देशको चिन्ता

देशको चिन्ता

घनेन्द्र ओझा  |  साहित्य  |  आश्विन २३, २०७८

केही बेरमै ढल्किनेछ
आकाशमा फुलिरहेको घाम
छोपिनेछ धर्ती निष्पट्ट अँध्यारोले
एउटा भयानक मूर्दा-शान्तिको उदय हुनेछ!

स्तब्ध बन्नेछ जग
सुनसान हुनेछ सारा
हो, अनि जाग्नेछ निस्तब्धता
अनि जुर्मुराउनेछ उदासी
तर, होइन
तब उठ्नेछ बदमासी
तब हिँड्नेछ अत्याचार!

शहरको कुनै महँगो रेस्टुराँमा
टुप्लुक्क झुल्किनेछ 'समाजसेवी'
सँगसँगै आइपुग्नेछ 'भद्र नेता'
हरिण, बँदेल वा केही नभए
ब्रोइलर कुखुराका साँप्रा लुछ्दै
बोल्नेछ शहरको नामुद व्यापारी
- 'नेताजी, भन्नुहोस् के सेवा गरूँ !'

विदेशी रक्सीले रन्थनिँदै गएको समाजसेवी
थप्नेछ- 'यो देशकै गहना हो नेताजी !'

रमरमाउँदै गएको तस्कर (माफ गर्नुहोला- व्यापारी)
बन्नेछ उद्वेलित र भन्नेछ -
'यो देशको (यसो भन्दा उसको दाहिने हातले
समाउनेछ बडेमानको आफ्नै पेट) विकास
हजुरबाट मात्र छ संभव'
 'दूधको साक्षी बिरालो' नियतिमा
चुस्कीसँगै बिगारेर मुख
हिसाब गर्दै 'समाजसेवा'को
छामेर आफ्नै खल्ती
बोल्नेछ 'समाजसेवी'
- 'ठीक भन्नुभो- नेताजीको भर साहुजीलाई, साहुजीको भर नेताजीलाई!'

अचानक प्रवेश हुनेछ 'देशभक्त राष्ट्रसेवकको'
भन्नेछ देखाउँदै व्यापारीतिर
- 'फाइल अघि बढिसकेको छ उहाँको !'

थपिँदै जानेछ
रक्सी-मासु र परिकारहरू
उसरी नै थपिइँदै जानेछन्
- शहरका नामुद तस्कर, डन, माउसुली, साङ्ला आदि
र, कुटुकुटु खानेछन् रक्सी र मासुसँगै
-देश, विकास र जनविश्वास !

उदाउनेछ घाम बिहान उसरी नै
तब निदाउनेछन् यी सब
- अँ, अभिनय गर्नेछन् निदाएको
र, ढलेपछि घाम आकाशमा
'जम्नेछन्' उसरी नै
- 'देश बनाउन!'