बाग्मतीकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै, प्रदेश १ का मुख्यमन्त्री आचार्यले दशैँपछि लिने
आश्विन २४, २०७८

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत आजै लिने गरी अगाडि बढे पनि प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले भने दशैँपछि मात्र विश्वासको मत लिने बताएका छन् । दुईवटै प्रदेशमा उनीहरू मुख्यमन्त्री बनेको एक साता नबित्दै अल्पमतमा परेका थिए । 

आचार्यले भने आफूअनुकूल कानुनको ब्याख्या गर्न थालेका छन् । २८ भदौमा नेकपा (एकीकृत समाजवादी)ले सरकारलाई समर्थन छैन भन्ने पत्र संसद सचिवालयमा दर्ता गराएकाले त्यसको ३० दिनभित्रमा समर्थन लिने उनको भनाइ छ । 

सरकारमा रहेको दल फुटेमा ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । २ दिन अगाडि बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरूले मुख्यमन्त्री आचार्यलाई दशैँ अगाडि नै विश्वासको मत दिन सुझाव दिएका थिए । 

‘दशैँ अगाडि नै विश्वासको मत लिनुहोस् भनेर भनेका छौँ’, एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभन्डारीले भने, ‘निर्णय गर्ने अधिकार उहाँलाई छ । सविधानको अक्षरशः पालना गर्नुहोस् भनेर सुझाव पनि दिएका छौँ । निर्वतमान मुख्ययमन्त्री शेरधन राईले भने आज संसदमा दर्ता गराएर भोलिसम्ममा लिन सक्नुहुन्छ ।’ 

विपक्षी गठबन्धनले भने सरकारलाई सभामुखले साथ दिएको आरोप लगाउन थालेका छन् । शनिबार शुभकामना दिन भन्दै संसदीय दलका नेताहरूलाई फोन गरेका सभामुख प्रदीपकुमार भन्डारीले अविश्वासको प्रस्ताव दशैँपछि मात्र अगाडि बढाउन सहयोग गरिदिनसमेत आग्रह गरेका थिए ।

‘उहाँले मलाई अप्ठ्यारोमा नपारिदिनुहोस्, सहजीकरण गिरिदनुपर्‍यो भन्नुभएको छ’, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्र आङ्बोले भने, ‘तपाईंबाट सविधानको पालना हुनुपर्छ । त्यसमा सविधानले के भन्छ, त्यही गर्नुहोस्, हामी सहजीकरण गर्न तयार छौँ भनेको छु ।’

९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक-एक जना सदस्य छन् । प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ४७ मत चाहिन्छ । 


न्युज कारखाना समाचार संस्था हाे ।