कुमार राई: भलिबलको ‘भोक’ र ‘भात’ले दिलाएको राष्ट्रिय पहिचान, जिम्मेवारी र बाध्यताले उचाल्दै पछार्दै

कुमार राई:  भलिबलको ‘भोक’ र ‘भात’ले दिलाएको राष्ट्रिय पहिचान, जिम्मेवारी र बाध्यताले उचाल्दै पछार्दै

आशिष पौडेल  |  अन्तर्मन्थन  |  आश्विन २३, २०७८

सोख कसैकसैका लागि पहिचानको आधार बन्न सक्छ । काठमाडौं नैकापको न्यू डाइमण्ड एकेडेमीका प्रिन्सिपल तथा भलिबल प्रशिक्षक कुमार राईका लागि भलिबल खेल्ने सोख अहिले राष्ट्रिय पहिचान दिने आधार बनेको छ । 

अभावले थिल्थिलिएका, अनवरत श्रमले पाकेका, परिस्थितिसँग सधैँ जुधिरहेका कुमार राई जीवनको उत्तरार्द्धमा पनि भलिबलका लागि जुधिरहेका भेटिन्छन् । 

संखुवासभाको अनकन्टार गाउँ तत्कालीन माल्टा गाउँ पंचायतको साँगाली चौतारा गाउँबाट बाबुले दिएको जम्माजम्मी एक हजार रुपैयाँ, त्यसमा पनि हवाईजहाजको टिकट किनेर बाँकी रहेको पैसा अनि शरीरमा लगाएको एकसरो कपडामा राजधानी प्रवेश गरेका कुमारको जीवनगाथा अहिलेको परिवेशमा कुनै दन्त्यकथा र त्यसको पात्र कुमार भएझैँ लाग्छ । 

भलिबलको ‘भोक’ र ‘भात’का लागि सधैँ जुधिरहेका कुमारको कथा हाम्रो समाजको ऐना हो भन्ने लाग्छ । अहिले उनीसँग नेपाली महिला भलिबलमा राष्ट्रिय च्याम्पियन टोली छ- उनले आफैँले बच्चैदेखि भलिबल प्रशिक्षण गरेको खेलाडीहरूको । 

भलिबल टिमको संयोजन पनि गज्जबले गरेका छन् । दार्चुलादेखि झापासम्मका करिब ४० जनालाई उनले माध्यमिक शिक्षा र भलिबल खेलको सीपको व्यवस्था गरेका छन् । यहाँ उल्लेख नगरेको अर्को कुरा छ, ती छात्रा-खेलाडीलाई दालभातको जोहो गर्ने काम । पाठकलाई लाग्न सक्छ, को हुन् त कुमार !

कुनै कुरामा मान्छेको मन बस्यो भने जस्तोसुकै परिस्थितिमा पनि उसले त्यस कर्मलाई निरन्तरता दिन्छ । यस्तै नाम हो भलिबलका लागि कुमार राई ।

राम्रो पढ्दापढ्दै पनि आफ्नो आर्थिक अवस्थाका कारण उच्चशिक्षा हासिल गर्न नपाएका उहाँ विभिन्न हण्डर, ठक्कर खाँदै शिक्षणमै ठोकिनुभएको छ ।

आफ्नै व्यक्तिगत लगानीमा भलिबल प्रशिक्षण गराउँदै राष्ट्रिय खेलाडी जन्माउनुभएका उहाँ आर्थिक अवस्थाका कारण नै कतै यस क्षेत्रबाट पछि हट्नुपर्ने त होइन भन्ने विषयमा समेत सोच्न पुग्नुभएको छ ।  

पारिवारिक अवस्था

उहाँका बुबा ब्रिटिस आर्मी । तर पनि बुबाका ५ जना दाजुभाइ भएकाले एक जनाको आमदानीले आर्थिक स्थिति सुदृढ हुन सकेन वा भनौँ, आर्थिक अवस्था भने खराब नै थियो । यसमा भने भविष्यप्रतिको सोच नहुनु र राईहरू मोजमस्तीमा लाग्नु हो भन्नुहुन्छ उहाँ । 

उहाँका बुबाको जन्म संखुवासभाको गैरी पाङमा भएको हो । तर, पछि उहाँका बुबाले पाङ्मा खोलाको किनारमा रहेको जंगल, जसलाई मालबासे भनिन्छ, त्यहाँ गएर घर बनाएर बस्नुभयो । 

उहाँको बुबाका ५ दाजुभाइ, ५ दिदी बहिनी । उहाँका बुबा काइँलो । कुमार पनि काइँलो नै । 

पछि छुट्टाभिन्न भएपछि पनि प्रगति नभएपछि उहाँका बुबा माल्टाको साँगाली चौतारो भन्ने ठाउँमा बन्धकी जग्गा किनेर बसाइँ सराइ गर्नुभयो । 

जग्गा झण्डै २५ पाथी धानको बिउ लाग्ने खेत र बारी पनि त्यत्तिकै । तर, उत्पादन भने १० मुरी धान पनि नहुने र सधैँ दुःखको दुःख नै । 

३ महिना धान, ३ महिना मकै तथा ३ महिना कोदोले धान्थ्यो । बाँकी ३ महिना बेसाउन पर्‍यो । अब बेसाउने पैसा कहाँबाट आउनु ?

पैसा नभएपछि जग्गा पास गर्न सकिएन अनि त्यो जग्गा अधियाँमा परिणत भयो । उत्पादनको आधा आफूलाई अनि आधा साहूलाई ।

बीसौँ वर्षपछि त्यसबेला कमाइ गर्ने किसानहरूलाई जोताहा भर्ने अर्थात् मालिकको जमिनमा कमाइ गर्नेहरूको हक संरक्षण गर्ने अवसर पनि जुरेको हो । गाउँघरका सबैले उहाँलाई आधा आफ्नो नाममा गर्नुपर्छ नभनेका होइनन् । तर, बुबासँग सल्लाह गर्दा ‘एक पाइलो जमिन लिनुहुँदैन, पाप लाग्छ’ भनेपछि उहाँले त्यो कुरो छाड्नुभयो । 

जन्म तथा बाल्यकाल

उहाँको जन्म ठ्याक्कै कति साल हो, थाहा भएन । यस कारण कि बुबा २०२६ साल भन्ने अनि आमा २०२४ । त्यसपछि उहाँले दुवैको कुरा नमानेर जन्म मिति २०२७ साल राखेर नागरिकता बनाउनुभयो । उहाँको जन्म भने संखुवासभाको पाङमा, मालबासेमा भएको हो । 

उहाँका ५ दाजुभाइ तथा २ दिदीबहिनी । उहाँको बाल्यकाल खास सुखद रहेन । काम गरेको गर्‍यै बित्यो बाल्यकाल । 

गोरु जोत्ने, खन्ने, घाँस काट्ने, दाउरा काट्ने आदि गरेर बित्यो उहाँको बाल्यकाल । 

बुबाले यति गरा जोतेर सक्नू भनेपछि त्यसको योजना बनाएर राति नै उठेर काम सकेर स्कुल जानुभन्दा एकछिन अगाडि भलिबल लिएर उहाँ चौरमा पुग्नुहुन्थ्यो । उहाँको बाल्यकालको खेल भनेको यही सम्झिनुहुन्छ कुमार । 

प्रारम्भिक शिक्षा

उहाँको प्रारम्भिक शिक्षा माल्टाको स्कुलमा भएको हो । स्कुल घरभन्दा ४५ मिनेटको दूरीमा बेँसीमा थियो ।  

उहाँ भेडा चराएर बस्नुहुन्थ्यो । छिमेकीले ‘अरू सबै पढ्न गए, तँचाहिँ गोठालो भएर बस’ भनेपछि उहाँ ९ वर्षको उमेरमा भेडा चराउन छाडेर स्कुल जानुभयो । त्यस बेला एउटा त्रैमासिक परीक्षा भने सकिइसकेको थियो । 

उहाँलाई घनश्याम सरले क का, अ आ, ए बी सिकाउनुभयो । उहाँलाई त्यो सबै कण्ठाग्र भयो । 

तर, एउटा त्रैमासिक परीक्षा सकिइसकेकाले उहाँलाई स्कुलले भर्ना गर्न मानेन । पछि उहाँकै गाउँका योगराज सरले ‘काँल्दाजुको छोरा रहेछ, पढ्ने रहर गर्‍यो’ भनेर चूडामणि हेडसरलाई भनेपछि उहाँको भर्ना भयो । 

उहाँलाई क्लब व्यवस्थित गरेर युरोपियन स्ट्याण्डर्डका खेलाडी जन्माउने रहर छ । यसका लागि निजी लगानीबाट करिबकरिब असंभव रहेको हुँदा सरकारले नै यस्तो लगानी गर्ने मान्छेलाई हेरिदिएका खण्डमा त्यो राष्ट्रकै लागि हुने उहाँको भनाइ छ । 

पहिले वर्ष उहाँ छैटौँ हुनुभयो । खासमा छैटौँ भनेको पनि उहाँलाई थाहा थिएन । पछि ५ जना पछाडि भन्ने थाहा पाएपछि भने उहाँलाई अब पहिलो हुने धुन चल्यो । 

अनि २ कक्षामा तेस्रो, ३ कक्षामा दोस्रो र त्यसपछि भने उहाँ सधैँ पहिलो । 

पेज-पेज कण्ठ

७ कक्षा पढेपछि भने उहाँलाई बुबाले ‘अब यो अधियाँ खेतीले खान पुग्दैन । तेरा दाजुहरूले हेर्दैनन् । त्यस कारण अब तँ नपढ् । म पढाउन सक्दिनँ । तँ जेसुकै गर’ भन्नुभयो । 

परिस्थिति यस्तो आयो कि उहाँले बुबालाई ‘तपाईं जस्तो हली भएर खान्नँ’ भनेर जबाफ लगाउनुपर्ने दिन पनि आयो । 

उहाँले ७ कक्षामा जिल्ला टप गर्नुभयो । त्यसबापत उहाँले २४५ रुपैयाँ पुरस्कार पनि पाउनुभयो । साथमा साबुन, कापीहरू पनि निकै थिए पुरस्कार । 

त्यसपछि २४५ रुपैयाँ लिएर उहाँ पाङमा गाविसको माने भञ्ज्याङको प्रस्तावित महेन्द्र माध्यमिक विद्यालयमा जानुभयो । भर्ना पनि हुनुभयो । किताब पनि किन्नुभयो । 

महेन्द्र माध्यमिक विद्यालयको वातावरण माल्टाको स्कुलको जस्तो थिएन । टिफिनको समय र ४ बजेपछिको समयमा विद्यार्थी र शिक्षक मिलेर भलिबल खेल्दा रहेछन् । ‘त्यो देखेर मलाई पनि खेल्ने हुटहुटी जागेर आयो । जानेको थिएन । मौका पाएका बेला बललाई हिर्काउन मात्र जानियो’, कुमार भन्नुहुन्छ । 

जति किताब किनेर लगेर पढ्नुहुन्थ्यो, उहाँलाई नआउने केही थिएन । उहाँलाई पेज-पेज कण्ठ हुन्थ्यो । 

शिक्षकले कक्षामा पढाएको जस्तो बोली निकालेर, उस्तै हाउभाउ गरेर दुरुस्तै पढाउन सक्नुहुन्थ्यो उहाँ । कुनै शिक्षक नआउँदा उहाँले पढाएको पाठ सबै कण्ठाग्र पढाउन सक्नुहुन्थ्यो । 

सबै कण्ठाग्र आउने कारण अब उहाँ दिउँसो बचेको समय स्कुल नगई बाँसघारीको चौरमा सुत्न थाल्नुभयो । 

एक दिन गौरी सरले चाल पाएपछि उहाँलाई बोलाउन पठाउनुभयो । 

‘तँ किन यसरी बसेको ?’ भन्दा उहाँले ‘मलाई सबै आउँछ, त्यही भएर’ भन्नुभयो । सरले सोध्नु पनि भयो । उहाँले सबै बताएपछि कसको छोरा भन्ने कुरा आयो । 

‘काइँलाको छोरा भनेपछि गौरी सरले बुबालाई मेरो नाम लिनु, काका भन्नुहुन्छ भन्नुभयो’, कुमार स्मरण गर्नुहुन्छ ।

पछि उहाँ कक्षामा त बस्न थाल्नुभयो तर समय निकालेर खाजा खान दिएको पैसा उबारेर बाजी खेल्ने गर्न थाल्नुभयो । 

त्यसो हुँदा सबैले चिन्ने पनि । राम्रो खेलेमा हौस्याउने पनि । पढाइ नभएका बेला भने पाङ्मा खोलामा माछा मार्ने । 

जाँच भनेको वार्षिक तथा अर्धवार्षिक परीक्षामा भाग लियो । तर, सधैँ पहिलो । 

होमकुमार सरले डोहोर्‍याएको बाटो

यो सबै कुरालाई मिहिन रूपमा नियालिरहेका अर्का शिक्षक  होमकुमार ढुंगाना सरले ‘कुमार ! के खाने ?’ भनेर सोध्नुभयो । 

खाजा खाने भनेकै थाहा हुँदैनथ्यो । त्यसबेला खानेकुरा नै के हुन्थ्यो र ! उहाँले ‘बिष्टको पसलमा थुक्पा खाने’ भन्नुभयो, दुई-चार टुक्रा मासुसहित । 

थुक्पा खाइसकेपछि होमकुमार सरले ‘एउटा कुरा भन्छु मान्’ भन्नुभयो । के होला ? उहाँलाई खुल्दुली भयो । 

‘अब तँ जस्तो पढ्न जान्ने मान्छे यहाँ पढेर हुँदैन । खाँदबारीको हिमालय माध्यमिक विद्यालयमा जानुपर्छ’ भन्नुभयो । 

उहाँले ‘पढ्नलाई मसँग पैसा छैन । यहाँ पढेको त अस्ति न २४५ रुपैयाँ पुरस्कार पाएका कारण मात्र हो । पैसा छैन, अब कसरी पढ्ने ?’ भन्नुभयो । 

होम सरले ‘मैले चिनेको जंगबहादुरप्रसाद ठाकुर हेडसर हुुनुहुन्छ, म मिलाउँछु । भोलि बिहान आइज’ भन्नुभयो । 

कुमार भोलि बिहानै सरसँग लाग्नुभयो जंग सरकहाँ । स्कुलको एक तलामाथि सर बसिरहनुभएको थियो । 

होम सरले ‘यो केटो एकदमै 'ब्रिलियण्ट' छ । कक्षामा अनुपस्थित भएर पनि सधैँ पहिलो हुन्छ । त्यही भएर यसलाई हाम्रो स्कुलमा भएन, यहाँ हुन्छ भनेर ल्याएको’ भन्नुभयो । 

‘केटाको अर्थिक स्थिति एकदमै दयनीय भएका कारण पैसा दिन सक्दैन । सरले मिलाइदिनुपर्‍यो’ भन्नुभयो । जंग सरले ‘ल भोलिदेखि पढ्न आउनू, केही गर्नुपर्दैन’ भन्नुभयो । 

स्कुल जान २ घण्टा

तर, स्कुल टाढा भएका कारण दौडेरै जाँदा पनि २ घण्टा लाग्थ्यो । जान २ घण्टा, आउन २ घण्टा । बुबाले ‘हामी घरको काम गर्न सक्दैनौँ । पहिले पनि तैँले गरेको, अहिले पनि तैँले गर्नुपर्छ’ भन्नुभयो । 

एकछिन बल खेल्न पनि मन लाग्ने । तर, एकछिन बल खेल्दा भने मुटु नै बाहिर आउला जसरी कुदेर स्कुल जानुपर्थ्यो । 

एक दिन जंगबहादुर सरले ‘तँ त्यो भित्ताबाट आउँदो रै’छस् । आउने-जाने मात्रै होला जस्तो छ तेरो । पढ्ने फुर्सद छैन जस्तो छ । केही समय त पढ्नु पनि पर्ला’ भन्नुभयो । कुमारले ‘हो सर, तर म पढ्छु’ भन्नुभयो । 

उहाँले ऐच्छिक गणित र विज्ञान लिनुभएको हो । अजयप्रसाद ठाकुर सरले पढाउनुहुन्थ्यो ऐच्छिक गणित । उहाँ पढ्ने अथवा अभ्यास गर्ने भन्दा पनि पढाएको बेलामा नै सबै कुरा कण्ठाग्र गराएर दिमागमा छिराउनुहुन्थ्यो । 

जाँचमा त्यही दिमागमा छिराएको कुरा लेख्नुहुन्थ्यो । उहाँको पढाइ भनेको यस्तै हुन्थ्यो । तर पनि नम्बर राम्रै आउँथ्यो । 

एसएलसी

उहाँले २०४४ सालमा एसएलसी दिनुभएको हो । यसरी पढेर नम्बर राम्रो त के आउला तर फेल हुन्नँ भन्ने रहेछ उहाँलाई । 

उहाँलाई लेख्ने बानी चाहिन्छ भन्ने कुरा एसएलसीको जाँचमा मात्र थाहा भयो । लेख्ने बानी नभएका कारण लेख्न ढिला हुन्थ्यो । 

४०-५० नम्बरको हल गर्दैमा ३ घण्टाको समय सकिन्थ्यो । तर, एउटा कुरा, उहाँले जति नम्बरको हल गर्नुहुन्थ्यो, त्योभन्दा २  नम्बर मात्र कम आउँथ्यो । 

४० नम्बर हल गरे, ३८, ५० नम्बरको हल गरे ४८ । यस्तो हुन्थ्यो उहाँको आउने नम्बर । 

काठमाडौं यात्रा

उहाँलाई नतिजा राम्रो आउँछ, त्यस कारण अब काम गरेर बुबालाई फकाएर केही पैसा लिएर काठमाडौं भाग्नुपर्छ भन्ने लागेर असारमा एक दिनबाहेक सबै दिन काम गर्नुभयो । 

त्यसपछि बुबा खुसी भएर उहाँलाई एक जोर कपडा किन्न एक हजार रुपैयाँ दिनुभयो । उहाँको उद्देश्य पूरा भयो । त्यो पैसाले ईश्वर श्रेष्ठ भन्ने साथीलाई अनुरोध गरेर काठमाडौं जाने २४५ रुपैयाँको हवाई टिकट किन्नुभयो । बाँकी पैसा र शरीरमा लगाएको लुगा अनि चप्पलमा जहाजबाट काठमाडौं उत्रिनुभयो । 

काठमाडौंमा उहाँको एक जना मीत दाजु हुनुहुँदो रहेछ, समाजसेवी राजेन्द्र पोखरेल । साथी ईश्वरको साथ । यति भएपछि जे त होला भनेर उहाँले काठमाडौं आउने आँट गर्नुभएको हो । 

उहाँलाई काठमाडौंका गाडी, बाटो देखेर एक पटक सातो पनि गयो । आएपछि राजेन्द्र दाइलाई खबर पनि गर्नुभयो । 

‘राजेन्द्र दाइलाई भेटेपछि उहाँले आफ्नो भाइ रामचन्द्रलाई तँ काठमाडौं आएको दिन कति भात खा’को थिस्, त्यति नै भात पकाएर ख्वा’ भन्नुभयो ।

कुकरमा पकाएको भात, कुमारले एक कुकर नै खाइसक्नुभयो । उहाँलाई लाग्यो, स्वर्ग भनेको यही नै हो । 

राजेन्द्र दाइले ‘केटो काठमाडौं आएको छ’ भनेर बुबालाई आवा (आकाशवाणी) गरिदिनुभयो । मीतछोराले भनेको भनेपछि उहाँको बुबाले केही पनि नभन्ने । 

मीत लगाउँदा पनि एक दिनको कर्मकाण्ड गरेर भव्य तरिकाले लगाइएको रहेछ उहाँका भाइसँग । 

बुबाको १० हजार पनि झ्वाम्

बुबाले पेन्सन थापेको समयमा १० हजार रुपैयाँ पठाइदिनुहुन्थ्यो । त्यो भनेको ६ महिनाको एक पटक । 

कोठामा बस्दै गर्दा एक जना भोजपुरका राई भेट भए । चिनजान गर्दै जाँदा मावली खलकका दाजु पर्ने देखियो । आउ-जाउ बढ्यो । 

हिमचिम बढेपछि दाजुलाई भाइको घरबाट १० हजार रुपैयाँ पठाइदिएको थाहा भयो । 

दाजुले ‘पर्सि मेरो पैसा आउँदै छ’ भनेर फुत्काए । त्यसपछि खोज्न जाँदा दाजु डेरा सरेर टाप । 

पछि एक दिन टुकुचा खसी बजारमा भेट भयो दाजु-भाइको । ‘के हो त दाजु ?’ भन्दा दाजुले भाउजू बिरामी भनेर वीर अस्पतालमा लगेर देखाए । 

भए अझ दिनुपर्ने भनेर उहाँले मुख फोर्न पनि सक्नुभएन । पछि जाँदा न भाउजू अस्पतालमा, न दाजु डेरामा । उहाँको ६ महिनाको खर्च सकियो । 

राजनीतिक यात्रा

त्यसपछि न किताब, न पढाइ । अनि, सुरु भयो उहाँको राजनीतिक यात्रा- सर्वहारा वर्गको उत्थानका निमित्त । 

२०४६ सालको जनआन्दोलनको समय थियो त्यो । उहाँ ४० दिनको यात्रामा आफ्ना जिल्लाका सबै गाउँ घुम्नुभयो । राजनीतिको उपलब्धि यही नै रह्यो ।

कार्यक्रम सकिएपछि उहाँ घर लाग्नुभयो । तर, बुबाले ‘तँ पार्टीको मान्छेलाई हामी हेर्न सक्दैनौँ’ भनेपछि उहाँ मालबासेमा काकाकाकीकहाँ जानुभयो- काठमाडौं आउन खर्च माग्न ।

धन्न, काकीसँग केही बेचेको पैसा रहेछ र उहाँले पाउनुभयो- एक हजार रुपैयाँ । 

उहाँ काठमाडौं त आउनुभयो तर अब बस्ने कहाँ ? समस्या पर्‍यो । राजनीति गर्दा थानकोटका कमाण्डर राममान गोपालीसँग उहाँको चिनजान थियो ।

ब्राइट फ्युचर स्कुलमा शिक्षण

उहाँ गोपालीको घरमा नै बस्न थाल्नुभयो । गोपालीले उहाँलाई ‘पढाउन सकिन्छ त ?’ भनेर सोध्नुभयो । अब उहाँले थाल्नुभयो ब्राइट फ्युचर स्कुलको शिक्षकका रूपमा अर्को यात्रा । यो २०४८ सालको कुरा हो ।

उहाँको पहिलो तलब आयो एक हजार रुपैयाँ । तर, उहाँ भने आफूलाई भन्दा अरूलाई सहयोग गर्नमा रुचि राख्ने । तलब त त्यसै सकिने ।

आफ्नो पुरानो सोख भलिबल खेल्दा त्यहाँ वरपरका अभिभावकले ‘तपाईंहरू आफू मात्र नखेल्नुहोस्, बच्चाहरूलाई पनि तालिम गराउनुहोस्’ भन्न थाले । 

तालिम भयो । खेल्न पनि राम्रै खेल्न थाले । तर, अब खेल नै नभएपछि कहाँ खेल्नु ? आफैँ आयोजना गर्ने भनेर रंगशालको कभर्ड हलमा २० हजार रुपैयाँ पुरस्कार राखेर प्रतियोगिता गर्नुभयो । स्कुलले ३० हजार रुपैयाँ दिने भयो ।

खर्च भयो २ लाख १५ हजार रुपैयाँ । सबै खर्च पुग्यो तर रेफ्रीलाई दिन ५० हजार रुपैयाँ पुगेन । उहाँले स्कुललाई भन्नुभयो । 

तर, स्कुलले भने ‘यसो गरेर हुँदैन, पैसा मिलाउन पनि जान्नुपर्छ’ भन्यो । उहाँको स्वभाव देखेर स्कुलले भनेको तर, उहाँलाई ‘मलाई यसो भन्ने ?’ जस्तो लाग्यो ।

अनि उहाँले स्कुल छाड्ने निधो गर्नुभयो । उहाँले जिस्केर भनेको होला भन्ने अरू सरलाई लाग्यो । तर, उहाँले भने छाड्ने नै निधो गर्नुभयो । यो २०६१ सालको कुरा हो ।

न्यू डाइमण्ड स्कुल सुरु

ब्राइट फ्युचर छाडेपछि उहाँले अरू साथीहरूसँग मिलेर न्यू डाइमण्ड स्कुल सुरु गर्नुभयो ।

स्कुल सुरु गर्नका लागि टहरा बन्दै थिए । एक दिन यसो टहरा हेरेको त हल्लिएजस्तो लाग्यो । हो कि होइनको धरमरमा नजिकै गएर हल्लाएको, हल्लिने रहेछ ।

उहाँले त्यो टहरो आफैँ भत्काउन थाल्नुभयो- स्याण्डो र भेस्ट लगाएर ।

त्यसै बेला एक जना मानिस आएर ‘यो स्कुलको संचालक को ?’ भनेर सोधे उहाँलाई । उहाँले ‘म नै हो’ भन्दा ‘मैले ज्यामी खोजेको होइन’ भन्ने जबाफ आयो उताबाट ।

उहाँ हुनुहुँदो रहेछ, विद्यालय निरीक्षक । माघमा बन्दै गरेको स्कुल वैशाखमा चालू गर्ने भन्दा उहाँले ‘हेरौँला’ भनेर जानुभयो । 

नभन्दै निरीक्षक स्कुल सुरु हुने दिन ५ वैशाखमा अरू नआई बिहान पौने १० बजे नै स्कुलमा पुग्नुभयो । उहाँले आफैँले ५२ जना विद्यार्थी पनि गन्नुभयो त्यसबेला । 

उहाँले ‘तपाईं कहाँबाट आउनुभएको ?’ भनेर सोध्नुभयो । उहाँले ‘ब्राइट फ्युचर’ भनेपछि निरीक्षक ब्राइट फ्युचर जानुभयो हान्निएर । 

ब्राइट फ्युचरमा सोध्दा उहाँ साह्रै मिहिनेती र इमान्दार मान्छे भनेपछि उहाँलाई स्कुल दर्ता प्रक्रियामा सबै सघाउने वचन दिएर निरीक्षक जानुभयो । 

उहाँले स्कुल छाडेर जानेको प्रशंसा गरेको पहिलो पटक सुनियो पनि भन्नुभयो । 

निरन्तर भलिबल

२०६२ सालमा पुरुष भलिबल, २०६३ सालमा एथ्लेटिक्स तथा २०६४ सालदेखि भने उहाँ निरन्तर रूपमा महिला भलिबल प्रशिक्षकको रूपमा सक्रिय रहनुभएको छ । 

२०६५ सालदेखि विद्यालयस्तरीय प्रतियोगिताहरू जित्न सुरु भएपछि अहिलेसम्म उहाँले पछाडि फर्केर हेर्नुपरेको छैन । २०६६ सालमा उहाँले खुला प्रतियोगिता जित्नुभयो । २०६९ सालमा नेपाल भलिबल संघले आयोजना गरेको एक लाख ५० रुपैयाँ राशिको पुरस्कार पनि जित्नुभयो । 

तर, यी सबैमा लगानी भने उहाँ स्वयंको रहेको छ । स्कुल सानो भएको हुनाले पर्याप्त खर्च गर्न सक्दैन अनि जसरी पनि यसको दायित्व भने उहाँले बोकिरहनुभएको छ । 

उहाँले आफ्नै लगानीमा आमाबाबु नभएका तथा अन्य रुचि भएकालाई पनि प्रशिक्षण गर्दै आउनुभएको छ । 

कुमारले १० वटा राष्ट्रिय प्रतियोगिता जित्नुभएको छ । अन्य सानातिना प्रतियोगिता जितेका मेडल तथा कप उहाँको एउटा कोठामा नअट्ने गरी देखिन्छन् । 

कुमारले एउटा प्रतियोगिताका लागि गोरखपुरबाट केही महिला खेलाडी लिएर आउनुभयो । प्रतियोगिता पनि जित्नुभयो । तर, त्यसमा गरेको २ लाख रुपैयाँ लगानी भने उठेन । 

विदेशीलाई त २ लाख रुपैयाँ लगानी गरियो भने आफ्नैलाई किन नगर्ने ? भनेर कुमार बेहिसाब लागिरहनुभएको छ । त्यसअनुरूप खेलाडी पनि जन्मिएका छन् । तर, यसले उहाँको व्यावहारिक आर्थिक हिसाब भने चौपट भएको छ । 

जिन्दगीको चौपट हिसाब

आर्थिक कारणले नै उहाँ स्कुलबाट हट्ने तथा क्लब भने चलाउने विषयमा समेत सोचिरहनुभएको छ । 

कसैले आर्थिक सहयोग गरेका खण्डमा उहाँको यो जीवनभरको लगानी चटक्कै छाडेर हिँड्ने मन उहाँलाई पनि छैन । 

उहाँलाई क्लब व्यवस्थित गरेर युरोपियन स्ट्याण्डर्डका खेलाडी जन्माउने रहर छ । यसका लागि निजी लगानीबाट करिबकरिब असंभव रहेको हुँदा सरकारले नै यस्तो लगानी गर्ने मान्छेलाई हेरिदिएका खण्डमा त्यो राष्ट्रकै लागि हुने उहाँको भनाइ छ । 

उहाँको प्रशिक्षणमा रहेको महिला भलिबल टिमले हालै आर्मी, पुलिस तथा सशस्त्र प्रहरीको विभागीय टिमलाई हराएर प्रतियोगितासमेत जितेको छ ।