किन विवादमा तानिन्छन् नोबेल शान्ति पुरस्कार विजेता ?

किन विवादमा तानिन्छन् नोबेल शान्ति पुरस्कार विजेता ?

एजेन्सी  |  विदेश  |  आश्विन २४, २०७८

सन् १९०१ मा पहिलो पटक वितरण भएदेखि नै शान्तिका लागि नोबेल पुरस्कार विवादमा तानिँदै आएको छ । सन् १८९६ मा आफ्नो मृत्युपछि स्वीडेनी उद्योगपति अल्फ्रेड नोबेलको स्मरणमा ठूलो धनराशीको कोष खडा गरिएको थियो । यसयता बिभिन्न विधामध्ये शान्तितर्फको पुरस्कार सबैभन्दा धेरै विवादित हुने गरेको छ । प्रस्तुत छ अहिलेसम्म विवादमा तानिएका नोबेल शान्ति पुरस्कारः 

हेनरी किसिन्जर

सन् १९७३ मा तत्कालीन अमेरिकी विदेश मन्त्री हेनरी किसिन्जर यो पुरस्कारबाट सम्मानित भएका थिए । विदेश नीतिमा विवादित घटनामा संलग्न भएका व्यक्तिलाई पुरस्किृत गरिएको भन्दै उनको अमेरिकामा नै विरोध भएको थियो । 

भियतनाम युद्धलाई विराम गराउन महत्वपूर्ण योगदान दिएको भन्दै उत्तर भियतनामी नेता ले डक थो र किसिन्जरलाई संयुक्त रुपमा पुरस्कार दिइएको थियो ।  अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले त्यसलाई ‘नोबेल युद्ध पुरस्कार’ भनेर टिप्प्णी गरेको थियो ।

वाङगारी मादाई

केन्याकी दिवंगत अभियानकर्मी बाङगारी मादाईले सन् २००४ मा पाएको नोबेल पुरस्कार पनि बिबादमा तानिएको थियो । सो पुरस्कारले सम्मानित हुने उनी पहिलो अफ्रिकी महिला हुन् । तर, एचआईभी र एड्सका विषयमा दिएको प्रतिक्रियाका कारण उनी पनि विवादरहित बन्न सकिनन् । मादाईले एचआईभी भाइरस जैविक हतियारका रूपमा प्रयोगशालमा  बनाइएको र त्यो अश्वेत मानिसलाई निर्मूल गर्न बनाइएको टिप्पणी गरेकी थिइन् ।

आबी अहमद
सन् २०२० को डिसेम्बरमा इथियोपियाका प्रधानमन्त्रीलाई प्रदान गरिएको पुरस्कार पनि विवादमा तानिएको थियो । इरिट्रियासँगको  विवाद समाधान गर्न उनले चालेको कदमका लागि सो पुरस्कार दिइएको थियो । अहमदले देशको उत्तरी टिग्रे क्षेत्रमा फौज पठाएको भन्दै अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको थियो । टिग्रेमा भएको युद्धमा हजारौंको मृत्यु भएको थियो ।

आङ सान सु ची

बर्मेली नेत्री आङ सान सू चीले त्यहाँको जुन्ता शासनविरुद्ध अहिंसात्मक आन्दोलका लागि सन् १९९१ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन् । तर, २० वर्षपछि उनी सोही पुरस्कारका कारण अन्तर्राष्ट्रिय स्तरमा आलोचित बनिन् । पार्टी र आफू सरकारमा हुँदा अल्पसंख्यक मुस्लिम रोहिन्ज्याहको हत्या र गम्भिर मानवअधिकार उल्लंघनका घटनाविरुद्ध एक शब्द नबोलेको बरू सरकारको बचाउ गरेको सू चीमाथि आरोप लागेको छ । उनलाई दिइएको पुरस्कार खोस्नु पर्ने केहीले आवाज उठाएका छन् ।

यासेर अराफात

सन् १९९४ मा प्यालेस्टिनी पूर्व नेता यासेर अराफातलाई इजरेली प्रधानमन्त्री इत्ज्याक रविन र इजरेली विदेश मन्त्री सिमोन प्यारेससँगै नोबेल शान्ति पुरस्कार दिने घोषणा गरिएको थियो ।  ओस्लो सम्झौताका लागि सो पुरस्कार दिइएको थियो । तर, अर्धसैनिक गतिविधिमा संलग्न अराफातलाई पुरस्कार दिइएको भन्दै नोबेल कमिटीको चर्को आलोचना भएको थियो । उनको नामको मनोनयनको विरोधमा नोबेल कमिटीका एक सदस्य ले राजीनामा नै दिएका थिए ।

बाराक ओबामा

सन् २००९ मा अमेरिकी राष्ट्रपति बराक ओबामाले नोबेल शान्ति पुरस्कार पाउँदा उनी आफैलाई  विश्वास लागेको थिएन् । सन् २०२० मा ओबामाले आफ्नो एउटा आत्मवृत्तान्तमा ‘केका लागि पुरस्कार?’ भनेर प्रतिकृया  जनाएका छन् ।

अझ अनौठो त के भने उनी अमेरिकाको राष्ट्रपति बनेको नौ महिनामा नै उनले विश्वको प्रतिष्ठित पुरस्कार पाएका थिए । पुरस्कारका लागि मनोनयन दर्ताको समय उनले राष्ट्रपतिको शपथ लिएको १२ दिनमा सकिएको थियो । आफ्नो २ वर्षे कार्यकालमा ओबामाले अफगानिस्तान, इराक र सिरियामा सेना तैनाथ गरी युद्ध निम्त्याएका थिए ।