन्छ ? कसरी स्कुल सुधार हुन्छ ? 

अहिलेको यो हँसिया–हतौडा चिन्तामा फसेको छ, त्यो हसिया आफ्नै लागि काट्छ, सात पुस्ताको लागि कसरी थन्काउने भन्ने ध्याउनमा छ भने हथौडाले अर्को मान्छेको टाउको कसरी फुटाउँ भन्ने चिन्तामा छ । मेरा बा–आमाले जस्तै नेताले हँसिया–हथौडालाई मानवहितको औजार ठान्ने चिन्तन गरेको पाइँदैन । तर, नेताले यो हँसिया र हथौडामा चिन्तन होइन, चिन्ता गरे– कसरी थुपार्ने (कमाउने) र कसरी लडाउने ? 

तर, अधिकांश शिक्षकले स्कुल सुधार गर्ने चिन्तनलाई भने झोलामा हालेर हिँडिरहेको पाउँछौं । विश्वविद्यालयमा पढाउँदा विद्यार्थीले घोक्न नसकेको चिन्ता सुनेर बित्यो । त्यहाँ पार्ट–टाइम, करार, स्थायीदेखि बढुवासम्मका सबै कुरा राजनीतिको चिन्ता र पोल्टोमा फसेको देखिन्छ । यी सबै कुरामा मूकदर्शक बन्नुको विकल्प रहेन । त्यसमा चासो र विरोध गरेमा राज्यले विद्रोहीको नाममा ‘सफाया’ गर्ने त्रास सृजना गर्ने गरेको छ । बबुरो मास्टर !  चिताबाट उडेका हजारौं सपनाको धूवाँ हेरेर  बस्यो र बस्न बाध्य छ । यस्ता चिन्ता हटाउने शिक्षकले चिन्तन कहिले गर्ने ? देशको उच्च ओहदामा बसेका भिसीलाई बौद्धिक चोरीको ढाकछोप कसरी गर्ने भन्दा बढीे चिन्ता छ, त्यसका लागि आफ्नो बौद्धिकता नेताको चाकडीमा चढाइरहेको छ । यस्तो अवस्थामा बौद्धिक चिन्तन कहिले र कसले गर्ने ?

नेता र देशको चिन्ता झनै उदेकलाग्दो अवस्थामा छ । नेताको मनोदशा हे¥यो भने सत्तामा कसरी पुग्ने ? चुनाव कसरी जित्ने ? कमिसन कसरी पड्काउने ? भन्ने चिन्ता भएको छ । 

२१ औं शताब्दीमा पनि जातको चिन्ता देखाउँछन् र आफ्नो स्वार्थ पूर्ति गरिरहेका छन् । नेताहरूले जनतालाई जातकै आधारमा दुई जातमा वर्गीकरण गरिरहेको अनुभूति हुन्छ । नेताको नजरमा पानी नचल्ने तर भोट चल्ने जातका दर्ज गर्ने काम भइरहेको छ । 

मनोविज्ञान भन्छ– निद्रामा हिँड्नेले सपना देख्नै पर्छ, नत्र उनीहरू खस्ने सम्भावना हुन्छ वा खस्ने सम्भावना टार्न उसले सपना देख्ने गर्छ । निद्रामा हिँड्ने नेताले आफु खस्नबाट जोगिन सपना देख्ने गर्छ र हामी जनता त्यसैलाई अन्तिम सत्य भन्दै चिन्ता गर्ने गछौं । अलिकति मात्र चिन्तन गर्ने हो भने पनि थाहा हुन्छ कि सबै सपना सुन्दर हुँदैनन् । धेरै त केवल ऐंठन मात्र पनि हुन सक्छ ।   

मेरी आमा हँसियाले अन्न थन्काउँथिन्, बजारमा बेचेर नुन–तेलको जोहो गर्थिन् । यसरी नै आमाले आफू बाँचेकी र हामीलाई बचाएकी थिइन । मेरा बा हतौडाले साइकल मर्मत गर्थे र यात्रीले लामो यात्रा सुनिश्चित गरेबापत आएको दुई–चार रूपैयाँले लत्ता–कपडा किन्थे । तर, अहिलेको यो हँसिया–हतौडा चिन्तामा फसेको छ, त्यो हसिया आफ्नै लागि काट्छ, सात पुस्ताको लागि कसरी थन्काउने भन्ने ध्याउनमा छ भने हथौडाले अर्को मान्छेको टाउको कसरी फुटाउँ भन्ने चिन्तामा छ । मेरा बा–आमाले जस्तै नेताले हँसिया–हथौडालाई मानवहितको औजार ठान्ने चिन्तन गरेको पाइँदैन । तर, नेताले यो हँसिया र हथौडामा चिन्तन होइन, चिन्ता गरे– कसरी थुपार्ने (कमाउने) र कसरी लडाउने ? 

सन्दर्भ हँसिया–हथौडाको होइन, सन्दर्भ चिन्तनको साधन बनाउने कि चिन्ताको साध्य बनाउने भन्ने मात्र हो ।

मेरा बा–आमाको बुझाइ थियो– झण्डाका तारा चिन्ता हुन्, आकाशका तारा सपना हुन् र धर्तीका तारा चिन्तन हुन् । धर्तीमा उदाएको ताराले मात्र हामीलाई चिन्ताबाट चिन्तनतिर डो¥याउन सक्छ । अहिले लाग्छ– ताराहरू समस्या होइनन् । तर, ताराका नाममा सपना बाँड्नेहरू भने पक्कै समस्याका पोका हुन् । गजब त के भने मानिस पोका बोक्ने चिन्तामै समय बिताइरहेको छ, पोको सुधार्ने, फेर्ने वा फाल्ने भन्ने चिन्तन नै गरिरहेको छैन ।

कतै पढेको एउटा प्रसंग उल्लेख गर्नु सान्दर्भिक हुन जान्छ । एक पटक महर्षि चरक वैद्यहरूको आयुर्वेदसम्बन्धी ज्ञानबारे परीक्षण गर्न भेष बदलेर निस्केछन् । यसैक्रममा उनले एक वैद्यलाई सोधेछन्– ‘को’ रुक ? अर्थात् निरोगी को ? 

वैद्यले उत्तर दिए– जो वसन्त मालतीको रस सेवन गर्छ, उही निरोगी । 

महर्षिले यही प्रश्न अर्का वैद्यलाई पनि सोधेछन् । 

ती वैद्यले उत्तर दिए– जो मकरध्वजको सेवन गर्छ, उही निरोगी । 

जब चरक महर्षि वाग्भट्टकहाँ पुगे र सोधे– ‘को’ रुक ? को रुक ? को ‘रुक ?’ 

वाग्भट्टले उत्तर दिए– ‘हितभुक ! मितभुक !! ऋतभुक !!! 

सो ‘रुक सो’ रुक’ 

अर्थात् जो हितकारी खान्छ ! शुद्ध कमाइको खान्छ !! कम खान्छ !!!
उही निरोगी ! उही निरोगी !!

यो प्रसंग म सामान्यतया सम्झिरहन्छु किनकि  यसले मलाई व्यक्तिगत तवरमा सरल र सहज जीवन जिउने हौसला मात्र प्रदान गर्दैन, समाजको बेथितिको विश्लेषण गर्ने आधार समेत पनि दिने गरेको छ । यो प्रसंगको सहायताले जव स्वास्थ्य, शिक्षा र राजनीतिको चिरफार गर्छु, नतिजा शून्य पाउँछु । शुद्ध कमाई नभएका राजनीतिज्ञ खोकी लाग्दा पनि  विदेशमा उपचार पाउने थिति बसेको छ भने उपचार नपाएर युवक अस्पतालको झ्यालबाट  हामफालेर आत्महत्याको बाटो अंगिकार गर्न विवश छ ।

जसरी विभिन्न वैद्यले आफ्नो स्वार्थ अनुसारको विज्ञापन गर्छन्, त्यसैगरी नेताहरू आफू अनुकूलको व्याख्या गर्छन् । शुद्ध कमाईको खाने नेता र कर्मचारी हुने भइदिएको भए सायद अहिले भ्रष्टाचारले मुलुक गन्हाउने थिएन होला । फोहोरले सहर गन्हाउँदा त मास्कको प्रयोग गरौंला । तर भ्रष्टाचारले गन्हाउँदा के गर्ने हो ? हामीले केही गर्न सकेजस्तो लाग्दैन । भ्रष्टाचारको विषयमा चिन्ता गरेर हुँदैन, अब गहन चिन्तन गर्ने बेला भयो, होइन र ?

चिन्तित अर्जुनलाई चिन्तनमा उकाल्ने कृष्णरूपी  चेतनाको  परम्परा हामीले गुमायौं । कृष्णमन्दिर पुगेर ढुंगा पुज्नमा चिन्तित हामीले कृष्णको चिन्तन अनि चेतनालाई मनन गर्न सकेनौं । गीता सिरानीमुनि राखेर घोक्न चिन्तित समाजमा यसको सार बुझेर चेतनाको आँखा कहिले खुल्ला ? यसबारे हामी कहिल्यैं गम्भीर हुन सकेनौं । 

चिन्ताको बारेमा सुन्दा, आफै अनुभव गर्दा वा अध्ययन गर्दा यस्तो लाग्न थालेको छ– चिन्ता काठको किराजस्तै भइरहेको छ, किराले भित्रभित्र काठ ध्वस्त पारिसकेको हुन्छ । तर, बबुरो काठलाई थाहा हुँदैन । बाहिर राम्रो देखिन्छ, भित्र सकिसकेको हुन्छ । मानिस त्यही काठजस्तो खोक्रो हुँदैछ । 
मानिसलाई दुई खुट्टाले हिँडेको भ्रम छ । तर, टाउकोले हिँडिरहेको छ । चिन्ताग्रस्त मानिस टाउकोले हिँड्छ, चिन्तनशील खुट्टाले । हिँड्नको लागि खुट्टा प्राकृतिक देन हो भन्ने भुलेका छौं हामीले ।

‘वादे वादे जायते, तत्व बोध’ भन्ने लामो चिन्तन परम्परा बोकेका पुर्खाको सन्तति हौं भन्ने हामी नेपालीले भुलिसक्यौं । चिन्तनले लामो समय लिन्छ, मेहनत र परिश्रम चाहिन्छ, जाबो चिन्ता फ्याट्ट आइहाल्छ । हामीलाई तुरुन्त नतिजा जो चाहिएको छ, त्यो असम्भव छ ।