बुद्धभूमिको आईपीओ बाँडफाँट, कसले कति पाए ?

बुद्धभूमिको आईपीओ बाँडफाँट, कसले कति पाए ?

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन २२, २०७८

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा शुक्रबार शेयर बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा कुल २० लाख ३० हजार ९५५ जनाले कुल २ करोड ४४ लाख ३७० कित्ता शेयरका लागि आवेदन दिएका थिए । त्यसमध्ये भाग्यमानी ७४ हजार ४०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात खाली छ ।

१६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएको क्यापिटलले जनाएको छ । बाँकी स्वीकृत भएका २० लाख १४ हजार ९२२ जनामा गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गरिएको हो । 

कम्पनीले ११ देखि १४ असोजसम्म सर्वसाधारणका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्कासनमा ल्याएको थियो । यसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

बुद्धभूमिले नुवाकोट जिल्लामा ४.९९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।