शुक्रबार मन्त्री नियुक्त हमालले दिए राजीनामा

शुक्रबार मन्त्री नियुक्त हमालले दिए राजीनामा

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २४, २०७८

नवनियुक्त उद्योग तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन् । उनले केही समयअघि बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका हुन् ।

सांसद नभए पनि प्रधानमन्त्री देउवाले पछिल्लो मन्त्रिपरिषद् पुनर्गठनमा हमाललाई मन्त्री बनाएका थिए । आफ्नो नियुक्तिलाई लिएर विवादमा परेपछि हमालले राजीनामा  दिएका हुन् ।

उनलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्ने आरोप लागेको छ । सांसद नभए पनि ६ महिनाका लागि मन्त्री बनाउन पाउने व्यवस्थाअनुसार प्रधानमन्त्री देउवाले शुक्रबार हमाललाई मन्त्रीमा नियुक्त गरेका थिए । तर, ४८ घन्टा बित्न नपाउँदै उनले पदबाट राजीनामा दिएका छन् ।

नेपालको इतिहासमा ४८ घन्टाभित्रै मन्त्री पदबाट राजीनामा दिने संभवतः उनी पहिला मन्त्री हुन् । हमालले पदबाट दिएको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरेका छन् ।

मन्त्री हमालले स्वविवेकले राजीनामा दिएको बताएका छन् । नेताहरूले राजीनामा नदिन सुझाव दिँदै आए पनि व्यक्तिगत विवादमा पर्नुभन्दा राजीनामा दिनु उपयुक्त लागेको उनले बताएका छन् । हमाल लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहे पनि अहिले धार्मिक गतिविधिमा लागेका छन् ।