नयाँ चलचित्र नहुँदा हलमा दर्शक न्यून

नयाँ चलचित्र नहुँदा हलमा दर्शक न्यून

न्युज कारखाना  |  लोकरञ्जन  |  आश्विन २२, २०७८

दोस्रो लकडाउनपछि बन्द भएका सिनेमाघर बिहीबारदेखि पुनः संचालनमा आएका छन् । केही दिन अगाडि नै सरकारले ५० प्रतिशत दर्शक राख्न पाउने गरी हल खोल्ने अनुमति दिए पनि देशैभर यो नियम लागू नभएपछि हल संचालकले हल खोल्न मानेका थिएनन् ।

काठमाडौँबाहेक बाँकीका जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना गरेर हल चलाउन स्वीकृति दिएपछि बिहीबारदेखि हल खुलेको चलचित्र संघले जनाएको छ । 

बिहीबार ‘फास्ट एन्ड फ्युरियस ९’ र ‘नोबडी’ गरी २ वटा अंग्रेजी फिल्म रिलिज भए । यद्यपि, दर्शकको उपस्थिति भने उत्साहजनक देखिएको छैन । कारण, नोबडी पहिले रिलिज भइसकेको थियो भने 'फास्ट एण्ड फ्युरियस ९'लाई दर्शकले डिजिटल माध्यममा हेरिसकेका छन् ।

नयाँ फिल्म हलमा नपाएपछि दर्शकको उपस्थिति भने कमै पाइएको छ । सरकारी बिदा रहे पनि दर्शक उपस्थिति न्यून रहनुलाई वितरक स्वाभाविक रूपमै लिन्छन् । वितरक करण श्रेष्ठले दशैँ अगाडिको समयमा दर्शक चाप हलमा निकै कम हुने बताए । 

'दशैँको किनमेल भएको र हलमा नयाँ फिल्म नभएकाले दर्शकको उपस्थिति कम भएको हो, आउँदो हप्ताबाट बढ्न सक्छ', उनले भने । आउँदो हप्ता भने एक नेपाली र एक अंग्रेजी फिल्म रिलिज हुँदै छन् । २६ असाेजमा ‘डाँडाको वरपीपल’ रिलिज हुँदै छ भने त्यसको २ दिनपछि जेम्स बन्ड सिरिजको नयाँ फिल्म ‘नो टाइम टु डाई’ रिलिज हुँदै छ।