धार्मिक यात्राको एक महिने रन्को र भारतीय रेलको दूरवस्थाको एक फन्को

फर्कलान् र ती दिनहरू

धार्मिक यात्राको एक महिने रन्को र भारतीय रेलको दूरवस्थाको एक फन्को

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  असोज २२, २०७८

संसारका सचेत प्राणीहरूका केही विशेषताहरू हुन्छन् र त श्रुति तथा स्मृतिहरूले या हाम्रा पूर्वीय दर्शनलाई स्पष्ट गर्नका लागि प्रमाण ग्रन्थहरू-पुराणहरूले अनादिकालदेखि नै भन्दै आएका छन्- प्राणी मात्रमा चेतना हुँदा (वनस्पतिबाहेकका सजीव प्राणीहरूमा) यी अत्यावश्यक गुणहरू विद्यमान हुन्छन्, ती हुन्-आहारा, निद्रा, भय, मैथुन । 

आहारा बाँच्नका लागि आवश्यक तत्त्वका रूपमा, निद्रा शरीरको आरामका लागि, जसले शरीरलाई तन्दुरुस्त बनाउने काम गर्छ, भय मानव मात्रका परिणामको कल्पनामा मिश्रित संवेदशीलता उत्पन्न हुन्छ, त्यही नै डर हो । डरका लागि आफ्नाआफ्ना संस्कृति, चलन भए पनि भयले एउटा अनुशासनको काम गर्ने रहेछ । मैथुनका कुरालाई यदि छाडा रूपमा मात्र नबुझ्ने हो भने यो पुनरुत्पादनको एउटा प्रारम्भिक चरण हो, जुन प्रत्येक प्राणीमा स्वचालित रूपमा विद्यमान हुन्छ ।

जीवनको नयाँ स्वरूप भनेको नै पुनरुत्पादन प्रक्रिया हो र यो कहिलेदेखि चल्यो भन्ने भन्दा पनि कसरी सुरु भयो भन्नेबारेमा अहिले पनि अनुत्तरित रहस्य छ । तर, हामी यो संसारमा छौँ, अन्य प्राणी तथा वनस्पति छन् । त्यो सत्य हो र हामी सत्यको खोजीमा लाग्ने कुरा पनि हाम्रो अस्तित्वको आत्मस्वीकारोक्तिले पुष्टि गरेकै छ । 

विस्तारै यो ब्रह्माण्डमा मानव जातिको विकासक्रममा के गर्न हुन्छ, के गर्नुहुँदैन, गर्नै पर्ने कामहरूको विवरण तयार गर्न थालियो र बाध्यकारी अनुशासनका लागि जुन मार्ग तयार गरियो, सायद त्यसैलाई धारण गर्ने भनेर धर्मको नामकरण गरियो । 

अर्थात् एउटा त्यस्तो बाटो, जसले यो जन्ममा सुखको व्यवस्था गर्नेछ, आत्मसन्तुष्टिको चरम स्वरूप प्राप्त गराउनेछ । यदि मरेपछिको जीवनका बारेमा विश्वास गर्ने हो भने अर्को जन्ममा अझ बढी सुख सयलको प्राप्ति हुनेछ । त्यस्तो बाटोलाई धर्मको नाम दिइयो । 

त्यसो त धर्ममा पाखण्डीपन थपियो भने त्यसले आपसमा कलह पैदा गराउँछ र त्यस धर्मका नाममा कल्पित देवताका नाममा यहाँ मारामार सुरु हुन्छ । तर, जब सिद्धि प्राप्त हुन्छ अनि त्यहाँ सबै धर्मको बाटो उही देखिन्छ । यो ब्रह्माण्डको हितका लागि आफूलाई न्यौछावर गरेको पाइन्छ र सर्व धर्म, सबै देवताको एउटै अस्तित्वको सोलोडोलो स्वरूपको नयाँ चेतना पलाउँछ । सबै प्राणीहरूमा विद्यमान चेतनालाई आत्माको रूपमा स्वीकार गर्र्दै सबै आत्माको एउटै रूपमा देखिनेछ । अनि, त्यहाँ सबै मानवीय कर्तव्यभित्र आत्माको पूजा गरेको पाइनेछ, प्रकृतिको एकाधिकारभित्र आत्माको साम्राज्यसँगै सबैलाई एउटै दृष्टिकोणले हेर्ने सम्यक धारणाको समानताको आधार फेला परेको अनुभूत हुन्छ । 

कान्ताले भनिन्, ‘राजेन्द्र मामा त नेपालको मेजिस्ट्रेट हुनुहुन्थ्यो । त्यो बेलामा म काठमाडौं गएकी थिएँ, मामा त पश्चिमको शहरमा हुनुहुन्थ्यो । राजेन्द्रबाबु सीडीओ हुनुहुन्थ्यो ।’ धर्मेन्द्रको नाताकी बहिनी भेट्दा पनि र मैथिली भाषी मानिस भेट्दा पनि मलाई त आफन्त भेटेजस्तै भयो त्यत्रो रेलमा । 

वास्तवमा धारण गरिएको नैतिकताको धर्सोका रूपमा स्वीकृत धर्मले समानताको आधारमा प्राणी मात्रलाई एउटै देख्छ र कुनै पनि भेदभाव त्यहाँ देखिनेछैन । यो मानव धर्म नै प्रकृतिको पूजा हो र जन्म दिने बाबु र आमाभन्दा ठूला कुनै देवता छैनन् भन्ने चेतनाको विकास गराएको पाइन्छ ।

हाम्रो पूर्वीय दर्शनमा पाइने अनेक स्वरूपका धर्मको नामले पनि मानव धर्म र ब्रह्माण्डको हितका लागि मात्र सोचेका पाइन्छ । कसैले त्यसैलाई प्रकृति पूजा भने, कसैले त्यसैलाई आकारसहितको साकार पक्ष माने त कसैले पनि नदेखेकाले निराकार स्वरूपको आराधना गरे । नदेखिएको सर्वशक्तिमान शक्तिको साम्राज्यलाई निराकार स्वरूपमा मान्ने र देखिने बाबुआमा, गुरु, अनुभूत गरिने तर नदेखिने वायु, सधैँ प्रयोग गर्नै पर्ने भनेर प्रयोगमा रहेका प्रकृतिका देन पानी, आकाश, पृथ्वी, सूर्यका नाममा हामी बाँडियौँ र भन्न थाल्यौँ- यी सबै मेरो विश्वासका अदृश्य तर सर्वशक्तिमान कुनै तत्त्वको कृपाले यो ब्रह्माण्डको उत्पत्ति र विकास भएको हो । यसको निर्माणसँग विनिर्माण पनि अवश्यम्भावी छ । त्यही नै प्रकृतिको विकासक्रम हो । 

मैले धार्मिक भ्रमणको क्रममा ती विश्वासहरूलाई आफ्नाआफ्ना स्वीकृत मान्यताका आधारमा आपूmलाई अथ्र्याएको पाउँछु तर कतिपय अनुत्तरित प्रश्नहरूको उत्तरमा लिँडेढिपीले विश्वास गर्नै पर्ने जिरह मात्र पाएको छु । हामीले घुम्ने क्रममा पद्मावतीपुरीमा महामतीको रूपमा मानिनुहुने प्राणनाथजीको मुख्य स्थानका रूपमा पन्नाजीलाई पाएँ । जामनगर र सुरतमा मुगल साम्राज्यको छायाले ढपक्कै ढाकेको समाज रहेछ, जसले गर्दा प्राणनाथजीले जसरी हुन्छ, वैदिक संस्कृतिलाई जोगाउन भनेर असल पात्रको खोजीमा बुन्देलखण्डमा आएर पद्मावतीपुरीको स्थापना गर्नुभएको रहेछ । 

औरंगजेबलाई चित्त बुझाएर हिन्दु धर्मावलम्बीहरूको रक्षा गर्न भनेर गरेको कोसिसले सार्थकता नपाएपछि महामतीले राजा छत्रसाललाई मुगल साम्राज्यसँग भिड्ने प्रेरणा दिएको बुझिन्छ । त्यसका लागि वैज्ञानिक खोज गरेकाले त हीराको भण्डार पत्ता लगाएर त्यसको उपयोग प्रजा पाल्न र सम्पत्तिको जोहो गरेर हतियार किन्न, सेनाको खर्च चलाउन भनेर प्रेरणा दिनका लागि गुमट मन्दिर नै केन्द्रको रूपमा स्थापना गरेको अनुमान गर्न सकिन्छ । 

तारतम  सागर अर्थात् अन्धकारबाट उज्यालोतर्फको यात्राका लागि तयार गरिएको सम्पूर्ण धार्मिक ग्रन्थहरूको सार संक्षेपको रूपमा तारतम सागरको माध्यमबाट जनजागरण वा धार्मिक जागरणमार्फत् कर्तव्याकर्तव्यको जानकारी दिने क्रममा भारतभित्र मात्र नभएर खाडी मुलुकहरूमा समेत धार्मिक जागरण वा जागनीको काम गर्ने महामतिको यो धाम पद्मावती साँच्चै धार्मिकस्थल जस्तो लाग्छ । 

किलकिला नदीको किनारामा अवस्थित पद्मावतीपुरी त्यस बेलामा, मुगल साम्राज्यको जगजगीको बेलामा सुरक्षित ठाउँ रहेछ । पछि प्राणनाथजीले समाधि लिएपछि पनि छत्रसाल महाराजले भित्र समाधिस्थलमा गएर महामतीसँग सल्लाह गर्नुभएको र सल्लाहबमोजिम नै राज्य संचालन गरेको लोकोक्ति रहेछ । मान्यता के रहेछ भने, गुमट मन्दिरको तहखानामा महामती अहिले पनि ध्यानस्थ हुनुहुन्छ । त्यहाँ लगाएको ताल्चा अझै कसैले खोलेको छैन । मानिसहरूले त्यो ताल्चा पखालेर पावन जल घरघरमा लिएर जाने चलन रहेछ । 

त्यति ठूलो शहर पनि होइन रहेछ पद्मावतीपुरीको पन्नाजी तर किलकिला नदीको अमृत जललाई फोहोर गरेर पद्मावती शहरभित्रको किलकिला नदीलाई ढलमती बनाइएको रहेछ । भनिन्छ, मन्दिरको अधीनमा रहेको गंगा-जमुना इनारको स्वच्छ चिसो पानी अमृत जस्तै रहेछ र जति पनि पानीका लागि मानिसहरू आउँदा रहेछन्, त्यहाँको इनारको पानी कहिल्यै नरित्तिने रहेछ । त्यो गुमट मन्दिरका वरिपरि रहेका सद्गुरु देवचन्द्रजीको मन्दिर, बाइजु महारानीको मन्दिर धार्मिक तीर्थस्थलको रूपमा प्रख्यात भएकाले आशीर्वाद माग्नेहरूको ठूलो संख्या आउने रहेछ । 

हाम्रो २१ जनाको यात्रु समूह २ रात श्री ५ पद्मावतीपुरी धामबाट वृन्दावनतर्फ लाग्यो । अब हामीलाई पनि घर जाने हतार सुरु भएको थियो तर तुतुकाजी दाइ भने आएका बेलामा जति दिन मन लाग्छ, बस्ने भन्ने विचारमा हुनुहुन्थ्यो । उहाँको जिम्मा लिएर मेरा कान्छा सम्धीजी रेवतीप्रसाद सापकोटाले बेलैमा फर्र्काएर ल्याउने जिम्मा लिएर तुतु दाइको परिवारलाई वचन दिनुभएकाले उहाँलाई त्यहाँ बस्न नदिई लिएर हिँड्यौँ । 

रेलको स्टेसनका लागि कि त सतना जानुपर्थ्यो कि खुजराहा । सतनाबाट पटना नजिक हुन्थ्यो भने खजुराहाबाट वृन्दावन नजिक हुन्थ्यो । हाम्रो डफ्फा खजुराहातिरबाट वृन्दावन जानका लागि पूरै पद्मावतीपुरीको दृश्यावलोकन नगरेरै हिँड्यो । 

छत्रसाल महाराजको घोडा चढेको प्रतिमा बाटामा देखिन्थ्यो र अहिले पनि छत्रसाल महाराजप्रति मध्यप्रदेशको त्यो बुन्देलखण्ड क्षेत्रमा सम्मान रहेछ । छत्रसाल महाराज कता जानुभयो, कसैलाई थाहा भएन तर भलेभाइ त्यतिकै फर्किएकाले उहाँको देहावसान भयो होला भन्ने अनुमान नै आज पनि छ । त्यहाँ मानिँदो रहेछ- प्राणनाथजीको गुनगुन आवाज अझै पनि गुमट मन्दिरमा गुन्जिन्छ र छत्रसाल महाराजको सुरक्षामा बुन्देलखण्ड अझै छ । 

मन्दिरहरूमा बसेका नेपाली भक्तालुहरू पनि भेटियो । एक जना काभ्रेकै पाँचखालबाट बाइजु मन्दिरमा पुजारीको रूपमा रहेका भद्र महिला भक्तिनीहरूमध्ये चन्द्रावती मा पनि हुनुहुँदो रहेछ । भारतका कृष्ण प्रणामी मन्दिरहरूमा नेपाली मूलका मानिसहरूको सेवाको उच्चमूल्यांकन भएर होला, धेरै मन्दिरमा स्वामीजीका रूपमा रहेका पाइयो, सुनियो । सधैँ भारतीय सन्त गुरुहरूलाई मात्र सम्प्रदायहरूका गुरु र पथप्रदर्शक मान्दै आएका हामी नेपालीहरूका लागि यो पनि गौरवकै विषय बन्ने रहेछ । 

धार्मिक संस्थाहरूको आफ्नो परंपरागत प्रतिस्पर्धाबाट छानिएर मन्दिरको गादीपति स्वामी या स्वामिनी हुनु समुदायका हिसाबले नेपालीहरूले गर्व गर्ने विषय बन्ने रहेछ । हिन्दु परंपरामा मात्र होइन, मदर टेरेसाको उत्तराधिकारिणीका रूपमा सिस्टर निर्मला हुँदा पनि नेपालीले गर्व नै गरेका थिए । अहिले श्री कृष्ण प्रणामी धर्म या सम्प्रदायका मुख्य श्री ५ नवतनपुरधामका स्वामीजीको रूपमा नेपाली मूलका इलामका बराल परिवारमा जन्मनुभएका श्री कृष्णमणि महाराज गादीपति हुनु, सुरतको मूलमिलावा मानव मन्दिरमा श्री लक्ष्मणज्योति महाराज हुनुमा, बडोदामा, दिल्लीमा, कालिम्पोङ्मा या अन्य धेरै ठाउँमा हुनुहोला मुख्य स्वामीहरू, ती सबैलाई हामीले मानव कल्याणका लागि लागेका सन्त साधुका रूपमा, त्यागी गुरुका  रूपमा लिँदा हुनेरहेछ । 

हामीलाई गुजरातको जामनगरमा ज्येष्ठ नागरिकलाई छुट दिएन, फेरि श्री लक्ष्मणज्योति महाराजको अनुरोधमा भारतीय रेल वेले हामीलाई ज्येष्ठ नागरिकको सुविधा दिएको थियो । अब खजुराहामा के गर्छ भन्ने लागेको थियो, टिकट लिन जाँदा मेरो अनुरोधमा सबैको नाम टिपाउनुपरेको थियो । महिलाहरूको ५८ वर्ष नाघेको परिचयपत्र हुँदा ५० प्रतिशत छुट, पुरुषहरूको ६० वर्ष कटेको प्रमाण हुँदा ४० प्रतिशत छुट दिएको थियो । 

मसँग सूचनाको हकसम्बन्धी झोला थियो काँधमा भिरेको । टिकट लिन म नै गएको थिएँ । विवरण मैले नै तयार गरेको थिएँ स्लिपरका लागि । त्यति छिटो स्लिपरको टिकट पनि मिल्यो, छुटसहितको । एक जना स्वतन्त्र पटनायक नामका स्टेसन म्यानेजर रहेछन् । उनले आन्तरिक फोनबाट टिकट दिन आदेश दिएपछि मेरो विवरणअनुसारको टिकट उपलब्ध गराएका थिए । खजुराहामा हामी नेपालीलाई बस्न पनि उनीहरूको स्वागत कक्ष खोलेका थिए र सम्मानित आगन्तुकलाई जस्तै व्यवहार गरेका थिए । स्टेसन पनि सफा थियो । 

मलाई एउटा कुरा रमाइलो पनि लागेको थियो, बसबाट खजुराहा आउँदा कोही मकै छर्दै थिए, गाउँको चिया पसल पनि हाम्रै पहाडी इलाकामा जस्तो थियो, बाटामा हजारौँ एकडको वन त बेलका रूखका रहेछन् । बेलको जंगल । कसैले लगाएको त होइन होला तर शिवजीलाई मनपर्ने बेलको ठूलो जंगल हो भनेर बसका सहचालकले माइकबाट जानकारी दिँदै थिए । 

पहाडी बाटो हुँदै हामी समथर खजुराहामा पुगेको मलाई सम्झना छ । साँझतिर रेलमा चढेर हामी वृन्दावनतर्फको यात्रामा लाग्यौँ । कतिपय हाम्रा साथीहरूका लागि वृन्दावन चिरपरिचित ठाउँ थियो भने म जस्ता केही थियौँ, जसका लागि वृन्दावन शिक्षाको केन्द्र, धार्मिक केन्द्र, कृष्णको नाममा प्रख्यात ठाउँ भन्ने थियो । 

नभन्दै हामी मथुरा स्टेसनमा झरेपछि सिधै सिसाको महलका नाममा प्रख्यात श्री कृष्ण प्रणामी मन्दिरमा गएर आफ्ना झोला बिसायौँ, जुन मन्दिरका स्वामी गादीपति स्वामी महाराज श्री १०८ सदानन्द महाराज हुनुुहँुदो रहेछ । उहाँसँग हाम्रो भेटघाट जामनगरमा नै भएको थियो । उहाँले हामीलाई २०७२ सालको वैशाखमा काठमाडौँमा भेट्ने वचन दिनुभएको थियो किनभने उहाँले पशुपति क्षेत्रमा त्यो बेलामा श्रीमद्भागवत् महापुराण वाचन गर्ने कार्यक्रम तय भएको रहेछ । तत्काललाई उहाँ दिल्लीमा भागवतको वाचन गर्ने कार्यक्रमअनुसार वृन्दावन नजाने हुनुहुँदो रहेछ । 

वृन्दावन, मथुरा, बरसाना, गोकुल सबै ठाउँ राधेमय रहेछ । सबैले एकअर्कालाई अभिवादन गर्दा या बिदाइ हुँदा भनिने ‘राधेराधे’ नै प्रख्यात रहेछ । हामीले नेपालमा सुन्ने गरेको राधेराधेको मन्दिर पनि भव्यताका साथ प्रेम मन्दिरका नाममा बेग्लै रौनकका साथ संसारभरिका राधेराधेलाई प्रेरणाको स्रोत बनेर सेवा प्रदान गरिरहेको रहेछ । 

हामी बसेको मन्दिरबाट करिब ३०० मिटरको दूरीमा प्रेम मन्दिर थियो र पनि खोइ के भएर हो, हामीमध्ये कतिले त्यहाँको अवलोकन गरेका रहेछौँ तर मैले र कान्छा सम्धीजीले भने बन्द भएकाले अवलोकन गर्न पाएनौँ । श्री १०८ कृपालु महाराजका नाममा परिचित महायोगीबाट स्थापित तथा विश्वभर राधेराधेका नामबाट परिचित प्रेम मन्दिरको रातका बेलामा देखिने रौनक भने भव्य र अलौकिक रहेछ, बाहिरबाट अवलोकन गर्दा ।

वृन्दावनको महत्त्व भनेको कृष्णजीको मन्दिरहरूका कारणले नै हो । धार्मिक शिक्षाका लागि कुनै बेलामा वनारसको प्रतिस्पर्धामा देखिएको यस धाममा अहिले पनि पुराणका लागि प्रशिक्षण लिने नेपालीहरू हजारौँ छन् भनिन्थ्यो । मन्दिरहरूको आध्यात्मिक शहर । बाँदरहरूको चर्तिकला देखिने शहर । सानासाना गल्लीहरूमा पन्डाहरूको ठगवृत्ति चलाउने पितृ तार्ने नाममा गरिने ठगीको शहर । राधाको शहर । कृष्णको स्मृतिको शहर । पावन भूमि । 

हामीले कृष्ण जन्म कारागारको दर्शन गर्‍यौँ । कृष्णको जन्म भएको भनेर मानिने कारागार मात्र होइन, कृष्णले जन्मपछि खेलेको, बसेको ठाउँको पनि अवलोकन गरेका थियौँ । अहिले पनि त्यहाँ आगन्तुकहरूलाई खाना निःशुल्क दिने चलन रहेछ । दूध, दही, मोही र खानामा घीउ दिने चलन रहेछ । तर, जुनसुकै ठाउँलाई पनि कदमको वृक्ष भनेर ठग्ने, गोवद्र्धन पर्वत भनेर घुमाउने र चन्दाको बाध्यकारी अवस्था सिर्जना गर्ने चलन पनि रहेछ, जसलाई धार्मिक ठगीको रूपमा मान्दा पनि हुन्छ । स्वयं सदानन्द महाराजको संरक्षकत्वमा रहेको सिसा महलमा पनि सुन्दरसाथहरूलाई सेवा दिनेभन्दा कोठा भाडा उठाउने, नेपालीहरूलाई अलिक हेलाको भावले हेर्ने अनि बस्ने ठाउँमा पनि पाँचतारे होटलको सेवा जस्तो सेवा शुल्कका आधारमा व्यवहार गर्ने चलन रहेछ । 

एकातिर सर्वेसर्वा श्रीकृष्णको समानताका नाराको आधारमा श्री कृष्ण प्रणामी धर्मको प्रचार गरिरहेका मन्दिरहरूमा सुन्दरसाथहरूलाई उनीहरूको खल्तीमा भएको पैसाको आधारमा व्यवहार गरेको मलाई मनपरेको थिएन तर जाडोका बेलामा राखेको झोला झिकेर अरू कता पो जाने हो र ? कि त जानुपर्‍यो नेपाली धर्मशाला खोज्दै, जहाँ कोठा र खाना निःशुल्क पनि पाइन्थ्यो र नेपालीले नै सुरक्षाको प्रबन्ध गर्ने भएकाले विश्वसनीय पनि थियो । 

मेरी श्रीमतीले भनिन्, ‘वृन्दावनमा हरिहर विरहीको घर छ, बहिनी पनि छन्, एक पटक त्यहाँ जाऊँ न भेट गर्न ।’

गयौँ । केही वर्षअघि नै हरिहरजीको घर बिक्री गरेर अर्कै ठाउँमा बसेको कुरा थाहा पायौँ ।  हरिहरजीकी माताले नै त्यहाँ घर बनाएर धार्मिक रूपमा सेवा आश्रम चलाउनुभएको रहेछ  । म जनकपुर पढ्न जाँदा हरिहरजीको घर ब्रह्मपुरीमा थियो र माताजी पनि त्यहाँ हुनुहुन्थ्यो । पछि नेपाल आएपछि मैले हरिहरजीलाई सोधेँ । उहाँले ‘अलिक पर थियो, मलाई भन्नुभएको भए घरको फोन दिन्थेँ नि’ भन्नुहुन्थ्यो । 

जे होस्, नेपालीहरू प्रशस्त पाइने, भेटिने, नेपाली भाषामा कुरा गर्दै हिँड्ने विद्यार्थीहरू भेटिइरहने । नभन्दै मेरा सम्धीजीले जसलाई वृन्दावन पठाउनुभएको रहेछ पाँचखालबाट पढ्न खर्चको जोहो गरेर, ती बाबू पनि हामीलाई भेट्न सिसाको मन्दिरमा आएका थिए । उनले हामीलाई वृन्दावनका कतिपय मन्दिरमा दर्शनका लागि पुर्‍याएका थिए ।

गर्दै जाँदा माघे संक्रान्तिका दिन घर पुग्ने भन्ने हाम्रो कार्यक्रम । त्यो दिन त वृन्दावनबाट हिँड्ने पो कुरा आयो । अघिल्लै दिनदेखि बाटाबाटामा खिचडी वितरण गर्ने धर्मशालाहरू भेटिए । म र कान्छा सम्धीजी जाँदै थियौँ, हामीलाई खिचडी खानका लागि अनुरोध गर्दै भित्र लगियो । खान दिइयो । हामीले केही भेटी चढाउन खोज्दा लिएनन् र उल्टै ब्राह्मणलाई धोती दिने पो भने । हामीले धन्यवाद भन्दै धोती स्वीकार गरेनौँ । 

पुरानो शहर, धार्मिक आस्थाको शहर भएकाले हामीले खिचडी र तिलको लड्डु अघिल्लै दिन खायौँ । त्यो साँझ पटना हुँदै जलेश्वर निस्केर काठमाडौं जाने तरखरमा लाग्यौँ । मथुरा स्टेसनमा न त हामीलाई छुट दियो, उल्टै हामीसँग कमिसन लिएर झन्डै दोब्बर पैसा लिएर टिकट उपलब्ध गरायो ट्राभेल एजेन्सीले । किन रे भने, तत्काल टिकट लिएकाले । 

ठाउँ भरिभराउ छ भनेर भन्थे तर तोकिएको समयभन्दा १३ घण्टा ढिलो रेल आयो कोटाबाट आउने पटनासम्मको । बेथिति रहेछ रेलमा त भन्ने थाहा भयो । रेलका कर्मचारीहरू राम्रोसँग जबाफ पनि नदिने । राति कता जानु जस्तो भयो । स्टेसनको चिसो भुइँमा सुतेर समय काटियो किनभने पुस मसान्तको साँझ ७ बजेको टिकट थियो । रेल त माघको १ गते बिहानको ८ बजे पो आयो सम्पूर्ण सिटहरू खालीखाली जस्तो ।

हामीलाई रेलमा चढेपछि पो डर लाग्यो, हामी २१ जनाबाहेकका सम्पूर्ण रेलमा अरू सबै डिब्बामा १०० जना पनि थिएनन् । धन्न, रेलको सुरक्षा प्रबन्ध राम्रै रहेछ नत्र रेलमा चोरीको या डकैतीको कथा दिनैपिच्छे भारतीय अखबारहरूका पढ्नुपरेको थियो । भोलिपल्ट बिहानको १० बजेतिर पटना झरियो । 

अचानक मेरो भाइ धर्मेन्द्रका कुटुम्बहरू भेटिए मुजफ्फरपुरका । पिताजी राजेन्द्र बाबुलाई मामा भन्थिन् कान्ता झाजी । उनका पिताजी कोटामा कुनै कपडा कारखानामा हाकिम भएकाले उनको पढाइ तथा विवाह उतै भएको रहेछ तर मधुवनीका झासँगै । 

ती कान्ताले भनिन्, ‘राजेन्द्र मामा त नेपालको मेजिस्ट्रेट हुनुहुन्थ्यो । त्यो बेलामा म काठमाडौं गएकी थिएँ, मामा त पश्चिमको शहरमा हुनुहुन्थ्यो । राजेन्द्रबाबु सीडीओ हुनुहुन्थ्यो ।’ धर्मेन्द्रको नाताकी बहिनी भेट्दा पनि र मैथिली भाषी मानिस भेट्दा पनि मलाई त आफन्त भेटेजस्तै भयो त्यत्रो रेलमा । 

एक रात पटनामा बस्यौँ श्री कृष्ण प्रणामी मन्दिरमा र भोलिपल्ट भिट्टामोडको टिकट काटेर बसमा आयौँ । एसियाली राजमार्ग बनिसकेको थिएन । ढिलो भयो । बिहान हिँडेको ८ बजे पटनाबाट, साँझको ४ बजेतिर भिट्टामोड हुँदै नेपालको भिट्टामोड प्रवेश गर्‍यौँ । 

मेरो जेठो छोरो सिद्धिविनोदले मेरो विद्यार्थी तथा उसको साथी राजेशलाई टिकटको व्यवस्था गर्न भन्यो । अब हाम्रो समूह पनि तितरबितर भएको थियो किनभने हामी २१ जनामा ७ जना मात्र थियौँ । दिदी राधा पनि जनकपुरमा झर्ने भएकाले हामी ६ जनाका लागि व्यवस्था गर्दा ४ वटा मात्र टिकट फेलापरे । या त राजेशका घरमा बसेर भोलिपल्ट हामी ६ जनाले सँगै आउन सक्थ्यौँ, नभए हामी २ जोडा सम्धी-सम्धिनी मात्र काठमाडौं जान सक्थ्यौँ । 

नभन्दै ढल्केबरमा तुतु दाइ र लीलाजी झर्नुभयो । पूर्वबाट कुनै बस आए त्यही रात नै काठमाडौं आउने नभए भोलिपल्ट सिन्धुलीको बाटो आउने भन्नुभयो । हामी अन्तिम सिटमा बसेर ४ जना एक महिनाको धार्मिक यात्रा सम्पन्न गरेर ४ माघ २०७१ बिहान ६ बजे काठमाडौं आइपुग्यौँ । 
क्रमशः