निजी सवारी होइन युद्धपोतः नरेन्द्र मोदी

निजी सवारी होइन युद्धपोतः नरेन्द्र मोदी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २६, २०७६

एजेन्सीकाे सहयाेगमा 

प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी सभामा पूर्व प्रधानमन्त्री राजीव गान्धीलाई तारो बनाउन छोडेका छैनन् । 

केही समय पहिले राजीव गान्धीलाई एक नम्बरको भ्रष्ट भनेका उनले बुधवार दिल्लीको रामलीला मैदानको सम्बोधनमा पनि राजीवलाई छोडेनन् । यसपटक उनको आरोप फरक थियो । कांग्रेसको करतूतका बारेमा बोल्दा किन कांग्रेसीलाई झोक चल्छ भन्दै उनले भने, राजीव गान्धीले देशको सुरक्षा संवेदनशीलतामाथि वेवास्ता गर्दै सैनिक युद्धपोतलाई निजी सवारी झैं उपयोग गरेका थिए । यसले युद्धपोतको अपमान भएको छ भने सुरक्षा संवेदनशीलतामाथि खेलवाड भएको छ, माेदीले भने ।  

२०१३ नोभेम्बर २१ मा प्रकाशित समाचारको हवाला दिंदै प्रधानमन्त्री मोदीले भने, भारतीय युद्धपोत आइएनएस विराटको प्रयोग राजीव गान्धीले आफ्नो छुट्टी मनाउन प्रयोग गरेका थिए । 

छुट्टीका लागि लक्ष्यद्वीपको ३६ द्वीप मध्येको एक बंगाराम छनौट गरिएको थियो । समुद्री द्वीपको रक्षा गर्नका लागि खटिनु पर्ने आइएनएस विराट पूरा १० दिन बंगाराममा राजीव गान्धीको सेवामा खटिएको थियो । 


  
बंगाराम द्वीप छनौट गर्नुको कारण उक्त द्वीपमा विदेशी नागरिकको आवागमनमा प्रतिवन्ध छैन् । जहाँ छुट्टी मनाउनका लागि सोनीया गान्धीका माइती इटालीबाट उनकी आमा, भाई, मामा तथा बहिनी ज्वाँइ पनि सामेल थिए । यसका अतिरिक्त राहुल गान्धी र प्रियंकाका चार जना साथी तथा अभिताम बच्चन, जया बच्चन, अमिताभका भाई अजिताभको छोरी पनि सहभागी थिइन् । 


 
छुट्टी मनाउनका लागि राजीव तथा सोनिया १९८७ डिसेम्बर ३० मा बंगाराम पुगेका थिए । अभिताम बच्चन भने भोलिपल्ट कोचिन– कावारत्ति हेलिकोप्टर उडानबाट त्यहाँ पुगेका थिए ।